बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

ट्रम्प समर्थकको प्रदर्शनमा छुरा प्रहार, २० जना पक्राउ

आइतबार, ३० कात्तिक २०७७, १४ : ४७
आइतबार, ३० कात्तिक २०७७

एजेन्सी । अमेरिकाको राजधानी वासिङटन डिसीमा प्रदर्शन गरिरहेका राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक र त्यसको विरोधमा उत्रिएकाहरुबीच झडप भएको छ । झडपका क्रममा कम्तिमा एक व्यक्तिमाथि छुरा प्रहार भएको छ ।  त्यस्तै, दुुईजना प्रहरी घाइते भएका छन् भने प्रदर्शनकारीहरुको हातबाट प्रहरीले हतियार बरामद गरेको छ ।

प्रहरीले २० जना प्रदर्शनकारीहरुलाई स्थानीय समयअनुसार आइतबार बिहानै पक्राउ गरेको छ । निर्वाचनमा धाँधली भएको भन्दै यसअघि राजधानीसहित देशका धेरै शहरमा शनिबार ट्रम्प समर्थकहरुले विरोध प्रदर्शन गरेका थिए । सडकमा ओर्लिएका लाखौं समर्थकहरुले ‘चोरी बन्द गरौं’, ‘हरेक मतगणना गरौं’ लगायत नारा लगाएका थिए । शनिबार रातिसम्म शान्तिपूर्ण नै रहेको वासिङटनको प्रदर्शन रात ढल्दकैं जाँदा हिंसात्मक बन्यो । 

पक्राउ परेकाहरुमाथि हतियार देखाएको, झडपमा उत्रिएकोलगायत धेरै अभियोगहरु दर्ता गरिएको प्रहरीले जनाएको छ । 

नतिजा नस्वीकार्न ट्रम्पलाई दबाब 

वासिङटन डिसीमा भेला भएका समर्थकहरुले हार नमान्न  ट्रम्पलाई आग्रह गरे । समर्थकहरुमध्ये केहीले ट्रम्प लेखिएका झन्डा बोकेका थिए भने केहीले ‘धाँधली बन्द गर’ लेखिएका ब्यानर बोकेका थिए । समर्थकहरुले ‘ट्रम्प अहिलेसम्मकै उत्कृष्ट राष्ट्रपति’ लेखिएको ब्यानर पनि बोकेका थिए । उनीहरुले थप चार वर्ष ट्रम्पले शासन सम्हाल्नुपर्ने भन्दै नारा लगाए । भर्जिनिया गल्फ कोर्सबाट ह्वाइट हाउस फर्कने क्रममा शनिबार ट्रम्पले गाडीबाटै प्रदर्शनकारीहरुलाई नियालेका थिए । उनले गाडीबाट हात उठाएर समर्थकहरुलाई अभिवादन गरे । 

ट्रम्पले आफ्नो समर्थनमा उर्लिएको जनलहरको फोटो र भिडियो ट्वीटरमार्फत शेयर गरेका छन् । उनले तत्कालै हार स्वीकार्ने कुनै मनसाय नरहेको पनि दोहोर्याएका छन् । ‘लाखौं मानिसले डिसीमा आफ्नो समर्थन देखाएका छन् । उनीहरु धाँधलीपूर्ण र भ्रष्ट चुनावको पक्षमा छैनन्,’ ट्रम्पको ट्वीटमा उल्लेख छ । 

ट्वीटरले ट्रम्प ट्वीटसँगै यो दाबी विवादित रहेको पनि उल्लेख गरेको छ । ट्रम्पले धाँधलीको आरोप लगाएपनि उनको चुनावी प्रचार अभियानले अझै पनि प्रणालीगत धाँधलीबारे प्रमाण पेश गर्न सकेको छैन । अमेरिकी राष्ट्रपति चुनिनका लागि आवश्यक पर्ने २ सय ७० इलेक्टोरल भोटमध्ये ३ सय ६ भोट डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनको पक्षमा देखिएको छ । इलेक्टोरल कलेजले मतदान गरेपछि जो बाइडेन औपचारिक रुपमा राष्ट्रपति चुनिनेछन् र उनले २० जनवरीबाट कार्यकाल सम्हाल्नेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप