शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

'प्रधानमन्त्रीले समातेको विघटनको बाटो संविधानसम्मत'

मङ्गलबार, २० माघ २०७७, ०६ : ४०
मङ्गलबार, २० माघ २०७७

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सर्वोच्च अदालतमा चलिरहेको प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा प्रधानमन्त्रीले समातेको विघटनको बाटो संविधानसम्मत भएको जिकिर गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सोमबार सरकारका पक्षबाट महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले बहस गरे।  

बहसमा उनले प्रधानन्यायाधीश र न्यायाधीशहरूको प्रश्नको सामना गर्नुप¥यो। दिनभर बहस गरेका खरेलले आफू सरकारको प्रतिरक्षा गर्ने दायित्वमा रहेकाले त्यसबाट भाग्न नमिल्ने सुरुमै बताएका थिए। उनले प्रधानमन्त्रीले दिएको लिखित जवाफमा आधारित रहेर जवाफ दिए। प्रधानमन्त्रीले संविधानको धारा ७६ उपधारा (१) र (७) तथा धारा ८६, संसदीय शासन प्रणाली र बाहिरका अभ्यासका आधारमा प्रतिनिधिसभा विघटन गरेको तर्क खरेलले प्रस्तुत गरे।  

त्यस क्रममा ‘२०५१ सालमा जुन विघटन गरियो, अब त्यस्तो विघटन नहोस् भन्ने संविधानको उद्देश्य होइन र’ भन्ने प्रश्न प्रधानन्यायाधीश जबराले सोधे। जबाफमा महान्यायाधिवक्ता खरेलले त्यसलाई संविधानको धारा १०० सँग जोडेर हेर्नुपर्ने बताए। संसदीय दलको नेता प्रतिनिधिसभाको सदस्य हुने, उसले पार्टी र संसदीय दलप्रति उत्तरदायी हुनुपर्ने खरेलले बताए। उनले निवेदकले उठाएका प्रश्न, संवैधानिक प्रणाली, नजिर, अन्तर्राष्ट्रिय अभ्यासका आधारमा टुंगोमा पुग्न सकिने जिकिर गरे। यो समाचार आजको नागरिक दैनिकमा भाषा शर्माले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप