बेलायतमा कोरोनाका मृतक ६ महिनापछिकै कम, प्रतिसेकेन्ड २७ जनालाई खोप
नरेन्द्र बस्नेत
लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ महिनायताकै कम भएको छ । सोमबार सार्वजनिक तथ्याँक अनुसार पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण १७ जनाको मात्र मृत्यु भएको छ । दैनिक मृतक संख्याको आधारमा यो संख्या गतवर्ष सेप्टेम्बर २८ पछिकै सबैभन्दा कम हो । गत सेप्टेम्बर २८ मा पनि सोहि संख्यामा मृत्यु भएको उल्लेख छ । यससँगै बेलायतमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख २६ हजार १७२ पुगेको छ ।
यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ५ हजार ३४२ जना नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । नयाँ थपिएका संक्रमितसँगै बेलायतमा कुल संक्रमितको संख्या ४३ लाख नाघेको छ । बेलायतमा हालसम्म ४३ लाख एक हजार ९२५ जना संक्रमित भइसकेको सरकारी तथ्याँकमा उल्लेख छ ।
बेलायतका अस्पतालमा उपचार गराइरहेका र नयाँ भर्ना हुनेको संख्यामा पनि निरन्तर रुपमा कमी आएको छ । हाल अस्पतालमा उपचारार्थ कोरोना संक्रमितको संख्या ६ हजार १६२ मा झरेको छ भने भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या ८३० रहेको स्वास्थ्य विभागले जनाएको छ । पछिल्लो २४ घन्टामा ४४० जना कोरोना संक्रमित अस्पताल भर्ना भएका थिए ।
बेलायतमा प्रति सेकेन्ड २७ जनालाई खोप वितरण
बेलायतमा हालसम्म तीन करोड भन्दा बढी डोज कोरोना विरुद्धको खोप वितरण भइसकेको छ । हालसम्म खोपको पहिलो र दोस्रो गरि तीन करोड दुई लाख ७९ हजार ३६० डोज खोप वितरण भइसकेको छ । कोरोना विरुद्धको खोप अभियान शुरु भएयता बेलायतमा दुई करोड ७९ लाख ९७ हजार ९७६ जनाले खोपको पहिलो डोज लिएका छन् भने २२ लाख ८१ हजार ३८४ जनाले खोपको दोस्रो डोज लिएका छन् । शनिबार एकैदिनमा ८ लाख ४४ हजार २८५ जनाले खोप लगाएर नयाँ कीर्तिमान कायम भएको छ ।
यसअघि शुक्रबार एकै दिन ७ लाख ११ हजार १५७ जनाले कोरोना विरुद्धको खोप लगाएर नयाँ कीर्तिमान कायम भएको थियो । यत्तिका संख्यामा एकैदिन खोप वितरण गरिएको यो नै अहिलेसम्मको सबैभन्दा धेरै हो । बेलायतमा प्रति सेकेन्ड २७ जनालाई खोप वितरण गरिएको सरकारले जनाएको छ । बेलायतमा हाल फाइजर र अस्ट्राजेनिकाको दुईवटा खोप वितरण भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण