शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावमा हाम्रो जित निश्चित छः इजरायली प्रधानमन्त्री

बुधबार, ११ चैत २०७७, १३ : ५९
बुधबार, ११ चैत २०७७

एजेन्सी । दुई वर्षभित्रको अवधिमा चौथो पटक भएको संसद्को निर्वाचनमा जित हुने दाबी इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गरेका छन् । यद्यपि मत खसालेर बाहिर निस्किएका मतदाता माझ गरिएको सर्वेक्षणले भने संसद्मा बहुमत ल्याउन नेतन्याहु विफल हुनसक्ने देखाएको छ । 

इजरायलको सबैभन्दा लामो समय प्रधानमन्त्रीको पदमा आसिन नेतन्याहुको कार्यकालमा सन् २०१९ पछि यो चौथो निर्वाचन हो । यो मतदानपछि उनलाई दक्षिणपन्थी गठबन्धनलाई एकताबद्ध गर्न सक्ने आशा गरिएको छ । 

संसद्मा कुनै पनि दलले बहुमत ल्याउन नसकेपछि दुई वर्षभित्रको अवधिमा चौथो पटक मङ्गलबार निर्वाचन शुरु भएको हो ।  इजरायलको इतिहासमा राजनीतिक असमझदारीले लगातार चौथो पटक निर्वाचन हुन लागेको हो । पछिल्लो पटक संसद्मा कुनै दलले स्पष्ट बहुमत हासिल गर्न नसकेपछि मुख्य विपक्षीसँग मिलेर सत्ता साझेदारी गरे पनि गठबन्धन टुटेको थियो ।

लिकुड पार्टी पुनः सत्तामा पुग्छ वा पुग्दैन भन्ने यस चुनावले निर्क्यौल गर्नेछ । इजरायलका प्रधानमन्त्री नेतन्याहूमाथि भ्रष्टाचारको आरोप लागे पनि उनले प्रधानमन्त्री र पार्टीको नेता पदबाट राजीनामा गरेका छैनन् । उनीमाथिका मुद्दा हाल अदालतमा विचाराधीन अवस्थामा छन् । तर प्रधानमन्त्री नेतन्याहुले आफूले भ्रष्टाचारजन्य कार्य नगरेको दाबी गर्दै आएका छन् ।

प्रधानमन्त्री नेतन्याहुले सत्ता छाड्नुपर्ने भन्दै केही दिनअघि प्रदर्शन पनि भएका थिए । नेतन्याहुले मंगलवार ट्वीट गर्नुहुँदै दक्षिणपन्थी र उनी नेतृत्वको लिकुडलाई ठूलो जित दिएकोमा इजरायली जनतालाई धन्यवाद दिएका छन् । अहिलेसम्म लिकुड सबैभन्दा ठूलो पार्टी भएको उनको दाबी रहेको छ  । 

धेरै इजरायलीहरू दक्षिणपन्थी रहेको र उनीहरू एउटा स्थायी र सशक्त दक्षिणपन्थी सरकार चाहन्छन् भन्ने स्पष्ट भएको उनले बताएका छन् । निर्वाचनका लागि योग्य मध्ये जम्मा ६७.२५ ले मत खसालेका छन्। भने यो चुनावलाई नेतन्याहु नेतृत्वको जनमत सङ्ग्रहका रूपमा हेरिएको छ ।

हालका दिनहरुमा ७१ वर्षीय प्रधानमन्त्री नेतन्याहु कोभिड–१९ को खोप अभियान कार्यक्रममा केन्द्रित रहेका थिए र उनको कूटनीतिक सफलता केही अरब मुलुकहरूका सम्बन्ध सामान्य बनाउनेमा पनि रहेको छ । –एएफपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप