बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

नयाँ भवन बनाउँदै आयल निगम

बिहीबार, १२ चैत २०७७, १४ : ४९
बिहीबार, १२ चैत २०७७

काठमाडौं । नेपाल आयल निगमको बबरमहलमा नयाँ केन्द्रीय कार्यालय बनाउने तयारी भएको छ । हालको कार्यालय २०७२ वैशाखको भूकम्पले चर्काएपछि निगमले सोही स्थानमा नयाँ कार्यालय भवन बनाउन लागेको हो । गोरखा भूकम्पका कारण भवनमा क्षति पुगेकाले सरकारले निगमको केन्द्रीय कार्यालयमा रहेका तीन वटै भवनमा रातो स्टिकर टाँसेको थियो । रातो स्टिकर टाँसिएको पाँच वर्षपछि बल्ल निगमले नयाँ भवन बनाउन तयारी थालेको हो ।

लामो समयको गृहकार्यपछि निगमले बबरमहलमा रहेको तीन पुराना भवन भत्काएर सोही स्थानमा दश तलाको नयाँ कर्पोरेट भवन बनाउन बोलपत्र आह्वान गरेको छ । नेपालकै आधुनिक र सुविधासम्पन्न भवन मध्येमा सूचीकृत हुने गरी नयाँ भवन बनाउन लागिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । उनका अनुसार नयाँ बन्ने कार्यालय भवनको डिजाइनअनुसार भूमिगत दुई तलाको पार्किङ हुने र  जमिनमाथि १० तलाको भवन बनाइने छ ।

जमिनमाथिको १० तलामध्ये चार तलाको आधुनिक भवन हुने र छ तलाको टावर हुनेछ । नयाँ बन्ने कार्यालय भवनको कोठा अन्तरराष्ट्रिय मापदण्डअनुसार रहने निगमले जनाएको छ । भवनमा लिफ्ट, फायरफाइटिङ, आकस्मिक निकासलगायत सबै अन्तरराष्ट्रिय मापदण्डअनुसार रहनेछन् । तीन वर्षभित्र निर्माण सम्पन्न गरिने भवन बनाउन रु एक अर्ब ७९ करोड लागत अनुमान गरिएको छ । हालको पुरानो कार्यालय भवन भत्काउन शुरु भएपछि निगमको अस्थायी कार्यालय टेकु कार्यालय रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप