आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

जसपाको गतिविधि ठप्प, नेताहरु गुटको भेलामा व्यस्त

आइतबार, १२ वैशाख २०७८, १६ : ४१
आइतबार, १२ वैशाख २०७८

काठमाडौँ । देशमा राजनीतिक सरगर्मी बढेको अवस्थामा जनता समाजवादी पार्टी (जसपा) नेपालका गतिविधि भने एक महिनादेखि ठप्प देखिएको छ । कतिसम्म भने पार्टी स्थापना भएको एक वर्ष पूरा भएको अवसरमा समेत कुनै कार्यक्रम तथा विज्ञप्ति जारी गरेन ।

सत्ता समीकरणको विषयलाई लिएर दुई पक्षमा विभाजित भएको जसपा नेपालमा एक महिनादेखि कुनै औपचारिक बैठक तथा छलफल भएको छैन । यसबीचमा पार्टीभित्र गुटगत बैठक भने जारी देखिन्छ । संसदीय अङ्कगणितमा निर्णायक भूमिका निर्वाह गर्ने स्थानमा रहेको जसपा नेपालभित्र वर्तमान सरकारलाई नै समर्थन गर्ने वा विकल्पमा विपक्षी गठबन्धनबाट सरकार निर्माण गर्ने भन्ने विवाद देखिएको छ ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एमालेको खनाल–नेपाल समूहको नियमित बैठक भए पनि जसपा नेपाल न वर्तमान सरकारको पक्षमा दृढ भएर उभिन सकेको छ, न विपक्षी दलहरुसँग सहकार्यका लागि नै तयार देखिएको छ ।

जसपा नेपालमा सत्ता समीकरणबारे प्रस्ट दुई धार देखिएको छ । उपेन्द्र यादव नेतृत्वको तत्कालीन समाजवादी पार्टीका नेताहरु केपी शर्मा ओलीइतरको सरकार गठन गर्नुपर्ने पक्षमा छन् भने महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल भने ओलीसँग सहकार्य गर्न इच्छुक देखिएको छ ।

पार्टीभित्र देखिएको यस्तो विवादका बीच चैत ५ गतेका लागि जसपा नेपालको कार्यकारिणी समिति बैठक बोलाइएको थियो तर बैठकअघि बसेको पदाधिकारी बैठकमा नेताहरुबीच कुरा नमिलेपछि बैठक स्थगित गरिएको थियो ।

पार्टीको आन्तरिक विवादकै कारण बैठक बस्न नसकेको भए पनि जसपा नेपालका कार्यकारिणी सदस्य वृषेशचन्द्र लाल भने नेताहरुलाई बैठकको आवश्यकता नै महसुस नभएको प्रतिक्रिया दिन्छन् । ‘नेताहरुलाई जुन दिन बैठकको आवश्यकता महसुस हुन्छ, त्यो दिन आफै बैठक बस्छ,’ रातोपाटीसँग उनले भने, ‘पार्टीका शीर्ष नेताहरु आन्तरिक रूपमा छलफल गरिरहनुभएको छ ।’

कात्तिक ४ गते कार्यकारिणी समितिको बैठक बसेयता जसपा नेपालमा हालसम्म कुनै बैठक बसेको छैन । पुस ५ गते भएको संसद् विघटनविरुद्ध आन्दोलित हुँदा पदाधिकारीको बैठक बसे पनि कार्यकारिणी समिति बैठक हालसम्म बसेको छैन ।

पार्टीमा औपचारिक छलफल नै नगरी जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओलीसँग नियमित छलफल गरिरहेका छन् । के विषयमा छलफल भयो, पार्टीका तर्फबाट कस्ता प्रस्ताव राखियो र सरकारका तर्फबाट कस्ता जवाफ प्राप्त भए भन्नेबारे पार्टीलाई कुनै जानकारी नरहेको अध्यक्ष उपेन्द्र यादवको भनाइ छ ।

वैशाख ४ गते प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय बैठकमा पनि जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर उपस्थित भए तर जसपा नेपालका अर्का अध्यक्ष उपेन्द्र यादव, सङ्घीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले बैठकको बारेमा पार्टीलाई जानकारी नै नरहेको प्रतिक्रिया दिएका थिए ।

वैशाख ६ गते लुम्बिनी प्रदेशमा जसपा नेपालकै चारजना सांसदले मुख्यमन्त्री शङ्कर पोखरेललाई समर्थन गरेका छन् । सुरुमा मुख्यमन्त्री पोखरेलमाथि अविश्वासको प्रस्ताव लैजाने निर्णयमा हस्ताक्षरसमेत गरिसकेका सांसदहरुले एकाएक सरकारलाई समर्थन मात्र गरेनन्, उनीहरु नै सरकारमा सहभागी भएर शपथ पनि लिए । तर यसबारे जसपा नेपालभित्र कुनै छलफल तथा निर्णय भएको थिएन ।

लुम्बिनी प्रदेश सरकारमा सामेल भएका चार जनामध्ये तीन जना उपेन्द्र यादव पक्षका र एकजना महन्थ ठाकुरका पक्ष हुन् । आफ्नो पक्षका तीनजनालाई महन्थ ठाकुर पक्षका नेताहरुले ‘कन्भिन्स’ गरेर मुख्यमन्त्री शङ्कर पोखरेल नेतृत्वको सरकारको समर्थन गराएको बुझाइ उपेन्द्र यादवको छ । यो अवस्थाले पार्टीमा झन् दूरी बढाएको छ । नेताहरुको बीचमा बोलचाल बन्द हुनका साथै पार्टीको बैठक बस्न छाडेको छ ।

यद्यपि बालकुमारीस्थित पार्टी कार्यालयमा उपेन्द्र यादव पक्षको र बबरमहलमा महन्थ ठाकुर पक्षको बैठक नियमितजसो बसिरहेको हुन्छ । तर, सिंगो जसपाको बैठक भने बस्न सकेको छैन । कार्यकारिणी समितिका सदस्य गङ्गा श्रेष्ठका अनुसार बैठक चाँडै बस्ने वातावरण बन्दैछ । शीर्ष नेताहरुका बीचमा आन्तरिक छलफल चलिरहेको र एउटा मिति तोकेर चाँडै नै बैठक बस्ने श्रेष्ठ बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप