सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

संसदीय समितिको टोली वीर र पाटन अस्पतालमा

बुधबार, १५ वैशाख २०७८, १८ : ५४
बुधबार, १५ वैशाख २०७८

काठमाडौं । संसदीय समितिले वीर र पाटन अस्पतालको निरीक्षण गरी कोभिड–१९ का बिरामीलाई प्रदान गरिरहेको सेवा  प्रवाहबारे जानकारी लिएको छ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठको नेतृत्वमा गएको संसदीय टोलीले आज वीर अस्पताल र पाटन अस्पतालमा कोभिड–१९ का बिरामीको चाप र उपलब्ध सेवाबारे जानकारी लिएको हो । टोलीले ती दुवै अस्पतालको जनशक्तिको दरबन्दी, हाल कार्यरत जनशक्ति, सेवा प्रवाह र उपचारमा देखिएको चुनौतीबारे अस्पताल प्रमुखसँग जानकारी लिएको थियो ।

संसदीय टोलीलाई वीर अस्पतालका  कार्यकारी निर्देशक डा शान्ता सापकोटा र पाटन अस्पतालका कार्यकारी निर्देशक डा. रवि शाक्यले अस्पतालको भौतिक पूर्वाधार, जनशक्ति र उपलब्ध सेवाबारे जानकारी गराएका थिए । अस्पताल व्यवस्थापनले कोभिड–१९ का लागि छुट्याइएका शय्या, व्यवस्थपन गरिएको अक्सिजन, पीपीई र उपलब्ध सेवा सुविधाबारे जानकारी गराएको थियो ।

वीर अस्पतालले कोभिड–१९ का बिरामीलाई १०७ र पाटन अस्पतालले २५० श्यया व्यवस्थापन गरेको जानकारी दिइएको समितिका सचिव बबिता मिश्रले बताइन् । दुवै अस्पताल व्यवस्थापनले कोरोनाका बिरामीको उपचारका लागि चिकित्सकसहित नर्सको बढी आवश्यकता परेको जानकारी गरायो ।

वीर अस्पतालको अक्सिजन प्लान्ट लामो समयदेखि बन्द रहेकामा केही दिनदेखि सञ्चालनमा ल्याइए पनि पाटन अस्पतालको प्लान्ट भने अझै सञ्चालन हुन नसकेको जानकारी दिइयो । वीर अस्पतालको प्लान्टबाट दैनिक १५० सिलिन्डरसम्म अक्सिजन उत्पादन हुने बताइएको छ । पाटन अस्पतालले अन्य अस्पतालको तुलनामा सङ्क्रमणको जोखिममा रहेका सुत्केरीलाई सेवा उपलब्ध गराउँदै आएको जानकारी दिइएको छ ।

संसदीय टोलीले कोभिडका बिरामीको उपचारका लागि कुनै कसर बाँकी नराख्न सुझाव दिँदै अस्पताललाई परेको समस्या समाधानका लागि संसद्ले पहल गर्ने भएकाले लिखित रुपमा सुझाव उपलब्ध गराउन निर्देशन दिएको थियो । टोलीमा सदस्य देवेन्द्रराज कँडेल, लालबाबु पण्डित, प्रेम सुवाल, महेश्वरराज गहतराज र तीर्था गौतम सहभागी रहेका थिए ।

समितिले आफ्नो सुशासनको कार्यक्षेत्रको पाटोबाट अस्पतालबाट हालको परिस्थितिमा उपलब्ध सेवा र भोगिरहेका समस्याबारे जानकारी लिने उद्देश्यले अनुगमन कार्य प्रारम्भ गरेको हो । समितिले केही दिनभित्रै अन्य अस्पतालको समेत निरीक्षण गर्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप