शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मजदूरका पीडा– काम पनि छैन, माम पनि छैन,अब घरै फर्कन्छु

बुधबार, २२ वैशाख २०७८, १५ : ४८
बुधबार, २२ वैशाख २०७८

गुल्मी । ‘यता बसेर के गर्नु छ र ? काम पनि छैन, माम पनि छैन । अब घरै फर्कन्छु ।’ बुधबार बिहान गुल्मीको सदरमुकाम तम्घासको पूरानो बजारस्थित एउटा बन्द पसलको पेटीमा ओत लागेर बसेका मजदूरले घरमा रहेकी छोरीसँग फोनमा कुरा गर्दा व्यक्त गरेका शब्द हुन् यी ।

पानी परिरहेका कारण पसलको पेटीमा ओत लागेर उनी घरमा रहेकी छोरीसँग सुख–दुःखका कुरा साट्दै थिए । अर्घाखाँचीको मालारानी गाउँपालिका डाँडाकटेरी घर बताउने राइटे नेपाली कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि आफू काम र मामविहीन हुनु परेको बताउँछन् ।

४८ वर्ष उमेर भएका उनी सुगरको बिरामी हुन् । तै पनि ज्याला मजदूरी गरेर श्रीमती र पाँच छोरीसहितको परिवारलाई भरथेग गर्दै आएका छन् । तर अहिले निषेधाज्ञाका कारण रोजगारी पाउन छोडेको उनले बताए ।

उनी विगत डेढ दशकदेखि तम्घासमा पल्लेदारीको काम गर्दै आएका छन् । यसरी दैनिक कमाएको पैसाले घर खर्च चलाउनुबाहेक अरु कुनै उपलब्धि हुन नसकेको उनले बताए । ‘यहाँ हामी ८ जनाले सिमेन्ट, छड लोड–अनलोड गर्ने काम गर्दै आएका थियौं,’ उनले भने, ‘अरु ७ जना घर गईसके, मचाहिँ केही काम पाइहालिन्छ कि भनेर बसेको ।’

कमाइ ठप्प भएका कारण अब खानकै लागि पनि समस्या हुन थालेको उनले बताए । ‘यहाँ अब राशन पाउन पनि छाड्यो । खाना पकाउन फर्निचरमा गएर दाउरा लिएर आउँथेँ, अब त फर्निचर पनि बन्द भयो,’ उनले भने, ‘यस्तो अवस्थामा अब घरै जानुपर्ला ।’

सदरमुकाममा कोरोना कहरले अप्ठ्यारोमा परेका मजदुरमध्येका उनी प्रतिनिधिपात्र मात्रै हुन् । जिल्लाभित्रका मात्र नभई छिमेकी जिल्ला बाग्लुङ्ग, अर्घाखाँची, प्युठान, दाङ, सल्यान, रुकुम, रोल्पासम्मका सयौं मजदुर लामो समयसम्म लकडाउन भयो भने छाक कसरी टार्ने भन्ने चिन्तामा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप