शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

खोप लगाएकालाई कोरोना संक्रमण हुँदैन ?

के भन्छन् दुबै डोज खोप लिएका संक्रमित ?
बुधबार, २२ वैशाख २०७८, १६ : ०९
बुधबार, २२ वैशाख २०७८

बैशाख ९ गते बाँसबारीस्थित न्यूरो अस्पतालको अपरेशन थिएटरमा डा. सुमोद कोइरालालाई अपरेशनकै दौरान केही असहज र चिडचिडाहट महसुस भयो । उनले बाहिर निस्किएर आफूलाई सामान्य बनाउने कोसिस गरे । कोरोनाभाइरसको नयाँ भेरियन्टबारे सचेत रहेका उनलाई कतै संक्रमण त भएन भन्ने शंका लाग्यो र निवासतिर लागे ।

भोलिपल्टदेखि डा. कोइरालालाई रुघाखोकी र सामान्य छाती दुखाइ सुरु भयो । लगत्तै कोभिड परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो । यो उनको दोस्रोपटकको संक्रमण थियो ।

डा. सुमोद बाँसबारीस्थित न्यूरो अस्पतालका सर्जन (न्यूरो रजिष्टर्ड) हुन् । अस्पतालमा बिरामीहरुसँग सम्पर्कमा रहिरहनुपर्ने र कोभिड वार्डमा संक्रमित बिरामीको उपचारमा पनि खटिनुपर्ने हुँदा उनले स्वास्थ्य सतर्कता र मापदण्डको विशेष ख्याल त गरेकै थिए, साथै उनले दुबै डोज कोभिड–१९ विरुद्धको खोप पनि लिइसकेका थिए ।

सामान्यतया भ्याक्सिन लिएपछि एक प्रकारको आत्मविश्वास पनि थियो डा. कोइरालालाई कि यदि भाइरसको संक्रमण भइहालेमा गम्भीर अवस्थासम्म पुग्नुपर्दैैन । सोही आत्मविश्वासले उनलाई १० दिनमै पुनः काममा फर्काएको छ ।

सात महिना अगाडि डा. कोइरालामा कोरोना भाइरसको संक्रमण भयो । ‘पहिलोपटक संक्रमण हुँदा पनि रुघा, सुख्खा खोकी र जिउ दुख्ने लक्षण देखिएको थियो । १४ दिनको होम आइसोलेसनपछि काममा फर्किएको थिएँ’ डा. कोइराला भन्छन्, ‘पहिलो पटक संक्रमण भएको दुई÷तीन महिनासम्म स्याँ–स्याँ हुने समस्या भने यथावत थियो । सिँढी चढ्दा अलि अप्ठ्यारो महसुस हुन्थ्यो ।’

डा. कोइराला आफ्नो अनुभव सुनाउँछन्, ‘दोस्रोपटक संक्रमण हुँदा पनि उस्तै–उस्तै लक्षण देखियो । दुवैपटक लक्षणसहितको संक्रमण भयो । तर, पहिलोपटक भन्दा दोस्रोपटक छिट्टै (एक हप्तामा) सुधार भयो । सायद यो भ्याक्सिनका कारणले हुन सक्छ ।’

दुवै डोज खोप लिइसकेका डा. कोइरालालाई दुई पटकसम्म संक्रमण भयो । यसको मतलव, खोप लिँदैमा हामी पूर्णतया सुरक्षित छौं भन्ने सोच्नु विल्कुलै गलत हो । त्यसैले खोप लिए पनि स्वस्थ्य मापदण्डको पालना भने गर्नुपर्छ भन्ने डा. कोइरालाको निश्कर्ष छ ।

​डा. कोइरालालाई हेर्दा थाहा हुन्छ कि खोप लिएपछि पनि भाइरसको संक्रमण हुन सक्छ । तर, खोप लिनेलाई खोप नलिनेको तुलनामा गम्भीर प्रकारको संक्रमण भने पाइएको छैन । अहिलेका जति पनि गम्भीर प्रकृतिका केशहरु छन्, ती खोप नलिएकामा देखिएको चिकित्सकहरुले बताउँदै आएका छन् ।

खोपले हाम्रो शरीरमा एन्टीबडी बनाउने भएकाले संक्रमण भइहाले पनि गम्भीर प्रकृतिको लक्षण नदेखिने डा. कोइराला बताउँछन् ।  उनी भन्छन्, ‘खोपबारे जति पनि अविश्वासका कुराहरु बाहिर आएका छन्, त्यो विल्कुलै गलत हो । खोपमाथि विश्वास गरौं । खोप उपलब्ध देशहरुमा कोरोनाभाइरसको संक्रमण घट्दै गइरहेको देखिएको छ । त्यसैले उपलब्ध खोप सबैले लिऔं ।’

डा. कोइराला अगाडि भन्छन्, ‘खोपले ८० प्रतिशतसम्म सुरक्षा प्रदान गर्ने बताइएको छ । खोप लिएकामा संक्रमण भए पनि छिटो रिकभरी हुने र गहिरो असर देखिएको छैन, यो सकारात्मक पाटो हो ।’

अहिले देखिएको इन्डियन भेरियन्ट डबल म्युटेन्टसहितको दोस्रो लहरको संक्रमणले युवाहरुलाई धेरै संक्रमित गरिरहेको र छिटो–छिटो संक्रमण फैलिएकाले स्वास्थ्य सतर्कता अपनाउन डा. कोइराला सबैमा आग्रह गर्छन् ।

०००

यसैगरी, ग्राण्डी अस्पतालका रक्तसञ्चार विज्ञ (प्लाज्मा थेरापी स्पेसलिस्ट) विपिन नेपाललाई पनि दोस्रो डोज खोप लगाएको दुई दिनपछि नै कोरोनाभाइरसको संक्रमण भयो । पहिलो लहरको समयमा दिनरात प्लाज्मा थेरापीमा खटिएका डा. नेपाल संक्रमणबाट जोगिए पनि दोस्रो लहरबाट भने जोगिन सकेनन् ।

प्लाज्मा दान गर्ने र प्लाज्मा थेरापी गर्नुपर्ने संक्रमित बिरामीसँग प्रत्यक्ष सम्पर्कमा रहिरहनुपर्ने भएकाले संक्रमण हुन सक्ने सम्भावना उच्च थियो । स्वास्थ्य मापदण्डभित्र रहेर काम गरे पनि भाइरस लोड बढी भएको अवस्थामा भने भाइरस हाम्रो शरीरमा प्रवेश गर्छ । डा. नेपाल भन्छन्, ‘हामीले खोप लिए पनि भाइरस लोड बढी भएको अवस्थामा संक्रमण गराइहाल्छ । अझ अहिले देखिएको नयाँ भेरियन्ट सहितको भाइरस अझ बढी संक्रामक भएकाले धेरैलाई संक्रमित गरायो ।’

डा. नेपाल आफूमात्रै संक्रमित भएनन्, परिवारका ११ जना सदस्य सँगै संक्रमित भए । तीमध्ये खोप नलिएका दुई जना र बाँकी सबैले खोप लिएकाले अवस्था त्यति गम्भीर हुन नपाएको उनी बताउँछन् ।

डा. नेपाल पनि खोप लिएको भनेर हामी पूर्णतया सुरक्षित छौं भन्ने सोच्नु गलत भएको बताउँछन् । खोप लिए पनि धेरै भाइरसको लोड शरीरमा छिर्यो भने संक्रमण गराउने भएकाले सतर्कता अपनाउनु पर्ने र पूर्णरुपमा स्वास्थ्य मापदण्डको पालना गर्नु अत्यन्त जरुरी रहेको बताउँछन् ।

०००

पत्रकार पुष्प दुलाललाई एक्कासी रुघाखोकी, ज्वरोसँगै जिउ दुख्ने र घाँटी दुख्ने समस्या भयो । लक्षण देखिएपछि होम आइसोलेसनमा बसेका उनलाई भाइरल पो हो कि भन्ने थियो । ज्वरो कम हुने सामान्य औषधिको सेवन गर्दैै बसेका दुलालले पनि दुवै डोज खोप लिएका थिए ।

लक्षण देखिएको ३÷४ दिनपछि पीसीआर परीक्षण गराएका दुलालमा संक्रमण पुष्टि भयो । दुबै डोज खोप लिए पनि संक्रमण हुन सक्दोरहेछ भन्ने उनको निश्कर्ष छ । दुलाल भन्छन् , ‘खोप लगाएको छु, ममा संक्रमण हुँदैन भनेर ढुक्क हुन नहुने रहेछ । अहिले हामीले लिएको खोपको क्षमता ८० प्रतिशत मात्रै हो । त्यसैले संक्रमण हुने सम्भावना खोप लिनेमा पनि उत्तिकै हुन्छ । मात्र यति हो कि खोप लगाएकालाई नलगाएकाको तुलनामा गम्भीर संक्रमणबाट भने जोगाउने रहेछ ।’

दोस्रो डोज खोप लगाएको ५ दिनमा नै संक्रमित भएका पत्रकार दुलालमा खोप लिएपछि एक प्रकारको आत्मविश्वास पलाएको थियो । सरकारले सबै नागरिकलाई समयमै खोप उपलब्ध गराउने, सबैले सतर्कता अपनाउने, स्वास्थ्य मापदण्डको पालना गर्ने हो भने भयावह स्थिति आउनबाट जोगिने दुलाल बताउँछन ।

०००

विश्वको कुनै पनि खोपले सबै व्यक्तिलाई संक्रमणबाट रोक्न सक्दैन । तर, बचाउन भने सक्छ । यसको प्रमाण हो–भारत । हुन त, भारतमा अहिले देखिएको अवस्थाले आम मानिसमा कोरोनाविरुद्धको खोप नयाँ भेरियन्टविरुद्ध प्रभावकारी छैन कि भन्नेमा आशंका पैदा गरेको छ । तर, भारतमा जति पनि संक्रमण र मृत्यु भएको छ, त्यसमा खोप नलिएकाको दर उच्च रहेको पाइएको छ ।

​सामान्यतया हाम्रो शरीरमा एन्टीबडी बन्न खोप लिएको दुईदेखि तीन हप्ता लाग्छ । पहिलो डोज खोप लिएपछि हाम्रो शरीरले एन्टीबडी बनाउने प्रक्रियाको सुरुवात गर्ने र दोस्रो डोज खोपले एन्टीबडी तयार पारेर बाहिरी आक्रमणलाई परास्त गर्न सक्ने क्षमताको विकास गर्ने डा. विपिन नेपाल बताउँछन् ।

खोप कुनै औषधि नभएर भाइरस नै भएकाले खोप हाम्रो शरीरमा प्रवेश गरेपछि प्रतिरोधी प्रणाली (एन्टीबडी) को विकासमा यसले सघाउने डा. नेपाल बताउँछन् । प्रतिरोधी प्रणाली विकास भएपछि यसले बाहिरी तत्वको आक्रमणबाट हाम्रो शरीरलाई जोगाउने भएकाले प्रतिरोधी प्रणाली विकासमा हामीले ध्यान दिन जरुरी भएको उनको तर्क छ ।

डा. सुमोद कोइराला खोप लिएको व्यक्तिलाई फेरि संक्रमण हुन्छ भने खोप किन लिने भन्ने एकखालको भ्रम पैदा भएको बताउँदै त्यो भ्रमबाट बाहिर निस्किन सबैमा आग्रह गर्छन् । सरकारले उपलब्ध गराएको जुनकुनै पनि खोप लिन उनको सुझाव छ ।

भाइरस संक्रमण भइहाले खोपका कारण हाम्रो शरीरमा विकास भएको प्रतिरोधी प्रणाली (एन्टीबडी) ले भाइरसलाई परास्त गर्न सक्ने भएकाले गम्भीर अवस्थामा पुग्नबाट जोगिने डा. कोइराला बताउँछन् ।

०००

सरकारले सबै नागरिकलाई खोप उपलब्ध गराउने आश्वासन त दियो । तर, समयमै खोपका लागि पहल नगर्दा धेरै मानिसहरुले कोभिड–१९ को शिकार बन्नुपरेको छ । हाल नेपालमा युके भेरियन्ट र भारतमा पहिलोपटक पहिचान भएको डबल म्युटेन्ट भेरियन्ट पहिचान भएका छन् । भाइरसले रुप परिवर्तन गरिरहेको अवस्थामा खोप लगाएकालाई पनि संक्रमित बनाउने र कुनै पनि अवस्थाका व्यक्तिलाई छुन सक्ने विज्ञहरुको चेतावनी छ ।

कोरोनाको नयाँ भेरियन्ट बेलायतको दक्षिणपूर्वी क्षेत्रमा डिसेम्बर महिनामा देखिएको थियो । त्यसैगरी इन्डियन भेरियन्ट यतिबेला भारत र नेपालमा तिव्र गतिमा फैलिरहेको छ । यो साधारण कोरोनाभन्दा ५० प्रतिशत बढी संक्रामक हुने देखिएको छ । यसबारे थप अध्ययन भइरहेकाले आत्तिहाल्न भने नहुने चिकित्सकहरुको सुझाव छ । तर, सामान्य लक्षण देखिए पनि सतर्कता अपनाउने र बारम्बार अक्सिजन लेभल जाँच गरिराख्नु बुद्धिमत्ता हुने विज्ञहरुको सुझाव छ ।

नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण हुँदा धेरैमा एक्कासी अक्सिजन लेभल कम हुने समस्या देखिएको छ । त्यसैले पनि धेरै संक्रमितलाई अस्पतालमा अक्सिजनको सहयोगमा उपचार गराउनुपर्ने हुन्छ ।

नयाँ भेरियन्टको कोरोना संक्रमणका लक्षणहरुमा ज्वरो आउने, खोकी लाग्ने, अक्सिजन लेभल घट्ने, छातीमा समस्या हुने र निमोनिया हुने देखिएको छ । यस्ता लक्षण देखिएमा अस्पताल जान र चिकित्सकसँग सम्पर्क गर्न विज्ञहरुको सुझाव छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप