बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

प्रदेश २ : कोरोना संक्रमणले जनताको बेहाल, प्रदेश सरकार सौन्दर्यीकरणमा रम्दै

शुक्रबार, ०७ जेठ २०७८, ११ : १५
शुक्रबार, ०७ जेठ २०७८

जनकपुर । प्रदेश २ मा कोभिड–१९ (कोरोना) बाट संक्रमित हुनेको संख्या दिनहुँ बढ्दै जाँदा उपचारका लागि जनताले हारगुहार गर्नुपर्ने अवस्था छ । तर प्रदेश सरकार भने कोरोना महामारीका बाबजुद सौन्दर्यीकरणका आयोजनामा बजेट खन्याउँदै जनताको पीडाप्रति गैरजिम्मेवार देखिएको छ ।

कोभिड–१९ संक्रमण उच्च रहे पनि संक्रमित अधिकांश व्यक्ति होम आइसोलेसनमा बस्न बाध्य छन् । अस्पतालका शय्या भरिएका कारण गम्भीर समस्या भएका बिरामीले समेत समयमै उपचार पाउन नसकेको अवस्था छ ।

तर प्रदेश २ सरकारले भने कोभिड १९ संक्रमितहरुको अवस्थालाई एकातिर पन्छाएर बजेट खर्चको दायरालाई अर्कैतिर बढाएको छ । प्रदेश सरकारले कोभिड १९ संक्रमण रोकथाम र नियन्त्रणप्रतिको जिम्मेवारी बेवास्ता गर्दै विकास निर्माण तथा सौन्दर्यीकरणमा बजेट केन्द्रित गरेको छ ।

विकास निर्माणको नाममा प्रदेश सरकारले सम्पूर्ण बजेट पोखरी सौन्दर्यीकरण, सडक, सामुदायिक भवन, मन्दिर निर्माणलाई प्राथमिकता दिएको छ । अर्कोतिर अस्पतालमा आइसोलेसन शय्या, अक्सिजन, भेन्टिलेटर, आइसियु कक्ष, औषधि, जनशक्ति व्यवस्थापन र कोभिड १९ संक्रमणको कारण मृत्यु भएकाको शव व्यवस्थापनदेखि सामान्य रोगीहरुको प्राथमिक उपचारमा सरकारको ध्यान पुगेको छैन ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले चालु आर्थिक वर्षमा ४ अर्ब ६२ करोड ९७ लाख रुपैयाँ बजेटको करिब १४ प्रतिशत रकम स्वच्छ अभियान अन्तर्गत पोखरी संरक्षण तथा सौन्दर्यीकरण शीर्षकमा छुट्याएको छ । उक्त कार्यालयले सार्वजनिक गरेको खर्च विवरण अनुसार प्रदेशको ८ वटै जिल्लाका ४२ वटा पोखरीको संरक्षण तथा सौन्दर्यीकरणका लागि ६२ करोड ९० लाख रुपैयाँ र करिब १० करोड रुपैयाँ रकमान्तर गरी ७३ करोड ९० लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म २० वटा पोखरीको सौन्दर्यीकरणको काम बल्ल सुरु भएको छ । पोखरी सौन्दर्यीकरणको काममा अहिलेसम्म करिब १० करोड ९ लाख रुपैयाँमात्रै खर्च भएको छ ।

प्रदेश सरकारले स्वच्छ अभियान कार्यक्रम सञ्चालन गर्न स्वच्छ अभियान सहयोगीको तलब र भत्ताका लागि २० लाख ४० रुपैयाँ, प्रचारप्रसारका लागि १ लाख रुपैयाँको दरले २० वटा स्थलमा होर्डिङ बोर्ड राख्न २० लाख रुपैयाँ र पालिकास्तरीय स्वच्छता अभियानका लागि एक लाख ३६ हजार रुपैयाँ छुट्याएको छ ।

त्यस्तै, प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि १ अर्ब ७ करोड रुपैयाँ, प्रदेशको सफल कार्यक्रमको रुपमा मानिएको बेटी बचाउ, बेटी पढाउ अभियानका लागि करिब ८० करोड रुपैयाँ र पोखरी सौन्दर्यीकरण बाहेक अन्य बाँकी रकम कर्मचारी तथा पदाधिकारीको तलब भत्ता, तालिम, भ्रमण र कार्यालय सञ्चालनका लागि छुट्याइएको छ ।

उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले समेत पोखरी सौन्दर्यीकरण कार्यक्रमलाई प्राथमिकतासहित प्रदेशका विभिन्न जिल्लाका १२ वटा पोखरी सौन्दर्यीकरणका लागि २ करोड ९५ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका मुख्यसचिव गोकर्णप्रसाद दवाडीले विकास निर्माण अन्तर्गतको पोखरी सौन्दर्यीकरण लगायतका कार्य पूर्व स्वीकृत योजना अनुसार नै राखिएको जानकारी दिए । उनले कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रयणका लागि बजेटको अवस्थाबारे आफुलाई जानकारी नभएको बताए ।

उनले भने, ‘स्वास्थ्यको बारेमा सामाजिक विकास मन्त्रालयले नै हेर्ने हुनाले यसबारे मलाई जानकारी छैन ।’

प्रदेश २ मा कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण निकै चुनौतीपूर्ण बन्दै गएको छ । संक्रमितको संख्या दैनिक उकालो लाग्दै गर्दा मृत्यु हुनेको संख्या पनि दिनदिनै बढिरहेको छ ।

सरकारी अस्पतालमा अक्सिजन, भेन्टिलेटर र जनशक्तिको अभाव पूर्ति गर्न प्रदेश सरकार असफल देखिएको छ । विकास निर्माण लगायतका कार्यमा मनग्य कमिसन आउने हुनाले कोभिड १९ संक्रमण नियन्त्रण, रोकथाम तथा संक्रमितको उपचारमा प्रदेश सरकारले ध्यान नदिएको विपक्षी दलहरूको आरोप छ ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका संसदीय दलकानेता रामसरोज यादवले प्रदेश सरकार जनताको स्वास्थ्यको सवालमा गम्भीर नरहेको बताए । उनले भने, ‘यो मामिलामा प्रदेश सरकार निकम्मा र गैरजिम्मेवार देखिएको छ ।’

अहिले कोभिड १९ संक्रमणले जनता मरिरहेको बेला सरकारले संक्रमण रोकथाम तथा नियन्त्रणतर्फ ध्यान दिनुपर्नेमा विकास निर्माणको नाममा भ्रष्टाचार गर्न कमिसन आउने ठुला योजनाहरुमा सरकारले हात हालेको उनको भनाइ छ ।

आफूहरुले कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण एवं उपचार व्यवस्थापनका लागि ठोस कार्यक्रम ल्याउन पटक पटक आवाज उठाउँदा पनि प्रदेश सरकारले वास्ता नगरेको उनको भनाइ छ ।

प्रदेश २ मा कोभिड १९ संक्रमणका कारण अहिलेसम्म ४५८ जनाको मृत्यु भईसकेको छ भने २८ हजार २७७ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये १८ हजार ४३८ जना निको भइसकेका छन् । अस्पतालमा शय्याको अभावका कारण ८ हजार ५७० जना संक्रमित होम आइसोलेसनमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप