बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

कास्कीमा फेरि १० दिन थपियो निषेधाज्ञा

बिहीबार, २० जेठ २०७८, १९ : १७
बिहीबार, २० जेठ २०७८

पोखरा । कास्कीमा फेरि १० दिन निषेधाज्ञाको समयावधि थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जेठ ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेका हुन् । जिल्लामा कोरोनाको दोस्रो लहर नियन्त्रणका लागि पहिलोपटक वैशाख १५ मा निषेधाज्ञा जारी गरिएको थियो ।

नयाँ भेरियन्ट सहितको संक्रमण तीव्र रुपले फैलिएकाले त्यसलाई रोक्नका लागि प्रशासनले यसअघि जारी गरेको निषेधाज्ञालाई पुनः १० दिनका लागि थप गरेको हो । यसअघि पनि प्रशासनले निषेधाज्ञाको समय एक÷एक साता थप गर्दै आएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्रको बिहिबार बसेको बैठकले थप १० दिनका लागि निषेधाज्ञा थप गर्ने  निर्णय गरेको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए । उनकाअनुसार निषेधाज्ञामा यसअघि जारी भएजस्तै अत्यावश्यक खाद्य सामग्री खरिद बिक्रीका लागि बिहान ९ बजेसम्म पसल खुला रहने छन् ।

तोकिएको समयमा अत्यावश्यक खाद्यान्नका पसल र डिपार्टमेन्टल स्टोर्स (खाद्य सामग्री मात्र विक्री गर्न) खुला हुनेछन् । त्यसैगरी खाद्यान्न, तरकारी, पानी, फलफूल, दूधजस्ता दैनिक उपभोग्य वस्तु नजिकको पसलबाट मात्र खरिद गर्नुपर्ने आदेशमा भनिएको छ । त्यसका लागि सवारी साधन प्रयोग गर्न पाइने छैन । फलफूल तथा तरकारीको थोक बिक्रेताले खुद्रा बिक्री वितरण गर्न पाउने छैनन् । ताजा दुध बेलुका ५ देखि ७ बजेसम्म नजिकको चिस्यान केन्द्र एवम् संकलन केन्द्रमा पुर्याउन र बिक्री वितरण गर्न पाइने व्यवस्था गरिएको छ ।

त्यसैगरी सर्वसाधारणले औषधी, खाद्यवस्तु, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन नपाइने जनाइएको छ ।  त्यस्तै सार्वजनिक तथा निजी सवारी साधन जेठ ३१ गते राति १२ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ भने अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन मात्र सञ्चालन गर्न पाइनेछ ।

विवाह, ब्रतबन्ध होटल र पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । घरमा विवाह व्रतबन्ध लगायतका  कार्य गर्दा दश जनाभन्दा बढी उपस्थित हुन नपाइने र एकमात्र सवारी साधनमा ५ जना मात्र सवार हुन पाउने प्रशासनको आदेशमा उल्लेख गरिएको छ । 

उद्योग तथा सार्वजनिक निर्माण काममा संलग्न कर्मचारी, श्रमिकलाई उद्योग परिसर वा निर्माणस्थल नजिकै खाना र बासको व्यवस्था गरी सञ्चालन गर्न सकिने जनाइएको छ । त्यसैगरी सरकारी प्राथमिकता प्राप्त आयोजनाको निर्माण सामग्री बोक्ने गाडी बेलुका ७ देखि बिहान ४ बजेसम्म मात्र सञ्चालन गर्न सकिने आदेशमा उल्लेख गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाले १ चौथाइ कर्मचारी राखेर १ चौथाइ शाखामात्र सञ्चालन गर्न पाउने जनाइएको छ । बैंक तथा वित्तिय संस्थाहरु बिहान ११ देखि दिउँसो २ बजेसम्म सञ्चालन गर्ने पाउने जनाइएको छ । ती संस्थाले निक्षेप १ लाखभन्दा बढी, चेक भुक्तानी, क्लियरिङ र विप्रेषणको सेवा मात्र दिन पाउनेछन् ।

बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीले परिचयपत्र र कार्यालय पोशाकका आधारमा बिहान १० देखि साढे ३ सम्म आवतजावत गर्न सक्ने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप