बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

दलहरूलाई बाँदरको संज्ञा दिँदै कोमल ओलीको कविता बाचन (भिडियो)

सोमबार, २१ असार २०७८, २० : ००
सोमबार, २१ असार २०७८

राष्ट्रियसभा सदस्य कोमल ओलीले राष्ट्रियसभाको बैठकमा सरकार विरोधी मोर्चामा सहभागी राजनीतिक दलहरूलाई बाँदरको संज्ञा दिदै व्यंग्यात्मक कविता बाचन गरेकी छन् । राष्ट्रियसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य ओलीले मुलुकको कोरोना महामारीको चपेटामा देश र देशवासी परेका बेला सबै राजनीतिक दलहरु एकजुट हुनुपर्नेमा फुटको राजनीतितर्फ उन्मुख भएको बताइन् । धार्मिक, सांस्कृति र प्राकृतिक सम्पत्तिको चर्चा गर्दै उनले नेपाली जनतालाई व्यवहारिक शिक्षा नदिन तथा जलस्रोतको धनी भइकन जनतालाई जलश्रोतसँग जोड्न नसक्नुको दोषी वर्तमान सरकार नभई विगतका सरकारहरु भएको बताइन् ।

उनले भनिन्– ‘यो बेलामा राष्ट्रका सबै शक्तिहरु एक ठाउँमा उभिनुपर्दैन ? कुन बेला झगडा गर्ने कुन बेलामा मिल्ने भन्ने प्राथमिकता हुँदैन ? यो भन्दा बाँदर चरित्र के हुन्छ ? न आफ्नो घर बनाउने न अर्काको घर बन्न दिने ? न अरुलाई गर्न दिने न आफुले गरेर देखाउने ? यसरी मुलुकको निर्माण कसरी हुन्छ ? जनताको सम्बृद्धि कसरी हुन्छ ?’

उनले आफुले पनि नगर्ने र अर्कालाई पनि काम गर्न नदिने चरित्र राजनीतिक दलहरुमा भएको भन्दै सरकार विरोधी मोर्चामा सहभागी दललाई लक्षित गर्दै ‘बाँदरको जमात र अमृत पानको सपना ’ शीर्षकको कविता बाचन गरेकी थिइन् ।

उनको कविता यस्तो थियो–
“बाँदरहरूको आफ्नो देश हुदैन बाँदरहरूको निश्चित भेष हुँदैन ।
छेपारा जस्ता मौसमी रंग बदल्ने बाँदरहरूको स्थायी परिवेश हुँदैन ।
कहिले मिलेका छन् कहिले फुटेका छन्
इर्ष्याको भट्टीमा आफैंलाई भुटेका छन् ,
आँखाभरी लोभ पापको पिपासा बोकेर
आजकल बेवारिसे बाँदर विनाशका मेलामा जुटेका छन् ।
अलिकति चेतना भएको भए
हामी र हाम्रो भन्न सक्थे
हालेको जग बचाएको भए
सुन्दर घरवास बन्न सक्थे ।
आखिर बाँदर न हुन्,
भोलिको प्रतिक्षा कहाँ गर्छन् ?
आफ्नै बासमा आगो फुकेर भागाभाग छ आज यिनको । ।।
बाँदरहरू खेती गर्देनन्, बाली बिनास गर्छन् ।
कहिले ढेडुहरूसँग मिल्छन् कहिले गोइलानहरुसँग मिल्छन् ।
कर्मको कुटो नलगाउने यी बाँदरहरू
अमृतपान गर्ने सपना देख्छन् ।
बाँदरहरूको आफ्नो देश हुँदैन बाँदरहरूको निश्चित भेष हुँदैन ।
छेपारा जस्ता मौसमी रंग बदल्ने बाँदरहरूको स्थायी परिवेश हुँदैन ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप