आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कुनै हालतमा अनलाइन परीक्षा गरिँदैन : मध्यपश्चिम विश्वविद्यालय

बिहीबार, २१ साउन २०७८, २१ : १५
बिहीबार, २१ साउन २०७८

मध्यपश्चिम विश्वविद्यालयले कुनै पनि हालतमा अनलाइन परीक्षा गर्न नसकिने स्पष्ट पारेको छ । बिहीबार एक सूचना जारी गर्दै विश्वविद्यालयले विद्यार्थी संगठनको अनलाइन परीक्षाको माग सम्बोधन गर्न नसकिने बताएको हो । संयुक्त विद्यार्थी संगठनले १८ बुँदे मागमा अनलाइन परीक्षाको माग समेत गरेको थियो । विगतको अनुभव, उपलब्ध प्रविधि र यसको पहुँच, शैक्षिक गुणस्तर, वैधानिकता तथा विद्यार्थीको भविष्यलाई समेत मध्यनजर गर्दै विश्वविद्यालयले उक्त माग पुरा गर्न नसकिने प्रष्ट पारेको छ । 

नेपाल विद्यार्थी संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, क्रान्तिकारी; अनेरास्ववियु र अखिल (छैटौं)ले यो माग राखेर साउन पहिलो साता देखिनै आन्दोलन गरिरहेका छन् । विद्यार्थीहरुले  राखेका अन्य मागहरुको सम्बन्धमा केही माग विश्वविद्यालयले पहिले नै पुरा गरिसकेको पनि बताएको छ । बाँकी मागहरु आपसी सम्वाद, सहमति र छलफलमार्फत पुरा गरी विश्वविद्यालयको शैक्षिक वातावरण सहज बनाउन अग्रसर रहेको बताइएको छ ।

यस्तै प्राध्यापक तथा विद्यार्थी संघ–संगठनहरुले राखेका मागहरुको सम्बन्धमा मध्यपश्चिम विश्वविद्यालय उच्चस्तरीय समस्या समाधान समिति संवाद, सहमति र छलफलबाट वार्तालाई निष्कर्षमा पुर्याउन सदैव तत्पर रहेको पनि जानकारी गराइएको छ ।  

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनसँग नौं बुँदे सहमति र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)सँग १५ बुँदे सहमति भइसकेको छ’ विश्वविद्यालय  स्रोतले भन्यो, ‘प्रजातन्त्रवादी प्राध्यापक संघ र नेपाल राष्ट्रिय प्राध्यापक संघले राखेका मागहरुमध्ये कारबाहीमा परी बर्खास्त भएका प्राध्यापकको पुनर्बहाली विश्वविद्यालयले गर्न सक्दैन ।’ 

यस्तै सम्पूर्ण आंशिक प्राध्यापकलाई करार तथा करारलाई स्थायी गर्न नसकिने पनि विश्वविद्यालयले जानकारी गराएको छ ।   विश्वविद्यालयमा उपलब्ध दरबन्दी र आवश्यकताअनुसार विश्वविद्यालयबाट क्रमिक रुपमा प्रक्रिया अगाडि बढाउन सकिनेछ’ विश्वविद्यालयले भनेको छ ।

वार्ताद्वारा जायज माग सम्बोधन गर्ने प्रयास गर्दागर्दै पनि आन्दोलनरत पक्षले अटेर गरेको खण्डमा अध्ययनरत समग्र विद्यार्थीहरुको हितलाई मध्यनजर गरी स्थगित भएका सम्पूर्ण परीक्षा सञ्चालन गर्न बाध्य हुने विश्वविद्यालयका उपकुलपति प्रा.डा नन्दबहादुर सिंहले जानकारी गराए । 

यता संयुक्त विद्यार्थी संगठनले भने विश्वविद्यालयले अनलाइन परीक्षा नगरेको खण्डमा आन्दोलनबाट पछि नहट्ने बताएको छ ।  विद्यार्थी नेतृ तिर्सना हमालले रातोपाटीसँग भनिन्,‘हाम्रो माग सम्बोधन नगरेको खण्डमा हामी कुनै हालतमा पछाडि हट्दैनौँ ।’ संयुक्त विद्यार्थी संगठनले बुधबारदेखि रिले अनशन शुरु गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप