शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा औद्योगिक क्षेत्रका १ हजार उद्योगी र मजदूरलाई खोप

शुक्रबार, २९ साउन २०७८, १८ : २६
शुक्रबार, २९ साउन २०७८

पोखरास्थित रहेको औधोगिक क्षेत्रका उद्यमी व्यवसायी र मजदुरलाई औपचारिक रुपमा कोभिड–१९ विरुद्धको खोप लगाउने अभियान सुरु भएको छ । उद्योगी र मजदुरहरुलाई औधोगिक क्षेत्रभित्र खोप केन्द्रको स्थापना गरी खोप लगाउने अभियान सुरु गरिएको हो । 

शुक्रबार औद्योगिक क्षेत्रमा रहेको खोप केन्द्रको निरीक्षणमा पुगेका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा र कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले वस्तुस्थितिको बारेमा समेत जानकारी लिएका थिए । 
सो अवसरमा पर्यटनमन्त्री शर्माले औद्योगिक क्षेत्रमा रहेका सवै व्यवसायी र मजदूरलाई क्रमशः खोप लगाउने बताउँदै व्यवसायको जीवन रक्षा गर्ने दायित्व सरकारको भएकाले प्राथमिकतामा राखेर अभियान चलाएको बताए ।  कानुन मन्त्री विन्दुकुमार थापाले विपत्तिको समयमा उद्योगीहरुले अति आवश्यक खाद्य र अक्सिजन लगायतका सामाग्री उत्पादन गरेर सहयोग गरेको बताए । उनले संकटका सारथी बन्ने उद्योगी तथा व्यवसायीको पीरमर्का राज्यले बुझ्नुपर्ने बताए । 

पोखरा औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष सुरेशबहादुर श्रेष्ठले खोप अभियानको सुरुवात भएकोमा खुसी व्यक्त गर्दै उद्योग क्षेत्रको विकासमा प्रदेश सरकारले थप ध्यान दिनुपर्ने बताए । त्यसैगरी पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष गोकर्ण कार्कीले वर्तमान सरकारले विषयगत रुपमा खोपको व्यवस्थापन गरी उद्योगी व्यवसायी र मजदुरहरुको हौसला बढाएकोमा धन्यवाद व्यक्त गरे ।

प्रदेश सरकारको सहयोगमा औद्योगिक क्षत्रका एक हजार उद्योगी तथा मजदुरहरुलाई शुक्रबार खोप लगाइएको छ । पोखरा औद्योगिक क्षेत्रमा करिव तीन हजारको संख्यामा उद्यमी र मजदुरहरु रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप