शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

रेल्वेमा नियुक्त ज्यालादारी कर्मचारी हटाइयो

आइतबार, २० भदौ २०७८, २१ : ०९
आइतबार, २० भदौ २०७८

नेपाल रेल्वे कम्पनी लिमिटेडमा नियुक्त गरिएका ज्यालादारी कर्मचारी हटाइएको छ । हटाइएका कर्मचारीले भने आन्दोलनको धम्की दिएका छन् । नेपाल रेल्वे कम्पनी लिमिटेड अन्तर्गत ज्यालादारीमा रहेका कर्मचारी अवैधानिक ढंगले नियुक्त गरिएको भन्दै हटाइएको हो । तलब बुझ्ने बाहेक ती कर्मचारीको कुनै काम नभएको भन्दै उनीहरुलाई हाजिर गर्नबाट रोकिएको छ ।

ज्यालादारीमा नियुक्त गरी कानून विपरीत सेवा सुविधा पाउँदै आएका सयौं कर्मचारीलाई नवनियुक्त प्रवन्ध सञ्चालक निरञ्जन कुमार झाले एक सूचना प्रकाशित गर्दै हटाइएको जानकारी दिएका हुन् । झाले रेल सञ्चालनको टुङ्गो नलागेको अवस्थामा नियुक्त गरिएका विभिन्न पदका १५१ जना ज्यालादारी कर्मचारीलाई हटाइएको जानकारी दिए । उनले ज्यालादारीका कर्मचारीलाई आफूखुशी हाजिर नगर्न सूचनासमेत जारी गरेका छन् ।

सूचनामा तत्कालीन व्यवस्थापनबाट ज्यालादारी काममा खटाउने भनिएका कर्मचारीलाई आफुखुशी दैनिक रुपमा हाजिर नगर्न र कामबिना नै त्यस्ता कर्मचारीलाई ज्याला रकम भुक्तानी गर्न कानूनले नमिल्ने प्रस्ट पारिएको छ ।

नेपाल रेल्वे कम्पनीका पूर्व महाप्रबन्धक गुरू भट्टराईले अवैधानिक ढंगले रेल्वेमा आफूखुशी कर्मचारी नियुक्त गरेका थिए । काम नगरे पनि उनको तोक आदेशमा कर्मचारीले ज्याला पाउँदै आएका थिए ।

नवनियुक्त प्रवन्ध सञ्चालक झाले भने, ‘कामै नगरी ज्यालादारीका कर्मचारीले ज्याला पाउने कानूनी प्रावधान नै छैन त्यसैले उनीहरूलाई हटाइएको हो । अब रेल चल्ने निश्चित भएपछि लोकसेवा आयोगको अनुमति लिएरमात्र कर्मचारी भर्ना गरिने छ ।’

यता रेल्वे कम्पनीबाट हटाइएका ज्यालादारी कर्मचारीले प्रवन्ध सञ्चालक झाको विरोध गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । ज्यालादारी कर्मचारीहरुले प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलामार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, नेपाल रेल विभाग र नेपाल रेल्वे कम्पनी लिमिटेडलाई समेत ज्ञापनपत्र बुझाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप