बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

रुकुम पूर्व जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिँदै

शुक्रबार, २५ भदौ २०७८, २१ : ०३
शुक्रबार, २५ भदौ २०७८

रुकुम (पूर्व) जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडानको काम भइरहेको छ । अक्सिजन अभाव पूर्ति गर्ने उद्देश्यले अस्पतालमै प्लान्ट जडान थालिएको हो । अक्सिजन प्लान्ट जडानका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट ७५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । टेन्डरमार्फत ७२ लाख रुपैयाँको लागतमा प्लान्ट जडान भइरहेको छ ।

राप्ती सर्जिकल दाङले प्लान्ट जडानको जिम्मा लिएको छ । केही दिनमै जडान कार्य सम्पन्न हुने प्लान्ट जडानको प्राविधिक पक्षको जिम्मा पाएको प्रविधि इन्टरनेशनल आइएनसीका म्यानेजिङ डाइरेक्टर उमेशगोपाल गुरुवाचार्यले बताए । उनका अनुसार विद्युत आपूर्ति सहज भएमा केही दिनभित्रै प्लान्टबाट अक्सिजन उत्पादन सुरु हुनेछ ।

जिल्लामा केन्द्रीय प्रशारण लाइनको विद्युत भए पनि आपूर्ति व्यवस्था भरपर्दो नहुँदा समस्या हुने देखिएको हो । अक्सिजन उत्पादनका लागि ५० किलोवाट विद्युत आवश्यक पर्ने बताइएको छ । विद्युत आपूर्ति सहज भएमा उक्त प्लान्टबाट दैनिक ४० लिटरका ३० देखि ३२ वटा सिलिन्डर भर्न सकिने रुकुम पूर्व अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर गणेश चौधरीले बताए ।

अव जिल्लामा अक्सिजनको अभाव नहुने डाक्टर चौधरीको भनाइ छ । यसअघि कोरोना संक्रमितको संख्या उत्कर्षमा पुगेको बेला अक्सिजनको अभाव भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप