गगनको घर अगाडि भेटिएको गाडी नछोड्न कांग्रेस समर्थकको दबाब
सारांश
- कांग्रेस समर्थकहरूले गगन थापाको घरअगाडि पार्किङ गरिएको शंकास्पद गाडी अनुसन्धान गर्न माग गरेका छन् ।
- ट्राफिक प्रहरीले चारवटा गाडीलाई जरिवाना गरेर छाडे पनि थापाको घरअगाडिको गाडी भने प्रहरी कार्यालयमा राखिएको छ ।
- सञ्चार माध्यमको गेटमा अनधिकृत रूपमा पार्किङ गरिएका गाडीहरू एउटै समूहले सञ्चालन गरेको आशंका गरिएको छ ।
काठमाडौँ । सञ्चार माध्यमको गेटमा शङ्कास्पद रूपमा पार्किङ गरिएका गाडीहरू ट्राफिक प्रहरीले चिट काटेर जिम्मा लगाएको छ । सोमबार साँझ ४ वटा सवारीसाधन चालकलाई जिम्मा लगाए पनि कांग्रेस सभापति गगन थापाको घर अगाडि पार्किङ गरेको गाडीचाहिँ प्रहरीले जिम्मा लगाउन सकेको छैन ।
कांग्रेस समर्थकहरूले सोमबार साँझ रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुगेर गाडीबारे सोधखोज गर्दै अनुसन्धान गर्न माग गरे । सवारी धनीलाई बोलाएर बेवारिसे अवस्थामा गाडी छाड्नुको कारण यकिन गर्न माग गरेपछि थापाको घरको गेटमा पार्किङ गरिएको बीएसी ९५७५ नम्बरको गाडी अहिले ट्राफिक प्रहरी कार्यालयमै राखिएको छ ।
क्रेन प्रयोग गरेर हटाइएको सो गाडीको नम्बर इम्बोस्ड हो । पुरानो नम्बर बा.२० च ६५६४ बाट परिवर्तन गरेर इम्बोस्ड जडान गरेको भेटिएको छ ।
बाबा विश्वकर्मा ट्रेडर्सको नामबाट सो गाडी काठमाडौँ घर भएका कुमार प्रसाद अर्यालको नाममा नामसारी भएको भेटिएको छ । मंगलबार बिहान पनि चालक सो गाडी लिन ट्राफिक प्रहरी कार्यालयमा पुगेका थिए । ट्राफिक प्रहरी कार्यालयमा आफ्नो विवरण दिन अस्वीकार गर्दै उनले भनेका छन्, ‘म अर्कै कामले आएको हुँ । गाडी दिए लान्छु, नत्र केही छैन ।’
कांग्रेस समर्थकले प्रश्न उठाएपछि सो गाडी अहिले पनि ट्राफिक प्रहरी कार्यालयकै पार्किङमा राखिएको छ । अनधिकृत पार्किङ गरिएका चार वटा सवारी चिट काटेर छोडेको तर, एउटा गाडीचाहिँ जिम्मा लगाउने प्रक्रियामा रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृतले भने, ‘गगन थापाको घर अगाडिबाट उठाएको डस्टर गाडी जिम्मा लगाउन समस्या भइरहेको छ ।’
कान्तिपुर पब्लिकेशन, अनलाइन खबर, हिमालय टेलिभिजन र भाटभटेनी सुपर मार्केट अगाडि पार्किङ गरिएको सवारीसाधन चिट काटेर सम्बन्धित धनीको जिम्मा लगाइएको छ । उपत्यका ट्राफिक प्र्रहरी कार्यालयले त्यसरी अनधिकृत रूपमा किन पार्किङ गरिएको थियो भन्नेबारे छानबिन गरेको छैन ।
अनधिकृत रूपमा पार्किङ गरेको सवारीसाधनलाई यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ अनुसार ५ सय देखि १५ सय रुपैयाँसम्म जरिबाना गरेर छाडिएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी सुरेश काफ्लेले अरुलाई बाधा पुग्नेगरी सार्वजनिक स्थलमा सवारी पार्किङ गरेका कसुरमा जरिबाना गरेर छाडिएको बताए ।
अनधिकृत पार्किङ गर्नुको कारणबारे किन अनुसन्धान भएन् भन्ने प्रश्नमा काफ्ले भन्छन्, ‘अनुसन्धान गर्ने कार्यक्षेत्र हाम्रो होइन, त्यसबारे काठमाडौँ प्रहरीले गरिरहेको होला ।’
सञ्चारमाध्यमको गेटमा शङ्कास्पद रुपमा सवारीसाधन पार्किङ गरेको घटनाबारे नेपाल पत्रकार महासंघ लगायतका संघसंस्थाले अनुसन्धान गर्न माग गरेका छन् । प्रारम्भिक अनुसन्धानमा सुरक्षा थ्रेट नदेखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए । उनले भने, ‘सुरक्षाको इस्यु नदेखिएपछि हामीले त्यसबारे कारबाही गर्न उपत्यका ट्राफिक प्रहरीलाई भनेका हौँ ।’
- परिचालन गर्ने एउटै समूह
सञ्चार माध्यमको गेटमा अनधिकृत रुपमा पार्किङ गरिएको गाडीहरू एउटै समूहले परिचालन गरेको आशङ्का गरिएको छ । प्रहरी स्रोतका अनुसार गाडी भाडामा दिने कम्पनीबाट झिकाएर केही गाडी अनधिकृत रूपमा पार्किङ गरिएको थियो । गाडी परिचालन गर्ने नेतृत्व सत्ता पक्षकै निकट रहेकाहरूले गरेको आशङ्का गरिएको छ । प्रहरी स्रोतका अनुसार निरोज खड्का नाम गरेका व्यक्तिले अनधिकृत पार्किङको नेतृत्व गरेका थिए । सुरक्षा अधिकृतहरूले खड्काको पूरा विवरण खुलाउन अस्वीकार गरेका छन् ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अधिकृतहरूले गाडीको ब्लुबुक समेत नहेरीकन चालकको लाइसेन्स हेरेर ती गाडीहरूलाई चिट काटेका थिए । सवारी धनीको पृष्ठभूमि पनि नहेरिएको ट्राफिक प्रहरी कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
भाटभटेनी सुपर मार्केटमा अनधिकृत रूपमा पार्किङ गरिएको बागमती प्रदेश–०१–०३३ च ४२७५ नम्बरको हुण्डाई क्रेटा गाडी निराजन पराजुलीले जिम्मा लिएका थिए । उनको पृष्ठभूमि खुलेको छैन ।
अनलाइन खबरको गेटमा राखिएको बा १२ च ८५४५ नम्बरको कार सुनिल पौडेलको नाममा रहेको भेटिएको छ । पौडेलले काठमाडौँको गोकर्णेश्वर नगरपालिका–९ स्थित भगवतीस्थानमा आँखा क्लिनिक सञ्चालन गरेका छन् ।
कान्तिपुर पब्लिकेशनमा पार्किङ गरिएको बागमती प्रदेश–०१–०३४ च ८४८० नम्बरको जिप सानिमा बैंकको नाममा देखिएको छ । बैंकबाट ऋण लिएर एसटी मोटर्समार्फत सो गाडी रवि जयसवालले खरिद गरेका थिए । जयसवाल रौतहटको गरुडा नगरपालिकाका मेयर कन्थमणि प्रसाद जयसवालका छोरा हुन् ।
हिमालय टेलिभिजनको गेटमा पार्किङ गरेर छाडिएको बा १० च १२५५ नम्बरको कार धुम्बाराहीस्थित डीआर अटो मोटिभ्सको नाममा दर्ता रहेको यातायात व्यवस्था विभागको रेकर्डमा देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
महत्त्वपूर्ण क्षेप्यास्त्र भण्डार अभावको जोखिममा अमेरिका
-
बालेनसँगकाे छलफलदेखि उठेका विभिन्न प्रश्नबारे रवि लामिछानेले के भने ?
-
अभिषेक गिरीको दादागिरीः कन्स्ट्रक्सनको टिप्पर र स्काभेटर कवाडीमा बेचे, बुढानिलकण्ठको घर कब्जा
-
सरकारले गम्भीर मुद्दाबाट ध्यान मोड्न खोज्यो : कांग्रेस सचेतक राई
-
पर्यटक लोभ्याउने ‘ठूली दह’
-
आफ्नो राहदानी आफैँसँग राख्न मलेसियामा रहेका नेपालीलाई दूतावासको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण