बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

देखिने शासक असफल भएपछि ‘डिप स्टेट’ सक्रिय भयो : सुवेदी

बुधबार, ३१ असार २०८३, १४ : ३८
बुधबार, ३१ असार २०८३

सारांश

  • राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदीले सरकार नागरिकका समस्या समाधानमा पूर्ण रूपमा असफल भएको आरोप लगाएका छन्।
  • नेता सुवेदीले सञ्चारगृहमाथिको अवरोध, नागरिकको आत्मदाह र सुकुम्वासी समस्या समाधानमा सरकार असफल भएको बताएका हुन्।
  • उनले देखिने शासक असफल भएपछि नदेखिने शासक अर्थात् ‘डिप स्टेट’ सक्रिय भएको आभास भइरहेको बताएका छन्।

काठमाडौँ। राष्ट्रिय सभामा नेपाली कम्युनिष्ट पार्टीका संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले सरकार नागरिकका समस्या समाधानमा पूर्ण रूपमा असफल भएको आरोप लगाएका छन्। 

सभाको बुधवारको बैठकमा बोल्दै नेता सुवेदीले सञ्चारगृहमाथिको अवरोध, नागरिकको आत्मदाह र सुकुम्वासी समस्या समाधानमा सरकार असफल भएको बताएका हुन्।

असार २९ गते कान्तिपुर मिडिया हाउस, अनलाइन खबर र हिमालय टेलिभिजनका साथै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको निवास अगाडि शंकास्पद रूपमा सवारी साधन पार्किङ गरी अवरोध पुर्‍याइएको घटनाप्रति सुवेदीले आपत्ति जनाए। यस कार्यलाई पञ्चायतकालीन ‘मण्डले’ प्रवृत्ति र ‘भूमिगत गिरोह’ को सक्रियतासँग तुलना गर्दै उनले यसलाई प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप र मनोवैज्ञानिक आतंकको संज्ञा दिए। 

यस्ता गम्भीर घटनामा संलग्नलाई सामान्य जरिवाना मात्र गरेर छोडिएको भन्दै उनले सरकारको कामकारबाहीमाथि प्रश्न उठाए। असार २५ गते मुगुका गणेश नेपालीले काठमाडौँको त्रिपुरेश्वरमा गरेको आत्मदाहको घटनालाई सुवेदीले राज्यको असफलताको संकेतका रूपमा चित्रण गरे।

बैठकमा नेता सुवेदीले सञ्चार गृहमाथि भएको अवरोध र नागरिकको निराशाबारे धारणा राख्दै भने, ‘सञ्चार गृहको मूल प्रवेशद्वारमा सवारी साधन छाडेर सञ्चारकर्मीलाई त्रसित बनाउन खोजिएको छ। देखिने शासक असफल भएपछि नदेखिने शासक अर्थात् ‘डिप स्टेट’ सक्रिय भएको आभास भइरहेको छ।’ 

नागरिकले आत्महत्या र आत्मदाह गर्नुपर्ने स्थितिको चर्चा गर्दै उनले थपे, ‘तपाईंको शासनमा गणेश नेपाली र विवेक मण्डलहरूले किन शरीरमा आगो लगाउनुपर्ने? के यही हो सुशासन?’ कानुन कार्यान्वयन गर्दा मानवतालाई पनि जीवित राख्न जरुरी रहेको उनको भनाइ छ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ लक्षित गर्दै सुवेदीले सुशासनको नारा दिएर आएको दल सरकारमा हुँदा पनि गरिब र श्रमजीवी वर्गले सास्ती भोग्नुपरेको टिप्पणी गरे। सडकमा दुई मिनेट गाडी रोकिँदा सर्वसाधारणले आत्मदाह गर्नुपर्ने तर शक्तिमा हुनेहरूको गाडी रोकिँदा ‘सिंहदरबार जलाउने’ धम्की आउने विभेदपूर्ण अवस्थाको उनले कडा विरोध गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप