नदी कटानले विद्यालय र उपल्लो तातोपानी बजार उच्च जोखिममा

गत जेठ महिनायता पटकपटक म्याग्दी नदीमा आएको बाढीको कटानले म्याग्दीको बेनी नगरपालिका–४ स्थित उपल्लो तातोपानी बजार र विद्यालय उच्च जोखिममा परेका छन् । साथै खेतीयोग्य जमिन पनि नष्ट भएको छ । बाढीले बेनी–४ को मसार, तातोपानीको उपल्लो बजार र सरस्वती मावि उच्च जोखिममा परेका हुन् ।
बस्ती नै जोखिममा परेपछि आफन्तको घरमा आश्रय लिन बाध्य भएको पीडित दिनेश केसीले बताए । मसार बस्ती नै उच्च जोखिममा परेपछि घर छाड्न बाध्य भएको उनले दुखेसो पोखे । यस्तै स्थानीयवासीको करिब १६ रोपनी बढी खेतीयोग्य जमिन बगाएको छ । नदीले धार परिवर्तन गरेर बस्ती कटान गर्न थालेपछि स्थानीयवासी त्रासमा बस्न बाध्य भएको स्थानीयवासी टेकबहादुर फगामीले बताए ।
गत जेठ ३१, असार १, साउन २३ र भदौ ७ गते भएको अविरल वर्षाका कारण म्याग्दी नदीमा आएको बाढीको कटानले विद्यालयको खाजाघरसमेत बगाएको छ । विद्यालयको चारकोठे भवन र शौचालय उच्च जोखिममा परेका छन् भने त्यस नजिकै रहेका बस्ती र आमा समूहको भवनसमेत जोखिममा छन् ।
वर्षात्का कारण नदी कटानको जोखिम नरोकिएकाले त्रासमा पठनपाठन सञ्चालन गर्नुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक सुरत बानियाँले बताए । उनले बस्ती र विद्यालय संरक्षणका लागि वडा कार्यालय तथा नगरपालिकालाई जानकारी गराएपछि डिपिआरको काम भइरहेको जानकारी दिए ।
बेनी–४ का वडाध्यक्ष गोविन्दप्रसाद पौडेलका अनुसार बाढीको कटानले उच्च जोखिममा रहेका मसार बस्तीका १४ घरमध्ये आठ घर विस्थापित भएका छन् । विस्थापित परिवारलाई आफन्तकामा स्थानान्तरण गरिएको छ । प्रभावित बस्तीमा तत्काल नगरपालिकाले प्रतिपरिवार रु १५ हजार, जिल्लास्थित नेपाली कांग्रेस र एमालेलगायत विभिन्न सङ्घसंस्थाले राहत उपलब्ध गराएको वडाध्यक्ष पौडेलले बताए ।
बस्ती संरक्षणका लागि नगरपालिकाले पोखराबाट प्राविधिक ल्याएर डिपिआरको काम भइरहेको छ । वडाध्यक्ष पौडेलका अनुसार डिपिआर तयार भएपछि रुपाताल संरक्षण समिति र प्रदेश सरकारलाई पठाइने योजना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमाल जोगाउने सत्प्रयास : सगरमाथा संवाद
-
युक्रेनको पक्षमा लडिरहेका एक अस्ट्रेलियाली नागरिकलाई १३ वर्षको जेल सजाय
-
ढल्केबरको ढुङ्गो र अन्तरेहरू
-
सैद्धान्तिक रूपमा नेपालका कम्युनिष्टबिच एकता हुनुपर्छ भन्नेमा म प्रष्ट छु : नारायणकाजी श्रेष्ठ
-
योजनाबद्ध विकासमा केन्द्रित छौँ : मुख्यमन्त्री आचार्य
-
रुस-युक्रेन वार्ता : युद्धबन्दी रिहा गर्ने सहमत, युद्धविरामबारे थप छलफल गरिने