७० वर्ष देखाएँ, अब कठिन दिन नआउला : ओली
प्रथम विधान महाधिवेशनबाट पार्टीको नयाँ नीति र कार्यदिशा तय गरेको नेकपा एमालेको आगामी कार्यभार के होला ? यसबारे अध्यक्ष केपी शर्मा ओलीले आइतबार गोदावरीमा समापन मन्तव्य दिँदै तीनवटै चुनाव जित्नैपर्ने एमालेको आगामी कार्यभार रहेको बताए ।
विधान महाधिवेशनमा एक घण्टा लामो समापन मन्तव्य प्रस्तुत गर्दै एमाले अध्यक्ष ओलीले भने, ‘नेकपा एमालेलाई बहुमतमा पु-याएर, यस्तो–उस्तो कुनै मधु–कैटपले हल्लाउन नसक्ने खालको सुदृढ स्थितिमा पु-याइनेछ ।सम्बोधनका क्रममा अध्यक्ष ओलीले एमालेको आगामी कार्यभार, गठबन्धन सरकारप्रतिको धारणा र पार्टी नेतृत्वका सन्दर्भमा बोलेका कुराहरूको सारांश यहाँ प्रस्तुत गरिएको छ–
चुनाव जित्नैपर्नेछ
हामीले अब स्थानीय तहको निर्वाचन जित्नैपर्ने छ । संघीय र प्रदेश तहका निर्वाचन जित्नुपर्नेछ र त्यहाँ हामीले अत्यधिक सफलता प्राप्त गर्नुपर्नेछ । सकेसम्म सबै प्रदेश सरकार र केन्द्रीय सरकारमा हामीले फेरि आफ्नो वर्चश्व जमाउनुपर्नेछ । एमालेको बहुमतको सुदृढ संघीय सरकार बनाउनुपर्नेछ ।
यो किन ? किनकि देशको विकास गर्नुपर्नेछ । गरिबी हटाउनुपर्नेछ । कृषिको आधुनिकीकरण गर्नुपर्ने छ । पर्यटन ध्वस्त भएको छ, पर्यटनलाई उठाउनुपर्नेछ । उद्योगहरू स्थापना गर्दै विभिन्न क्षेत्रमा हामीले औद्योगिक क्षेत्रहरू स्थापना गरेका छौँ, ती औद्योगिक क्षेत्रहरूमा उद्योगहरू स्थापना गर्नुपर्नेछ । हाम्रो आफ्नो पुँजी अधिकतम परिचालन गर्नुपर्नेछ । हाम्रा आफ्ना जनतालाई शिक्षा र सीप उपलब्ध गराएर रोजगारीमूलक र उत्पादकत्व वृद्धि गराउनुपर्नेछ । हाम्रो देशलाई अल्प विकसितबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने भनेर सिफारिस गराएका छौँ । त्यसलाई सहज ढङ्गले स्तरोन्नति गराउनुपर्नेछ । र, सन् २०३० भित्र दिगो विकास लक्ष्य हामीले भेट्नुपर्नेछ । दिगो विकास एउटा उद्देश्य हो, त्यसभित्र १७ वटा १७ वटा लक्ष्यहरू र ६९ वटा उप–लक्ष्यहरू छन् । सहयोगी लक्ष्यहरू छन् । ती लक्ष्यहरू समेत हामीले प्राप्त गर्नुपर्नेछ ।
यो भनेको शिक्षाको क्षेत्र, स्वास्थ्यको क्षेत्र, व्यापारको क्षेत्र, मानव विकास सूचकाङ्कका अनेक क्षेत्र, सामाजिक जागरणका क्षेत्र, महिला उत्थानका क्षेत्र, पछाडि परेको समुदायलाई अगाडि ल्याउने क्षेत्र । यी सबै कार्यभारहरू हाम्रा अगाडि छन् ।
हामी सुनिरहेका छौँ, अहिले नेकपा एमालेविरुद्धको आक्रमण भर्खरै हिजो मात्रै पनि, दुई दिनअघिमात्रै पनि, हामी सुनिरहेका छौँ । ०६४ को जस्तै जसरी हुन्छ, कब्जा गरेर, मतपत्र च्यातेर, बत्ती निभाएर हुन्छ कि जित्नुप-यो भनेर कतिपयले भनिरहेका थिए ।
हामीले मतपत्र च्यात्न दिने स्थिति बनाउन हुँदैन । हामीले बत्ती निभाउने कुरालाई बन्द गर्नुपर्दछ । वैकल्पिक व्यवस्था गर्नुपर्छ । कहीँ पनि हामी अन्यायका अगाडि झुक्दैनौँ । अन्याय गर्दैनौँ, अन्यायका अगाडि झुक्दैनौँ । धाँधली गर्दैनौँ, धाँधलीका अगाडि झुक्दैनौँ । गुण्डागर्दी गर्दैनौँ, गुण्डागर्दी गरेर कसैले जित्छु भन्ठान्छ भने त्यो कल्पना नगरे हुन्छ भन्ने बताइदिनुपर्छ । त्यसको तयारी एमालेले गर्नेछ । यी कामहरूमा जुट्न अब हामी अगाडि जानुपर्नेछ ।
यी कार्यभारहरूलाई ध्यानमा राखेर हामी अगाडि बढ्नुपर्नेछ । तदाअनुसार नै आदरणीय कमरेडहरूले दिनुभएका सुझावहरूलाई मनन गरिएको छ । अहिले मैले भनेका कुराहरूमा पनि यहाँहरूले भनेका कुराहरू मनन गरेको स्पष्ट हुन्छ ।
संगठनात्मक प्रस्तावका सम्बन्धमा कमरेड महासचिवले जुन कुराहरू ब्रिफिङ गर्नुभएको छ । त्यसले पनि ती कुराहरू प्रकट गरेको छ । त्यसै गरेर विधान सम्बन्धी प्रश्न, संगठन विभाग प्रमुख, उपमहासचिव ज्युले जुन विश्लेषणहरू र निष्कर्षहरू सुनाउनुभएको छ । त्यसले पनि स्पष्ट पारेको छ । यी कुराहरूलाई समावेश गरेर नै हामी अन्तिम रूपमा दस्ताबेजहरू प्रस्तुत गर्नेछौँ । मङ्सिर ११ र १२ गते तय गरिएको दसौँ राष्ट्रिय महाधिवेशनतर्फ अघि बढ्नेछौँ ।
यसबीचमा हामीले विभिन्न तहका अधिवेशनहरू गर्नुपर्नेछ । जिल्ला अधिवेशनहरू पनि विलम्ब गर्नुपर्ने जरुरी छैन, जिल्ला अधिवेशनमा विलम्ब ग-यो भने स्थानीय तहको निर्वाचनलाई प्रतिकुल असर पर्न सक्छ, त्यस कारण अब विलम्ब नगरी सबै अधिवेशनहरू गरौँ । संगठनात्मक रूपले हामी चुस्त, दुरुस्त, स्पष्ट र एकताबद्ध भएर कुन कुन तहले के के काम गरेर कुन कुन तह कसरी जित्नुपर्ने हो, ती कुराहरू तय गरेर उम्मेदवार छनोटका कामहरू गरेर, प्रतिस्पर्धीसँगका प्रतिस्पर्धाको ढाँचा कस्तो हुन्छ, त्यसलाई हेरेर अघि बढ्नुपर्नेछ ।
यो सरकारलाई खानको धन्दा !
हामीलाई समर्थन दिनुस् र साथ दिनुस्, भोट दिनुस् यसकारण हामी सर्वसाधारणलाई भन्छौं, किनकि हामीबाहेक उहाँहरुको दुःख कष्ट, अशिक्षा हटाउने र समृद्धि दिने अरु कोही छैन । प्रमाण त, हामीले सय दिनमा के काम ग-यौँ भनेर देखाएका छौँ । मेरो सरकार बनेको एक महिनामा मैले सम्बोधन गर्दा त्यस अवधिमा के काम ग-यौँ भनेर देखाएका थियौँ, अहिले अढाई महिनामा सरकार पनि बन्दैन । देखिहाल्नुभयो । आफ्ना निम्ति, आफ्ना निम्ति, आफ्ना निम्ति । हामीले गरिब सुकुम्वासी र भूमिहीनका लागि भनेर आयोग बनायौँ । ठिक्क अहिले धनीपुर्जा दिने, जमिनको समस्या समाधान गर्ने बाटोमा लाग्ने बेलामा आयोग भङ्ग भयो । हामी सरकारबाट हट्यौँ, सुकुम्बासीका सपना खेर गए । हामी सरकारबाट बाहिरियौँ, भूमिहीनका सपना बाहिरिए । हामी सरकारबाट हट्यौँ, सबै कुरा हटे ।
सन् २०२१ भित्र मेलम्चीको बाटो बनाएर हेड सफा गरेर जनवरी पहिलो तारिखमा पानी हामी काठमाडौँमा झार्छौँ भनेर हामीले भनेका थियौँ । उनीहरू सरकारमा आउने बित्तिकै वैशाखमा भने । म दाबाका साथ भन्छु, उनीहरूले वैशाखमा पानी झार्न कुनै हालतमा पनि सम्भव छैन । काम नगरी यसै टुनामुनाले आउँछ, त्यो पानी ।
म अहिलेको सरकारले सुन्ने गरी भन्न चाहन्छु, अहिलेको सरकारले सुनोस् , ठिक छ । वैशाखभित्र काठमाडौँमा पानी झारेर देखाओस् । आफैँले भनेको कुरा उसले, नापेर जोखेर भनेको कुरा उसले । देखाओस् । वैशाखसम्म काठमाडौँमा पानी झारेर देखाओस् । उहाँहरूलाई देखाउने ईख छ भने, यो प्रतिपक्षको मेख मार्ने गरी देखाउने ईख छ भने केपी ओलीले गोदावरीमा गएर यसो भनेको थियो, सक्दैन भनेको थियो, यी झा-यौ पानी भनुन् कमसेकम । त्यति त ग-यौँ, भन्नुपरोस् न मैले । सक्दैनन् म फेरि दोहो-याउँछु ।
अहिलेको सरकार बेहाल अवस्थाको छ । नेपालको आकाशमा विदेशी हेलिकप्टर घुम्यो भन्छन्, हो कि होइन पनि भन्न सक्दैन । हो भने हो भने हुन्छ, होइन भने होइन भने हुन्छ नि । अहिलेसम्म पनि चुप छ । हो कि होइन ।
तुईन काटेर झराएर एउटा नेपालीलाई मराइन्छ, नबोल हैं भनेर पत्रकारलाई सर्कुलर गर्छ । छानबिन समिति बनाउँछ, त्यो समितिले भन्छ ः दुर्घटना भएकै हो, तुईन काटिएकै हो । त्यो लुकाउन लाग्छ । दक्षिणतिर फर्किएर बोल्न पनि सक्दैन । उनीहरूलाई नै भन्ने त परै जाओस् । आफ्ना नागरिकका लागि, आफ्नो देशको हक अधिकारका लागि, आफ्नो न्यायका लागि पनि बोल्न सक्दैन भने कस्तो सरकार होला । कस्तो सरकार होला । अरूलाई अरूको धन्दा, यो सरकारलाई खानको धन्दा । यसको ध्यान अन्त छैन ।
७० वर्षसम्म देखाएँ, अब त्यति कठिन दिन नआउला
मलाई एउटा प्रिय साथीको रूपमा जुन विश्वास तपाईहरुले दिनुभएको छ, त्यो विश्वास अलिकति पनि तल पर्नेछैन । देश हितको विरुद्ध, जनताको हितको विरुद्ध, पार्टी हितको विरुद्ध एउटा पनि कदम मबाट चालिनेछैन । म व्यक्तिको रूपमा होइन, नेकपा एमाले अध्यक्षको रूपमा भन्दैछु, नेकपा एमालेलाई मलाई लाग्छ, बहुमतमा पु-याएर, यस्तो उस्तो कुनै मधु–कैटपले हल्लाउन नसक्ने, कमलको फूल भए हल्लाउँदा रहेछन्, हल्लाउन नसक्ने खालको सुदृढ स्थितिमा पु-याइनेछ ।
त्यस कारण एउटा साथीको रूपमा, तपाईहरुजस्तै पार्टी कार्यकर्ताको रूपमा वा आफ्नो नेता र अभिभावकको रूपमा तपाईहरुले जुन विश्वास गर्नुभएको छ, त्यसमा एक सेन्टिमिटर वा एक सुता तलमाथि पर्नेछैन । यो कुरा मैले आफ्नो आफ्नो सिङ्गो जीवन आन्दोलनप्रति समर्पित गरेर देखाएको छु । ७० वर्षसम्म यति कठिन दिनमा त देखाएँ भने अब सायद त्यति कठिन दिन नआउला ।
आज हाम्रो मूल नारा हुनुपर्छ ः दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गर्ने । जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गर्ने । हाम्रो पार्टी निर्माणको कुरा र समाज निर्माणको कुरा दुबै यस थिमभित्र समेटिएको छ भन्ने लाग्छ । दक्षिणपन्थी अवसरवादले समाज निर्माण हुन दिँदैन, जुझारु र क्रान्तिकारी तरिकाले अगाडि बढ्न दिँदैन । संगठनात्मक अराजकताले पार्टीलाई एक ढिक्का हुन दिँदैन । त्यस कारण यसलाई हामीले परास्त गर्नैपर्छ । जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरेर अगाडि बढ्नुपर्छ ।
हाम्रो पार्टी केका लागि ? हामीले हाम्रो पार्टी ठूलो बनाउने देखाउनका लागि हो र ? हाम्रो पार्टी देशको परिवर्तन गर्नका लागि, जनताको जीवनमा परिवर्तन ल्याउनका लागि हो । यस देशबाट गरिबी, अशिक्षा, पछ्यौटेपन हटाउनका लागि हो । नत्र, जलगैँडाको ज्यानजस्तो ठूलो हुनका लागि मात्रै हो र ! यो कामकाजी पार्टी हो । देश र जनताको सेवक पार्टी हो । सेवककै हिसाबले हामीले देश र जनताका निम्ति काम गर्छौँ । हामीलाई देश बनाउनु छ, त्यसका लागि ठूलो पार्टी चाहियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युतीय पूर्वाधारमा ८० अर्ब लगानी गर्ने सरकारको योजना
-
कतार भ्रमण सकेर स्वदेश फर्किए उपराष्ट्रपति यादव
-
‘शरणार्थी बनाएर बेच्न हिसाबकिताब राखिएको डायरी अदालतमा बुझाएका छौं’
-
बागमतीका एमाले सांसदलाई प्रश्नः सरकारबाट हट्नै लाग्दा फेरि किन राजीनामा होल्ड भयो ?
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
