बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

विद्युतीय पूर्वाधारमा ८० अर्ब लगानी गर्ने सरकारको योजना

बिहीबार, ३२ असार २०८३, २० : ११
बिहीबार, ३२ असार २०८३

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले आगामी आर्थिक वर्षमा विद्युतीय पूर्वाधार विस्तार र स्तरोन्नतिका लागि सरकारले करिब ८० अर्ब रुपैयाँ लगानी गर्ने योजना बनाएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) द्वारा आयोजित कार्यक्रममा उनले अब विद्युत उत्पादनसँगै भरपर्दो प्रसारण, वितरण, आन्तरिक खपत वृद्धि र ऊर्जा व्यापारलाई प्राथमिकतामा राखिएको बताए ।

उनका अनुसार आगामी आर्थिक वर्षभित्र रणनीतिक महत्वका १२ वटा प्रसारण लाइन सम्पन्न गर्ने मन्त्रालयको लक्ष्य छ । चालु आर्थिक वर्षको अन्त्यसम्म ६६ केभी वा सोभन्दा माथिका प्रसारण लाइनको लम्बाइ करिब ७ हजार ४८ सर्किट किलोमिटर पुग्ने र आगामी वर्ष थप ८ सय सर्किट किलोमिटर विस्तार गरिने उनले जानकारी दिए । 

हाल नेपालमा प्रतिव्यक्ति वार्षिक विद्युत खपत करिब ४६० किलोवाट घण्टा रहेकामा आगामी १० वर्षभित्र यसलाई १ हजार ५०० किलोवाट घण्टा पुर्‍याउने लक्ष्य राखिएको उनले बताए । यसका लागि सरकारले 'ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति–२०८३' कार्यान्वयनमा ल्याइसकेको छ । आन्तरिक खपतलाई प्राथमिकता दिँदै बचत भएको विद्युत क्षेत्रीय बजारमा निर्यात गरिने उनले उल्लेख गरे । 

हालै पोखरामा सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकले भारतमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने दीर्घकालीन लक्ष्यका लागि बलियो आधार तयार गरेको उनले स्पष्ट पारे । यसबाट व्यापार घाटा न्यूनीकरण र विदेशी मुद्रा आर्जनमा सहयोग पुग्ने उनको विश्वास छ । 

ऊर्जा क्षेत्रमा संरचनात्मक सुधारका लागि सरकारले पहिलोपटक ऊर्जा व्यापारमा उदारीकरणको नीति लिएको उनले जानकारी दिए । यसअन्तर्गत निजी क्षेत्रले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा विद्युत व्यापार गर्न पाउने कानुनी व्यवस्था र ह्विलिङ चार्जमार्फत निजी लगानीमा प्रसारण लाइन निर्माणको तयारी भइरहेको छ ।

नयाँ विद्युत ऐन ल्याउने प्रक्रिया अन्तिम चरणमा रहेको उल्लेख गर्दै उनले ऊर्जा क्षेत्रको रूपान्तरणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप