शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

ओलीको भिडियो सन्देश : उच्च समझदारीमार्फत महाधिवेशन प्रतिनिधि छान्न आह्वान

शुक्रबार, २६ कात्तिक २०७८, २० : २०
शुक्रबार, २६ कात्तिक २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर १० गते सुरु हुने एमालेको दशौं महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधि उच्च समझदारीमार्फत छनोट गर्न आव्हान गरेका छन् । महाधिवेशन प्रतिनिधि छनोट गर्ने अघिल्लो दिन शुक्रबार साँझ भिडियो सन्देश जारी गर्दै अध्यक्ष ओलीले लोकतन्त्रको उच्चतम विधि प्रतिस्पर्धा मात्रै नभई उच्च समझदारी समेत भएको भन्दै सोही विधि प्रयोग गर्न पार्टी सदस्यहरुलाई आव्हान गरेका हुन् ।

‘चितवनमा आयोजना हुन गइरहेको दशौं राष्ट्रिय महाधिवेशनका लागि भोलि कात्तिक २७ गते देशैभर एकै दिन १९९९ भन्दा बढी प्रतिनिधिहरुको चयन हुँदैछ । हाम्रो पार्टी एउटा लोकतान्त्रिक पार्टी हो । हामी लोकतन्त्रलाई प्रणालीको रुपमा मात्रै होइन प्रक्रिया र पद्धतिका रुपमा पनि बुझ्दछौं’, अध्यक्ष ओलीले भिडियो सन्देशमा भनेका छन्, ‘तदनुसार व्यवहारमा पनि लोकतन्त्रको अभ्यास गर्दछौ । हामी सबैलाई थाहा छ, लोकतान्त्रिक अभ्यास भनेको जिम्मेवारीबोध र अनुशासनसहितको अभ्यास हो ।’ 

साथै अध्यक्ष ओलीले दलहरुभित्र प्रतिस्पर्धा हुने तर त्यो स्वस्थ हुनुपर्ने पनि बताएका छन् । ‘प्रतिस्पर्धामात्रै होइन, समझदारी अझ उन्नतस्तरको समझदारी र सहमति लोकतन्त्रको उच्चस्तरीय अभ्यास हो । दलहरूका बीचमा प्रतिस्पर्धा हुन्छ र त्यो स्वस्थ हुनुपर्छ । दलभित्र आपसी समझदारी सुदृढ एकताको आधार हो । तसर्थ म सम्पूर्ण पार्टी सदस्यहरुलाई उच्च समझदारीका साथ आसन्न दशौं राष्ट्रिय महाधिवेशनका लागि आ–आफ्ना प्रतिनिधि छनौट गर्न हार्दिक आव्हान गर्दछु’, अध्यक्ष ओलीले भनेका छन् । 

उनले दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतामाथि निर्णायक विजय हासिल गरी जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार निर्माण गर्ने ऐतिहासिक अभिभारा पुरा गर्न महाधिवेशन प्रतिनिधि, पार्टी सदस्यका साथै आम दिदिबहिनी तथा दाजुभाइलाई  दशौं महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन आमन्त्रण गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप