शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस महाधिवेशन : सात प्रदेशमा कति भोट ?  (सूचीसहित)

प्रारम्भिक मतदाता ४३१९, बागमतीमा सबैभन्दा बढी
बिहीबार, २३ मङ्सिर २०७८, १५ : ५१
बिहीबार, २३ मङ्सिर २०७८

नेपाली काँग्रेस शुक्रबारदेखि सुरु हुने १४ औँ महाधिवेशनमा होमिएको छ । देशभरबाट महाधिवेशनमा भाग लिन प्रतिनिधिहरू काठमाडौँ आउने क्रम सुरु भइसकेको छ । महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वका लागि काँग्रेसभित्र रस्साकस्सी चर्किँदो छ ।

हालसम्म शेरबहादुर देउवाले अर्को कार्यकालका लागि पुनः सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् भने देउवा पक्षकै उपसभापति विमलेन्द्र निधिले पनि आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । यस्तै रामचन्द्र पौडेल समूह साझा उम्मेदवार तय गर्ने प्रयासमा छ ।

महाधिवेशनमा विचार र एजेण्डामाथि छलफल हुने भन्दा पनि नेतृत्व चयनतर्फ नेताहरूको ध्यान गएको छ । अबको काँग्रेसको नेतृत्व कस्तो चयन होला भन्ने प्रश्न त छँदैछ, काँग्रेसभित्रको गुटगत राजनीति अबको महाधिवेशनपछि कस्तो होला भन्ने प्रश्न पनि उत्तिकै छ ।

नेतृत्व हत्याउने रणनीतिका साथ नेताहरू प्रतिनिधिको हिसाब–किताबमा व्यस्त छन् । सभापतिका आकाङ्क्षी देउवा र पौडेल समूहले आफूहरू नै बहुमतमा रहेको दाबी गरिरहेका छन् ।

काँग्रेसको निर्वाचन समितिले सार्वजनिक गरेको तथ्यांकअनुसार काँग्रेसको सबैभन्दा धेरै भोट बागमतीमा देखिएको छ भने त्यसपछि प्रदेश २ मा धेरै मतदाता रहेका छन् ।

अब काँग्रेसका प्रदेशगत मतदाताको हिसाब–किताबको चर्चा गरौँ ।

प्रदेश एक : ७३३

प्रदेश १ भनेको नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला, विजय कुमार गच्छदार, डा. शेखर कोइराला, ज्ञानेन्द्रबहादुर कार्कीलगायतका हस्तीहरूको गृह प्रदेश हो । यहाँबाट आउने प्रतिनिधिको सङ्ख्या ७३३ छ ।

नेपाली काँग्रेस निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक सूचीअनुसार ताप्लेजुङ र पाँचथरबाट २७–२७ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् । यस्तै इलामबाट ५३, झापाबाट १३२, सङ्खुवासभाबाट २६, तेह्रथुमबाट २७, भोजपुरबाट २६ र धनकुटाबाट २६ जना प्रतिनिधि सहभागी हुनेछन् ।

यस्तै मोरङका ६ निर्वाचन क्षेत्रबाट १५२ जना प्रतिनिधि चयन भएका छन् भने सुनसरीका ४ निर्वाचन क्षेत्रबाट १०५ प्रतिनिधि चयन भएका छन् । सोलुखुम्बुबाट २८, खोटाङबाट २५, ओखलढुङ्गाबाट २७, उदयपुरबाट ५२ जना प्रतिनिधि चयन भएका छन् ।

काँग्रेसको आन्तरिक जीवनमा सबैभन्दा बढी प्रभाव राख्ने कोइराला परिवारको एकछत्र प्रभाव रहेको प्रदेश १ मा यसपटक संस्थापन पक्षले आफ्नो शक्तिशाली उपस्थिति जनाएको छ । संस्थापन पक्षका ७, पौडेल–कोइराला पक्षका ६ र सिटौला पक्षका १ जना जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।

प्रदेश १ का १४  जिल्लामध्ये ७ वटामा देउवा समूह विजयी बनेको छ भने ६ वटामा रामचन्द्र पौडेल–शेखर कोइराला पक्षका सभापति छानिएका छन् । झापामा सिटौला पक्षका सभापति छानिएका छन् ।

प्रदेश अधिवेशन अन्तरगत प्रदेश नम्बर १ मा कृष्णप्रसाद सिटौला पक्षले सभापति जितेको छ । संस्थापन इत्तर पक्षका शेखर कोइरालालगायतले भोट नहाल्दा गुरुराज घिमिरे पराजित भएका थिए भने सिटौला पक्षका उद्धव थापा विजयी भएका थिए । सो प्रदेशमा थापालाई देउवा पक्षको पनि समर्थन रहेको थियो ।

प्रदेश दुई : ७०५

प्रदेश २ बाट नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा ७०५ जना महाधिवेशन प्रतिनिधि सहभागी हुने निश्चित भएको छ ।

प्रदेश २ काँग्रेस सभापतिका उम्मेदवार विमलेन्द्र निधिको गृह जिल्ला समेत हो । निर्वाचन समितिले सार्वजनिक गरेको प्रतिनिधिको प्रारम्भिक सूचीअनुसार सप्तरीका ४ वटा निर्वाचन क्षेत्रबाट १०४ प्रतिनिधि सहभागी हुनेछन् भने सिराहाको ४ निर्वाचन क्षेत्रबाट १०५ प्रतिनिधि सहभागी हुनेछन् ।

धनुषाबाट १०४ जना मतदाताको सहभागिता रहने छ भने  महोत्तरीबाट पनि १०४ जनाकै सहभागिता रहनेछ । यस्तै रौतहटबाट ८१, बाराबाट १०४ र पर्साबाट १०३ जना प्रतिनिधि चयन भएका छन् ।

महोत्तरी क्षेत्र नम्बर ३ तथा सर्लाहीको ४ वटा निर्वाचन क्षेत्रको प्रतिनिधि सूची भने प्राप्त भइनसकेको काँग्रेस निर्वाचन समितिले जनाएको छ । प्रदेश २ मा सुरुदेखि नै विभिन्न जिल्लामा अधिवेशन गर्नेसम्बन्धमा विवाद रहेको थियो भने विवादकै कारण प्रदेश अधिवेशन समेत स्थगित गरिएको छ ।

बागमती प्रदेश : ८७९, काठमाडौँमा २६७

काँग्रेसको महाधिवेशनमा बागमतीबाट सबैभन्दा बढी अर्थात् ८७९ प्रतिनिधिले भाग लिने भएका छन् । प्रदेशका १३ जिल्लाबाट ८७९ जना महाधिवेशन प्रतिनिधिले भाग लिन पाउने भएका हुन् ।

काँग्रेस निर्वाचन समितिले सार्वजनिक गरेको महाधिवेशन प्रतिनिधिले प्रारम्भिक सूचीअनुसार दोलखाबाट २७ जना प्रतिनिधि चयन भएका छन् । यस्तै रामेछापबाट पनि २७, सिन्धुलीबाट ५२, रसुवाबाट पनि २७ जना प्रतिनिधि चयन भएका छन् । रसुवाबाट जनता समाजवादी पार्टी (जसपा) का प्रदेशसभा सदस्य समेत काँग्रेसको महाधिवेशन प्रतिनिधि चयन भएका छन् । उनी खुलातर्फबाट महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।

यसै गरी धादिङबाट ५४, नुवाकोटबाट ५३ प्रतिनिधि चयन हुँदा काठमाडौँबाट २६६ प्रतिनिधि चयन भएका छन् । काठमाडौँका १० निर्वाचन क्षेत्रबाट सो सङ्ख्यामा प्रतिनिधि चयन भएका हुन् । यसै गरी भक्तपुरबाट ५४, ललितपुरबाट ८२ जना प्रतिनिधि चयन भएका छन् । ललितपुरका ३ निर्वाचन क्षेत्रबाट यो सङ्ख्यामा प्रतिनिधि चयन भएका हुन् ।

यसै गरी काभ्रेबाट ५३, सिन्धुपाल्चोक र मकवानपुरबाट बाट ५२–५२ जना प्रतिनिधि चयन हुँदा ७९ जना चितवनबाट चयन भएका छन् ।

बागमती प्रदेशमा भएको प्रदेश अधिवेशनमा देउवा पक्ष विजयी भएको थियो । यसैसाता सम्पन्न अधिवेशनमा देउवा पक्षका इन्द्र बानियाँ सिटौला समूहसमेतको सहयोगमा विजयी भएका थिए ।

काठमाडौँमा कति मतदाता ?

काँग्रेसको केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको प्रारम्भिक सूचीअनुसार काठमाडौँका १० वटै निर्वाचन क्षेत्रबाट मात्रै २६७ जना प्रतिनिधि सहभागी हुने तय भएको छ ।

जसअनुसार क्षेत्र नम्बर १ बाट २७ जना, २ बाट २७, ३ बाट २६ जना, ४ बाट २७ जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् । यस्तै क्षेत्र नम्बर ५ र ६ बाट पनि २७–२७ तथा ७ बाट २६ प्रतिनिधि सहभागी हुनेछन् । यस्तै क्षेत्र नम्बर ८, ९ बाट २७–७ तथा १० बाट २६ जना प्रतिनिधि सहभागी हुने निश्चित भएको छ ।

काठमाडौँमा प्रभावशाली नेता प्रकाशमान सिंहको पकड रहेको छ भने यहाँको महाधिवेशन प्रतिनिधिले समग्र केन्द्रीय निर्वाचनको नतिजामै प्रभाव पार्ने नेताहरू बताउँछन् ।

गण्डकी प्रदेश : ४८०

गण्डकी रामचन्द्र पौडेलको गृह प्रदेश हो । यहाँबाट ४८० जना प्रतिनिधि सहभागी हुँदैछन् । यो प्रदेशको सभापतिमा पनि पौडेल पक्षले नै बाजी मारेको थियो । तुलनात्मकरुपमा सो प्रदेशबाट आउने महाधिवेशन प्रतिनिधिमा पनि पौडेल पक्षमै हावी देखिन्छ ।

काँग्रेस निर्वाचन समितिले सार्वजनिक गरेको प्रतिनिधिहरुको प्रारम्भिक नामावलीअनुसार गोरखाबाट ५३, मनाङबाट २७, लमजुङबाट २८, कास्कीबाड ८०, तनहुँबाट ५४, स्याङ्जाबाट ५३, नवलपुर (बर्दघाट सुस्तापूर्व)बाट  ५२, मुस्ताङबाट २६, म्याग्दीबाट २७, बागलुङबाट ५२, पर्वतबाट २८ प्रतिनिधि सहभागी हुने निश्चित भएको छ ।

लुम्बिनी प्रदेश : ६८३

लुम्बिनी प्रदेशबाट काँग्रेसको १४ औँ महाधिवेशनमा ६८३ प्रतिनिधिले भाग लिनेछन् । काँग्रेस निर्वाचन समितिका अनुसार गुल्मी र पाल्पाबाट ५३–५३ जना सहभागी हुने निश्चित भएको छ । यस्तै अर्घाखाँचीबाट २६, नवलपरासीबाट ५२ र रुपन्देहीका ५ निर्वाचन क्षेत्रबाट गरी कुल १३१ जना प्रतिनिधि सहभागी हुनेछन् । यस्तै कपिलवस्तुबाट ७७ जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् भने रुकुमपूर्वबाट २६, रोल्पाबाट २७, प्युठानबाट २७ जना प्रतिनिधि सहभागी हुनेछन् ।

यसै गरी दाङबाट ७९, बाँकेबाट पनि ७९ तथा बर्दियाबाट ५३ प्रतिनिधि सहभागी हुने निश्चित भएको छ । लुम्बिनी प्रदेशमा गएको प्रदेश निर्वाचनमा पौडेल समूह विजयी भएको थियो भने संस्थापन र इतर पक्षका प्रतिनिधिहरू सराबरी रहेको बताइन्छ ।

कर्णाली प्रदेश : ३१७

कर्णाली प्रदेशबाट नेपाली काँग्रेसको ३१७ जना महाधिवेशन प्रतिनिधि छानिएका छन् । काँग्रेस निर्वाचन समितिले सार्वजनिक गरेको प्रतिनिधिको प्रारम्भिक सूचीअनुसार रुकुम पश्चिमबाट २७, सल्यानबाट २७, डोल्पाबाट २४, मुगुबाट २७, कालिकोटबाट २७, हुम्लाबाट २६, जाजरकोटबाट २७, दैलेखबाट ५४, सुर्खेतबाट ५२ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् । यसैसाता सम्पन्न काँग्रेस कर्णाली प्रदेशको अधिवेशनमा देउवा पक्ष विजयी भएको थियो ।

सुदूरपश्चिम प्रदेश : ४१९

सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको गृह प्रदेश हो । यो प्रदेशबाट महाधिवेशनमा ४१९ जना प्रतिनिधि मतदाताका रूपमा काठमाडौँ आउने भएका छन् ।

यो प्रदेशमा रमेश लेखक, एनपी साउदजस्ता हस्तीसमेतको प्रभावका कारण देउवा पक्ष नै हावी रहेको बताइन्छ । उसो त अघिल्लो साता भएको प्रदेश अधिवेशनमा देउवा पक्षले नै नेतृत्वसहितको पदाधिकारीमा क्लिन स्वीप गरेको थियो ।

निर्वाचन समितिका अनुसार कञ्चनपुरबाट ७९ जना महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन् । यस्तै देउवाको गृह जिल्ला डडेलधुराबाट २६ जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् । जसमा देउवाको नाम समेत समावेश छ । केन्द्रीय समितिका सबै पदाधिकारी स्वतः महाधिवेशन प्रतिनिधि हुने भएपनि देउवा भने डडेलधुराबाटै अनुमोदित भएर आएका हुन् ।

यस्तै बैतडीबाट २७, दार्चुलाबाट २७ सहभागी हुने निश्चित भएको छ भने कैलालीका ५ निर्वाचन क्षेत्रबाट १३० जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् । यस्तै डोटीबाट २६, बझाङबाट २६, अछामबाट ५२, बाजुराबाट २६ प्रतिनिधि सहभागी हुनेछन् । 

निर्वाचन समितिको सूचीअनुसार देशभरिबाट कुल ४ हजार ३१९ प्रतिनिधिको सूची प्रकाशित गरिएको छ । यसमा केही प्रतिनिधि थप हुने बताइएको छ ।

काँग्रेसका महाधिवेशन प्रतिनिधि ?

प्रदेश एक : ७३३

प्रदेश दुई : ७०५

बागमती : ८७९

गण्डकी : ४८०

लुम्बिनी : ६८३

कर्णाली : ३१७

सुदूरपश्चिम : ४१९

कुल मतदाता ४२१६

(नोटः यसमा केही सङ्ख्या थपिन सक्ने निर्वाचन समितिले जनाएको छ ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप