आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा एकै दिन एक लाख छ हजारमा कोरोना संक्रमण

बिहीबार, ०८ पुस २०७८, ०७ : ०९
बिहीबार, ०८ पुस २०७८

बेलायतमा दैनिक कोरोना संक्रमित संख्या बढ्दै गएको छ । बुधबार एकै दिन पहिलो पटक महामारीयताकै सबैभन्दा बढी एक लाख छ हजार १२२ जना नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जनाएको छ ।  यससंगै बेलायतमा कोरोना संक्रमितको संख्या एक करोड १६ लाख ४७ हजार ४७३ पुगेको छ ।

नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ को संक्रमण बढेपछि बेलायतमा हाल संक्रमण दर निकै तीव्र रुपमा फैलिएको छ । संक्रमण दर उच्च रहेपनि कोरोना संक्रमणका कारण हुने मृत्युमा भने वृद्धि भएको छैन । यसैगरी अस्पताल भर्ना हुनेको संख्यामा पनि खासै परिवर्तन भएको छैन । यसअघि कोरोनाको दोस्रो लहरका बेला अस्पताल भर्ना हुनेको संख्या ३९ हजार नाघेको थियो । तर, अहिले अस्पताल भर्ना हुनेको संख्या पाँच गुणाले कम छ । अहिले बेलायतका अस्पतालमा कोरोनाका भर्ना हुनेको संख्या आठ हजार रहेको छ । संक्रमण दर उच्च रहेपनि यसअघिको डेल्टा भेरिएन्टको तुलनामा ओमिक्रोनले कम असर गरेको र कमै व्यक्तिलाई अस्पताल भर्ना हुनुपरेको प्रारम्भिक अध्ययनले देखाएको छ ।

पछिल्लो २४ घन्टामा बेलायतमा कोरोनाका कारण १४० जनाको ज्यान गएको छ । योसंगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कुल संख्या एक लाख ४७ हजार ५७३ पुगेको छ । कोरोना संक्रमणलाई नियन्त्रण गर्नको लागि सरकारले बुस्टर डोजलाई निकै तीव्रताकासाथ अघि बढाएको छ । दैनिक एक लाख बुस्टर डोज वितरण गर्ने  सरकारले लक्ष्य राखे अनुसार बुधबार नौ लाख ६८ हजार ६६५ डोज खोप वितरण गरेको छ । पछिल्लो एकसाताभित्र ६१ लाख जनालाई बुस्टर डोज दिइएको सरकारी तथ्यांकमा उल्लेख छ ।

बेलायतमा हालसम्म कोरोनाविरुद्धको १२ करोड ९५ लाख ७९ हजार ५६९ डोज खोप वितरण भइसकेको छ । जसमध्ये पाँच करोड १५ लाख ७७ हजार ७८२ जना अर्थात् ८९।७ प्रतिशतले खोपको पहिलो र ४ करोड ७१ लाख ५६ हजार ८९९ जना अर्थात् ८२ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्याङ्कमा उल्लेख छ । यसै गरी ३ करोड ८ लाख ४४ हजार ८८८  अर्थात् ५३।६ प्रतिशतले बुस्टर डोज लगाएका छन् ।

इंग्ल्याण्डमा घट्यो आइसोलेसन अवधि

कोभिड संक्रमण रोक्न इंग्ल्याण्डमा लागू गरिएको ‘सेल्फ आइसोलेशन’ को समयलाई १० दिनबाट ७ दिनमा घटाइएको छ । कोरोना संक्रमित भएको खण्डमा यसअघि १० दिनसम्म सेल्फ आइसोलेसन बस्नुपर्ने नियम थियो ।

नयाँ नियम अनुसार छैटौं र सातौँ दिनमा परीक्षण गर्दा नेगेटिभ रिजल्ट आएमा सातौँ दिनबाट क्वारेन्टाइन अन्त गर्न सकिनेछ । तर, खोपको दुवै मात्रा नलगाएका र कोरोना संक्रमितको सम्पर्कमा रहेकाहरुले भने पूरा दश दिन नै ‘आइसोलेट’ हुनुपर्नेछ ।

स्वास्थ्य विज्ञको सल्लाह अनुसार क्वारेन्टाइन अवधि घटाइएको बेलायती स्वास्थ्यमन्त्री साजिद जाविदले बताएका छन् । ओमिक्रोन संक्रमण तीव्र रुपमा बढेपछि विशेषगरि  स्वास्थ्य तथा रेल क्षेत्रमा कर्मचारीहरुको अभाव हुन थालेपछि यो नयाँ नियम लागू गर्न लागिएको अधिकारीहरुले बताएका छन् ।

नयाँ नियम खोप लगाएकाहरुलाई पनि लागू हुनेछ । तर, कोभिडको लक्षण देखिएको छ भने आइसोलेसन नै बस्नुपर्ने बताइएको छ । आइसोलेसन मुक्त भएकाहरुलाई सिमित व्यक्तिबीच मात्र सम्पर्क गर्न सरकारले आग्रह गरेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप