शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

रुपन्देहीको एमाले अध्यक्षमा केसीको नाम प्रस्ताव, असन्तुष्ट बन्दै घिमिरेले गराए उम्मेदवारी दर्ता

शनिबार, २४ पुस २०७८, १८ : ४८
शनिबार, २४ पुस २०७८

 नेकपा एमाले रुपन्देही जिल्ला समितिको अध्यक्षमा तेजेन्द्र केसीको नाम प्रस्ताव गरिएको छ । पार्टीको नवौं जिल्ला अधिवेशनको बन्द सत्रमा अध्यक्ष मण्डलका अध्यक्ष शिवराज सुवेदीले अध्यक्षमा केसीसहित १५० सदस्यीय जिल्ला समितिको नाम प्रस्ताव गरेका हुन् । उनले केसी नाम प्रस्ताव परेपनि अध्यक्षका आकांक्षी हालका उपाध्यक्ष पुरुषोत्तम घिमिरेले  समेत दाबेदारी प्रस्तुत गरेका छन् । अध्यक्ष मण्डलले केसीको नाममा गरेको प्रस्तावलाई अस्वीकार गर्दै उनले पनि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् ।

अध्यक्ष मण्डलले उपाध्यक्षमा जागेश्वरीदेवी चौधरी,सचिवमा यज्ञ गैरे र उपसचिवमा हितराज पन्थी र चित्रबहादुर कार्कीको नाम प्रस्ताव गरेको छ । पदाधिकारीमा एकाधबाहेक सबै प्रतिनिधिले समर्थन जनाएको एमाले रुपन्देहीका प्रवक्ता मोहन चापागाईँले बताए । घिमिरेले आफूले यसअघि पनि रुपन्देही अध्यक्ष दावी गरेको र केन्द्रीय नेताहरु विष्णु पौडेल, घनश्याम भुषाल, छविलाल  विकलगायतले यो अधिवेशनमा बनाउने बाचा गरेको बताएका छन् । उनले नेताहरुले गरेको बाचाअनुसार आफूले अध्यक्ष पाउनुपर्ने रातोपाटीलाई बताए । उनले भने, ‘सिनियारिटी, काम र पूर्व सहमतिअनुसार मलाई नै अध्यक्ष दिनुपर्ने हुन्छ, नभएमा लोकतान्त्रिक विधि अनुसार चुनाव गर्नुपर्छ ।’

उनी २०४७ सालदेखि एमाले जिल्ला कमिटीमा बसेर काम गरेका  नेता हुन् । एमाले जिल्ला अधिवेशनका लागि ११०६ जना प्रतिनिधि छन् । १५० सदस्यीय जिल्ला कमिटीमा अध्यक्ष,उपाध्यक्ष, सचिव र २ जना उपसचिव गरी ५ जना पदाधिकारी रहने व्यवस्था छ । यदि घिमिरेले उम्मेदवारी फिर्ता नलिएका भोलि बिहान मतदान हुनेछ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप