बाघ नियन्त्रण गर्न खटियो प्राविधिक टोली
बाँकेको राप्तीसोनारी गाउँपालिका क्षेत्रमा आतङ्क मच्चाइरहेको मान्छे खाने बाघ नियन्त्रण गर्न प्राविधिक टोली खटिएको छ । बाघलाई नियन्त्रण गर्नका लागि चितवनबाट प्राविधिक टोली सोमबार बेलुका राप्तीपारि पुगिसकेको डिभिजन वन कार्यालय बाँकेका प्रमुख ददिलाल कँडेलले जानकारी दिए ।
उनका अनुसार उक्त टोलीमा तीनजना प्राविधिक कर्मचारी छन् । बाघलाई नियन्त्रण गर्नका लागि टोली राप्तीसोनारी गाउँपालिकाको फत्तेपुरमा पुगिसकेको छ । फत्तेपुरको मेमानपुरस्थित सबडिभिजन वन कार्यालयमा शिविर खडा गरेर प्राविधिक टोली बाघ नियन्त्रणको काममा खटिएको डिभिजन वन कार्यालय बाँकेका प्रमुख कँडेलको भनाइ छ ।
प्राविधिक टोलीलाई डिभिजन वन कार्यालय र बाँके राष्ट्रिय निकुञ्ज कार्यालयका कर्मचारी, सशस्त्र वनरक्षक तथा नेपाली सेनाले पनि सहयोग गर्नेछन् । बाघको निगरानी गर्न बाँके राष्ट्रिय निकुञ्जले विगत चार दिनदेखि राप्तीपारि क्षेत्रमा दुईवटा हात्तीसहित कर्मचारी तथा सुरक्षाकर्मी परिचालन गरेको छ ।
बाघ नियन्त्रणमा नआउँदा राप्तीपारिका स्थानीय बासिन्दा निकै त्रसित भएका छन् । बाघको आक्रमणबाट शनिबार राप्तीसोनारी–६ फत्तेपुरकी २९ वर्षीया चाँदनी थारू र बिहीबार राप्ती सोनारी–४ पर्सोनाकी ५३ वर्षीया लीला विष्टको मृत्यु भएको थियो ।
बाघको आक्रमणबाट बाँकेमा तीन महिनाभित्र चार जनाको ज्यान गइसकेको छ । यसअघि राप्ती सोनारी–१ गाभर र नरैनापुरमा एक–एक जनाको मृत्यु भएको थियो । बाघले विगत एक हप्तादेखि राप्तीसोनारीको बैजापुर, बिनौना र फत्तेपुरको जङ्गलभित्र मान्छे र पशु चौपायामाथि निरन्तर आक्रमण गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण