ध्रुवे हात्तीको आक्रमणबाट एक सैनिकको मृत्यु
केही वर्षदेखि शान्त देखिएको हिंस्रक जंगली हात्ती ध्रुवेको आक्रमणबाट नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको ध्रुव पोष्टमा शनिबार साँझ करिब ७ बजेको समयमा साइकल गस्तीमा निस्किएका जवानलाई ध्रुवेले आक्रमण गरी कुल्चिएको थियो ।
हात्तीले कुल्चिएपछि घाइते भएका जवानको भरतपुर अस्पतालमा उपचारका क्रममा शनिबार राति ११ः२० बजे मृत्यु भएको हो । निकुञ्जले मृतकको परिवारमा मानसिक चोट पुग्न सक्ने भन्दै पहिचान खुलाएको छैन ।
साइकलमा गस्ती गइरहेका बेला ध्रुवेले आक्रमण गर्दा उपचारका क्रममा जवानको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । ‘निकुञ्जको कोर इलाका ध्रुव क्षेत्रमा अचानक आएर हात्तीले आक्रमण गरेको हो’, उनले भने, ‘उनी खड्ग दलमा अमलदारमा कार्यरत थिए । नामै खुलाउँदा परिवारलाई नराम्रो होला ।’
सेनाको हेडक्वार्टरबाटै नाम खुलाउने भन्ने भएर अहिले मृतकको नाम नखुलाइएको उनले बताए ।
‘ध्रुवेले अघिल्लो दिन पनि त्यता बबाल मच्चाइरहेको थियो । गाउँमा निस्किएर पोल ढाल्ने, धान तान्ने गरेको थियो’, निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले भने, ‘साँझपख निकुञ्जको नाकामा कुर्न जाँदा खेरी हात्तीसँग झम्काभेट भएछ । हात्तीले ढाडमा कुचेछ ।’ हात्तीले कुल्चिएपछि जवानको ढाड भाँचिएको थियो ।
ध्रुवेले पाँच वर्षअघि नेपाल र भारतका विभिन्न स्थानमा १५ जनाको ज्यान लिएको थियो । ध्रुवे आक्रामक बन्न थालेपछि निकुञ्ज नजिक बस्ती भएका र निकुञ्जको बाटो भएर भरतपुर माडी आवतजावत गर्ने नागरिकमा त्रास बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण