सर्लाहीमा व्यापारीलाई गोली हान्न सुपारी, आरोपी पक्राउ गर्न प्रहरीले आनाकानी गरेको आरोप
सर्लाहीमा व्यवसाय गर्ने अर्जुन रायमाझीलाई गोली हान्न सुपारी दिएको खुलेको छ । बागमती नगरपालिकामा कार्यरत लेखापाल ५० वर्षीय विश्वराज पोखरेलको योजनामा भारतीय सुटरहरूलाई गोली हान्न सुपारी दिएको दाबी गरेर रायमाझीले प्रहरीमा जाहेरी दिएका छन् ।
हरिवन नगरपालिका–११ घर भएका रायमाझीलाई सो बजारको कडरिया चोकमा भारतबाट आएका ३ जना सुटरले गोली हान्ने प्रयास गरेको तर, संयोगले आफू जोगिएको बताएका छन् । ‘टार्गेट मिस’ भएपछि सुटरसँगै आएका एकजना युवाले सो योजनाबारे आफूलाई जानकारी दिएको अर्जुन रायमाझीले रातोपाटीलाई बताए ।
२०७८ असोज २४ मा भारतीय सुटरहरू प्रकाश सिंह, बिटु सिंह, र अरुण कुमार सिंह हरिवन नगरपालिका–११ मा रहेको हरि बहादुर बस्नेतको होटलमा बसेका थिए । होटलमा बसेर निगरानी गरेपछि असोज २५ मा बिहान ५ देखी साढे ७ बजेसम्ममा गोली हान्ने प्रयास गरेको तर, आफू समूहमा चिया खान गएको हुनाले सुटरहरू फर्केको रायमाझीले बताए ।
हरिवन नगरपालिका–९ घर भएका विश्वराज पोखरेलको आग्रहमा बलरा नगरपालिकामा वडा नम्बर–१ घर भई नरहरगञ्ज प्राविका शिक्षक ५० वर्षीय सुरेन्द्र सिंहले भारतबाट सुटर मगाएका थिए । योजना चुहिएपछि रायमाझीले विश्वराज सहित ८ जनालाई विपक्षी बनाएर जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दिएका छन् । पुस २२ मा जिल्ला अदालत सर्लाहीले योजनाकार विश्वराज पोखरेल र सुटर मगाउने बलरा नगरपालिका स्थित सुदामा बस्ने सुरेन्द्र सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । ज्यान मार्ने उद्देश्यले आपराधिक षडयन्त्र गरेको कसुरमा उनीहरूलाई पक्राउ गर्न अदालतले अनुमति दिएको हो ।
आरोपीहरू खुलेआम घुमिरहेका छन् । तर, सर्लाही प्रहरीले उनीहरूलाई पक्राउ गर्न आनाकानी गरेको पीडित पक्षको छ । सुटरसँगै आएका एकजना युवाको भिडियो बयान अनुसार पोखरेलले २५ लाखमा व्यवसायी रायमाझीको हत्या गर्न सुपारी दिएका थिए । सो मध्ये १५ लाख नेपाली रुपैयाँ र दुईओटा पल्सर मोटरसाइकल अग्रिम दिइसकेको ती युवाले भिडियो बयानमा बताएका छन् । साक्षीहरूको घटना विवरण कागज र सिसिटिभी फुजेटबाट पनि असोज २४ मा रायमाझीको घर आसपासमा आरोपीहरूको आवतजावत देखिएको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले रातोपाटीलाई बताए ।
प्रारम्भिक अनुसन्धान सकेर अदालतबाट पक्राउ पुर्जी आए पनि प्रहरीले आरोपीहरूलाई पक्रेर अनुसन्धान गर्न चासो नदेखाएको आरोप छ । आरोपीहरूलाई पक्राउ गर्न अनुमति आएको तर, उनीहरू आफ्नो एरियामा नभएको हुनाले पक्राउ गर्न नसकिएको सर्लाहीका एसपी कृष्ण प्रसाईले बताए । रातोपाटीसँग कुरा गर्दै उनले ‘आरोपीहरू काठमाडौँमा छन्, भन्ने सूचनाको आधारमा काठमाडौँ, भक्तपुर र ललितपुरमा पत्राचार गरेको छु ।’
एसपी प्रसाईले आरोपी आफ्नो एरियामा नभएको जिकिर गरेपनि बागमती नगरपालिकामा कार्यरत लेखापाल विश्वराज पोखरेलले चेक काटिरहेको थाहा भएको छ । घटना शङ्कास्पद भएको तर, चेक काटेको बारेमा आफूलाई थाहा भएको एसपी प्रसाईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोअर इर्खुवा हाइड्रोको आईपीओ प्रत्याभूति सम्झौताकर्तामा नागरिक लगानी कोष
-
रवि लामिछानेविरुद्ध चार दिन म्याद थप
-
संविधान बनेको ९ वर्ष भइसक्दा समेत थारु र मुस्लिम कोटा निजामती ऐनमा आएन : मन्त्री चौधरी
-
मधेस प्रदेश र चीनको युनान प्रान्तबिच भगिनी सम्बन्ध बनाउन सीके राउतको प्रयास
-
हसनको अर्धशतकसँगै चितवनले सुदूरपश्चिमलाई दियो १६५ रनको लक्ष्य
-
पाटन दरबार सङ्ग्रहालयमा नयाँ प्रदर्शनी कक्ष थपिँदै