आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

मेचबहादुरलाई बर्सातको घात

शनिबार, २२ माघ २०७८, १६ : ०२
शनिबार, २२ माघ २०७८

माघमा अचानक परेको झरीले काठमाडौँ उपत्यका वरीपरीका पहाड र हिमाललाई हिउँले सेताम्मे बनायो । हिउँ खेल्ने भन्दै धेरैजना चन्द्रागिरि, दामन, नगरकोट अनि फुल्चोकी तिर लागे । तर मेचबहादुर तामाङ भने मौसमले आफ्नो परिश्रम बेकार बनाइदिएको भन्दै पुर्पुरोमा हात लगाउँदै बसे ।

सिन्धुलीबाट दुःख गर्न सहर छिरेका ६० वर्षका मेचबहादुरले इँटा बनाउन काम गर्न थालेको ७ वर्ष जति भयो । यसअघि उनले काभ्रेको भकुण्डेबेशी, लमजुङ र भक्तपुरको ताथली बसेर इँटा बनाएका उनी अहिले एसके इँटा उद्योगका लागि उनले बनाइरहेका छन् । उनले बनाएका लाखौँ इँटाले धेरैका सुन्दर महल बने । तर, मेचबहादुर भने डेरामै बसेर जिन्दगी चलाउँदैछन् ।

नेपालमा सिजनको काम भनिने चिनिने काँचो इँटा बनाउन कार्य कार्तिकदेखि सुरु भएर वैशाख आधाआधीसम्म चल्छ । मेघबहादुरले पनि  इँटा तयार गरेर सुकाएर राखेका थिए । तर बिहीबार र शुक्रबार रातीसम्म परेको झरीले उनले बनाएर खलोमा सुकाएका १० हजार भन्दा धेरै र चाङ लगाएका २०–२५ हजार इँटामा क्षति पुगेको छ । ‘खलोको त कामनै लाग्दैन, चाङको चाही केही काम लाग्ला कि,’ उनले भने । इँटा उद्योग व्यवसायीहरूले वर्षातको कारण चाङ लगाएको काँचो इँटामा क्षति पुगेमा ६३ प्रतिशत आफूले र ३३ प्रतिशत बनाउनेले नोक्सानी बेहोर्नु पर्ने परिपाटी बसाएका छन् । 

सिजनको बेलामा मेचबहादुरको ६ जनाको परिवारले हाल भक्तपुरको चाँगुनारायण नगरपालिका–९, ताथलीमा बसेर काँचो इँटा बनाउने काम गर्दै आइरहेको छ । झरीले इँटामा क्षति पुर्‍याएपछि आफ्नो परिवारलाई ३० हजार रुपैयाँ नोक्सान हुने पिर उनलाई छ । 

प्रकृतिसँग कसैको केही लाग्दैन । तर, भट्टा मालिकले इँटा छोप्ने प्लास्टिक नदिँदा भने उनको मन खल्लो भएको छ । झरी र बादल अकासमा मडारिदा उनको परिवारलाई मात्र होइन भक्तपुरमा इँटा बनाउने हजारौँ परिवारको मन कालो हुन्छ ।  हिउँ पर्दा हुनेखानेहरूको मन रमाए पनि हुँदा खाने मेचबहादुरको परिवारका जस्तै धेरै नेपालीको मन कालो हुन्छ । 

गत साल भक्तपुरमा इँटा उद्योग बन्द भएपछि उनको परिवारलाई नाइकेले लमजुङमा रहेको एक उद्योगमा लगे । त्यहाँ काम गरेको साहुले आफ्नो दिनु पर्ने एक लाख रुपैयाँ अझै नदिएको मेचबहादुरले गुनासो सुनाए । अर्को तिर ४ वर्ष अगाडी भकुण्डेबेसी इँटा बनाउँदा नाइकेले पनि १ लाख ५० रुपैयाँ उनलाई दिएन । भोलि भोलि भन्दै यतिको समय भइसकेको उनले गुनासो गरे ।

भक्तपुर इँटा व्यवसायी संघका अध्यक्ष नातीभाई हेम्बाका अनुसार दुई दिनको झरीले ८० प्रतिशत भन्दा धेरै काँचो इँटा क्षति पुगेको छ । हेम्बाका अनुसार देशभर रहेका १ हजार ४ सयभन्दा धेरै उद्योगहरूमा झरीको कारणले ठुलो नोक्सानी व्यवर्होनु परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप