शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कमल थापाको राजतन्त्रसँग ‘डिभोर्स’

६५ दिने उकुसमुकुस अन्ततः विस्फोट, अब के गर्लान् कमल थापा ?
मङ्गलबार, २५ माघ २०७८, २२ : ५७
मङ्गलबार, २५ माघ २०७८

०६२/६३ को जनआन्दोलनसँगै पतन भएको राजतन्त्र फेरि स्थापित गर्ने एजेण्डाका साथ राजनीतिमा होमिएका कमल थापा अन्ततः सोही एजेण्डा छाड्ने बिन्दुमा पुगेका छन् । गत मङ्सिर १९ गते सम्पन्न पार्टीको महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएका थापाले आफूलाई हराउन पूर्वराजा ज्ञानेन्द्र शाह (निर्मल निवास) र उनका सहयोगीहरूले भूमिका खेलेको जिकिर गर्दै आएका थिए भने सो सम्बन्धमा पार्टीभित्र छलफल हुनुपर्ने थापाको एक सूत्रीय माग थियो । 

तर, पार्टीमा सो मुद्दामा छलफल हुने अवस्था नदेखिएपछि थापा पार्टी नै छाड्ने निर्णयमा त पुगे नै उनी राजतन्त्र पुनर्स्थापनाको एजेण्डा छाड्ने बिन्दुसम्म पनि पुगेका छन् । थापा अब हिन्दुराष्ट्रको एजेण्डामात्रै बोकेर राजनीतिक अभियानमा हिँड्ने तयारीमा रहेको उनी निकटस्थहरूले बताएका छन् । 

राजतन्त्र पुनर्स्थापनाको एजेण्डा बोकेकै कारण थापाले भरपुर राजनीतिक लाभ हासिल गरे । संविधानसभाको दोस्रो निर्वाचनमा ६०१ सभासदमध्ये २४ सिट जितेका थापाले सोही सांसदको बलमा सत्ताको राम्रो स्वाद चाखे भने शक्तिकेन्द्रमा आफ्नो प्रभुत्व कायम राख्न सफल भए । पार्टीमा सर्वेसर्वा भएका उनको भूमिकालाई लिएर आलोचना गर्ने पद्मसुन्दर लावतीदेखि केशरबहादर विष्ट र दिलविकासराज भण्डारीलगायत कारबाही गरे भने उनले आफ्नो विरोधीलाई छानिछानी ठेगान लगाए । पछि तत्कालीन राप्रपासँग एकता गरेपछि पनि आफैँ कार्यकारी भूमिकामा रहेका थापा पार्टीको पछिल्लो महाधिवेशनमा भने अप्रत्याशित रूपमा अध्यक्षमा पराजित बन्न पुगेका थिए । पार्टीभित्रको टुटफुटका बीच करिब १६ वर्ष निरन्तर पार्टीको कार्यकारी पदमा रहेका थापाले अप्रत्याशित रूपमा पराजित बन्न पुगेपछि आफ्नो हारको दोष निर्मल निवासलाई थोपरेका थिए । 


६५ दिनको उकुसमुकुस विस्फोट

सधैँ शक्तिमा रहेका कमल थापालाई पराजय स्वीकार निकै सकस परेको थियो । आफू पराजित भएपनि हार स्वीकार्न असहज भएकैले उनले निर्मल निवासलाई दोष दोपरेको विगतमा कमल थापा निकटमै रहेका एक नेताले बताए । थापाले लिङ्देनसँग पराजित हुनेबित्तकै निर्मलनिवासलाई आक्षेप लगाउँदै कडा टिप्पणी गरेका थिए ।


 पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेप भएको आरोप लगाएका उनले २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार पाएको बताएका थिए । यसका लागि उनले पूर्वराजा ज्ञानेन्द्रलाई ‘धन्यवाद भन्दै कटाक्ष गरेका थिए । राजतन्त्रको एजेण्डाको मूल संवाहकलाई राजाले राजनीतिक रूपमा समाप्त पार्न खोजेको बताउँदै थापाको कटाक्ष थियो, ‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार पाइयो । सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् ।’ थापाले त्यसपछि निरन्तर रूपमा निर्मल निवासको आलोचना गर्दै आएका थिए । 


लिङ्देनलाई दुई पटक पत्र, सुनुवाइ भएन


 

निर्मल निवासको हस्तक्षेपबारे छानबिन हुनुपर्नेमा थापाले निरन्तर अडान राखिरहे भने यो विषय पार्टीको केन्द्रीय समिति बैठकमा छलफलको एजेण्डा बन्नुपर्ने थापाको माग रह्यो । यही माग अनुरूप थापाले मङ्सिर २७ गते अध्यक्ष राजेन्द्र लिङ्देनलाई औपचारिक रुपमै पत्र लेखेर निर्मल निवासबाट भएको हस्तक्षेपबारे छानबिन गर्न आग्रह गरे ।  निर्मल निवासबाट कोही पनि सुरक्षित नभएको बताउँदै उनले पत्रमा भनेका थिए, ‘सिंगो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर राजसंस्थाको एजेण्डा बोकेर हिँड्ने मुख्य व्यक्ति त कोपभाजनमा पर्दछ भने निर्मल निवासको अगाडि कोही पनि सुरक्षित छैन । तपाईं पनि ढिलो चाँडो यो प्रवृत्तिको शिकार अवश्य हुनुहुनेछ । पार्टीभित्र यस्तो अवस्था सिर्जना हुनु दुर्भाग्यपूर्ण छ ।’ सँगसँगै थापाले अर्को गम्भीर सवाल पनि उठाएका थिए । थापाको भनाइ थियो, ‘शतप्रतिशत राजावादी भएको दलमा त पूर्वराजाको हस्तक्षेप हुन्छ भने भोलि राप्रपाको परिकल्पनाअनुरुप राजसंस्था स्थापित भयो भने राजाबाट अन्य दल र राजनीतिमा हस्तक्षेप हुँदैन तथा विगतमा झैँ प्रजातन्त्र मास्ने काम हुँदै भन्ने के ग्यारेन्टी छ? भनी प्रश्न गर्नेहरूलाई हामीले के र कसरी जवाफ दिने ?’ यस विषयको निराकरण नभएसम्म पार्टीले गति लिन नसक्ने थापाले स्पष्ट सन्देश दिएका थिए । 


थापाको यो मागको सम्बन्धमा केन्द्रीय समितिदेखि पार्टीका  कुनैपनि फोरममा सुनुवाइ नभएपछि थापाले माघ १६ गतेपनि स्मरणपत्र पठाएका थिए । यो बीचमा आफू निकटस्थसँग छलफल समेत गरेका थापाले आफ्नो मागका सम्बन्धमा सुनुवाइ नहुने छनक मिलेपछि अन्ततः मंगलबार हेटौँडामा पत्रकार सम्मेलन गरी पार्टीबाट अलग हुने घोषणा गरेका हुन् । 


यो अघि सोमबार थापाले काठमाडौंमा आफू निकटस्थ नेताहरुको चियापान राखेर लिङ्देनलाई आफ्नो माग सम्बोधन गर्न स्थानीय चुनाव घोषणाअघिसम्मको अल्टिमेटम दिएका थिए । उनले अल्टिमेटन दिएकै दिन चुनाव घोषणा भयो भने त्यसको भोलिपल्टै एकाएक उनले पार्टी परित्याग गरिहाले  । थापाले पार्टी परित्यागबारेको आफ्नो विज्ञप्तिमा ‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय लिएको छु । पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भएतापनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ’ भनेका छन् । 


संस्थापनको प्रतिक्रिया

यता राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी परित्याग गर्ने पूर्वअध्यक्ष थापालाई निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छन् । थापाको निर्णयसँगै मंगलबार काठमाडौंमा उपलब्ध पार्टी पदाधिकारीको आकस्मिक बैठकले थापाको निर्णयप्रति दुःख व्यक्त समेत गरेको छ।  

बैठकपछि प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा थापाको निर्णयलाई ‘अनपेक्षित तथा अप्रत्याशित’ ठहर गरिएको छ । ‘राप्रपाको ऐतिहासिक एकता महाधिवेशनपछि राप्रपाको लोकप्रियतामा वृद्धि तथा राष्ट्रिय शक्तिका रूपमा उदय र विकास भइरहेको समयमा राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाबाट अनपेक्षित तथा अप्रत्याशित रूपमा व्यक्तिगत तवरले पार्टीबाट अलग हुने भनी गरिएको घोषणाप्रति दुःख प्रकट गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ, ‘पार्टीबाट अलग हुने उहाँको निर्णयमा पुनर्विचार गर्न राप्रपा अनुरोध गर्दछ ।’

राप्रपा पार्टी स्थापनाको उद्देश्य, हालै सम्पन्न महाधिवेशनले तय गरेको राजसंस्था, हिन्दुराष्ट्रको पुनःस्थापना लगायतका सैद्धान्तिक अवधारणा र कार्यदिशामा अविचलित रहेको पनि विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा सबै तहका नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई दुविधामा नपर्न र विचलित नहुन पनि आग्रह गरिएको छ ।

अब के गर्लान् कमल थापा ?

कमल थापा गृह जिल्ला हेटौँडामा आकस्मिक पत्रकार सम्मेलनमार्फत पार्टीबाट अलग हुने घोषणा गरेर मंगलबार नै काठमाडौं फिर्ता भइसकेका छन् । कमल थापा निकट नेता राजाराम बर्तौलाले निकटस्थ नेताका साथै कार्यकर्ताहरुसँग छलफल गरेर अघि बढिने बताए । उनले केही दिनमै के गर्ने भन्नेबारे नतिजा देखिने पनि बताए । ‘नयाँ पार्टी गठन गर्ने वा अन्य ढंगबाट अघि बढ्ने भन्नेबारे हामी छलफलमै छौँ’, उनले रातोपाटीसँग भने, ‘केही दिनमै नतिजा देखिन्छ ।’ अर्का एक नेताले भने हिन्दुवादी एजेण्डा बोकेर थापा नयाँ पार्टी दर्ताको तयारीमा जुटेको जिकिर गरे । उनले राजतन्त्रको एजेण्डा भने बोक्ने अवस्था नरहेको उनको भनाइ छ । 

थापाले आफू निकटस्थ नेताहरूसँग समेत पार्टी छाड्नुअघि पर्याप्त छलफल नगरेको बताइएको छ । गत महाधिवेशनमा थापा प्यानलबाट चुनाव लडेका उपाध्यक्ष बुद्धिमान तामाङले पार्टी छाड्नुअघि आफूसँग थापाले कुनै सल्लाह नगरेको जिकिर गरे । ‘हामी मिलाउनै लागिपरेका थियौँ । तर एकाएक अप्रत्याशित रूपमा राजीनामा आयो’, उनले भने। यस्तै थापा निकट नै मानिने महामन्त्री भुवन पाठकले थापाले नयाँ पार्टी खोले आफूले नसघाउने स्पष्ट पारे । ३१ वर्ष बिताएको पार्टीलाई आफूले नछाड्ने उनको भनाइ थियो । 

निर्मल निवाससँग किन बिग्रियो थापाको सम्बन्ध ?

निर्मल निवासले कमल थापालाई आफ्नो योजनाअनुसार काम गरिदिओस् भन्ने चाहना राखेको थियो । तर, थापाले त्यसअनुसार काम गरेनन् बरु आफ्नो स्वार्थपूर्तिका लागि एजेण्डाको बेचेको बुझाइ निर्मल निवासमा रह्यो । निर्मल निवास र थापाबीच महाधिवेशनअघि थप दूरी बढ्न पुग्यो । थापा निकट स्रोतका अनुसार महाधिवेशनअघि थापा र पूर्वराजा ज्ञानेन्द्र शाहबीच लामो छलफल भएको थियो । सो छलफलमा पूर्वराजा ज्ञानेन्द्रले राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा जनतामा आकर्षण बढ्दै गइरहेको भन्दै अब राप्रपाले सडक आन्दोलन र विद्रोहको तयारी गर्नुपर्ने धारणा राखेका थिए । तर, थापाले भने त्यसरी सडकमा जुलुस निकालेर मात्रै राजतन्त्र फर्कन नसक्ने धारणा राखेका थिए । चाँडै राजतन्त्र फर्कन सक्दैन भन्ने थापाले बताएपछि निर्मल निवास उनीसँग थप रुष्ट बन्ने पुगेको बताइन्छ।  उसो त निर्मल निवासले हारको पीडामा थापाले अनावश्यक आरोप लगाएर आफैलाई नङ्ग्याएको बताउँदै आएको छ । सधैँ शक्तिमा रहन नपाउँदा उनमा छटपटी भएको पनि निर्मल निवासको भनाइ छ । कमल थापाको सत्ता लिप्सा र अनेक विवादास्पद गतिविधिका कारण पार्टीमा अलोकप्रिय बनेको निर्मल निवासको निष्कर्ष छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप