शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय

मदन–आश्रित हत्याकाण्डको छानबिन हुनुपर्छ : माधव नेपाल

शनिबार, ०३ जेठ २०८२, १४ : ३५
शनिबार, ०३ जेठ २०८२

समाचार सारांश

  • माधवकुमार नेपालले मदन भण्डारीको हत्याको सत्यतथ्य छानबिन गर्न सरकारसँग माग गरेका छन्।
  • नेपालले मदन-आश्रितको रहस्यमय हत्या भएको र साक्षीको पनि हत्या भएको बताए।
  • नेपालले मदन भण्डारीले मार्क्सवादको नयाँ प्रयोगलाई अगाडि बढाएको र जनताको बहुदलीय जनवादलाई आत्मसात् गर्नुपर्ने बताए।

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मदन भण्डारी हत्याको सत्य तथ्य छानबिन गर्न सरकारसँग माग गरेका छन् ।  मदन–आश्रित स्मृति दिवसको अवसरमा शनिबार नेकपा (एस) ले आयोजना गरेको कार्यक्रममा उनले मदन र आश्रितको रहस्यमय हत्या भएको बताउँदै त्यसको सत्य तथ्य छानबिन हुनुपर्ने सरकारसँग माग गरे । 

मदन–आश्रित हत्या प्रकरणका एक मात्र साक्षी ड्राइभरको पनि रहस्यमय तरिकाले हत्या गरिएको बताउँदै उनले त्यसले पनि मदन–आश्रितको मृत्यु दुर्घटनामा नभई हत्या भएको पुष्टि भएको बताए ।  उनले भने, ‘सत्य तथ्य छानबिन गरी अपराधीलाई कानुनी दायरामा ल्याउन सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु ।’ 

दुवै नेताले कम्युनिस्ट पार्टीलाई उचाइमा पुर्‍याएको धारणा राख्दै अध्यक्ष नेपालले उनीहरूले पार्टीलाई वैचारिक रूपमा अगाडि बढाएको धारणा समेत राखे । पार्टीका तत्कालीन महासचिव मदन भण्डारीले आफ्नो राजनीतिक जीवनकालमा नयाँ नयाँ चुनौतीको सामना गर्दै अगाडि बढेको स्मरण गर्दै अहिले आफू पनि त्यस्तै चुनौतीहरूको सामना गर्दै अगाडि बढिरहेको धारणा राखे ।  

‘कोही आशावादी हुन्छ, कोही निराशावादी हुन्छ’ उनले भने, ‘दुवैसँग जुधेर मदन भण्डारीले माक्र्सवार्दको  नयाँ प्रयोगलाई अगाडि बढाउनुभयो ।’ मदन भण्डारीले जडसुत्रवादमा नअल्झी नयाँ विचारका साथ आन्दोलनलाई अगाडि बढाएको बताउँदै उनले अहिले पनि जनताको बहुदलीय जनवादलाई आत्मसात् गरी अगाडि बढ्नुपर्ने आवश्यकता रहेको नेपालले बताए । 

नेपाली विशेषताको समाजवादलाई आत्मसात् गर्दै अगाडि बढ्नुपर्ने बताउँदै उनले देशको परिस्थितिको आधारमा कसरी अगाडि बढ्दा कम्युनिस्ट आन्दोलनलाई बचाउन सकिन्छ त्यसमा छलफल गर्नुपर्ने आवश्यकता रहेको बताए ।  भण्डारीको खुबी र क्षमतालाई विश्वले प्रशंसा गरेको बताउँदै उनले भण्डारीलाई ‘नेपालका कार्ल मार्क्स’ समेत भन्ने गरिएको स्मरण गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप