आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीको सदरमुकाम वीरेन्द्रनगरमा एमालेलाई जोखिम

यस्तो थियो ०७४ सालको चुनावी नतिजा
बुधबार, २६ माघ २०७८, १२ : ५८
बुधबार, २६ माघ २०७८

सुर्खेत । सरकारले आगामी वैशाख ३० गते एकै चरणमा गर्ने गरी स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै सबैतिर राजनीतिक सरगर्मी बढेको छ । स्थानीयस्तरमा आगामी निर्वाचनलाई लिएर चहल–पहल सुरु हुन थालिसकेको छ । राजनीतिक दलहरू निर्वाचनकेन्द्रित गतिविधिमा जुट्न सुरु गरिसकेका छन् ।

कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा पनि स्थानीय निर्वाचनको चर्चा सुरु नहुने कुरै भएन । प्रशासनिक, आर्थिक, राजनीतिक सबै हिसाबले प्रदेशको केन्द्रमा रहेको यस नगरपालिकामा चुनावी जोडघटाऊ शुरु भएको छ ।

कर्णाली त्यस्तो प्रदेश हो, जहाँ महानगरपालिका त के, एउटै उपमहानगरपालिका समेत छैन । प्रदेशको मुकाम रहेको वीरेन्द्रनगरलाई उपमहानगरपालिका बनाउने चर्चा चले पनि अहिलेसम्म नगरपालिकामै सीमित छ । आगामी वैशाख ३० मा हुने चुनावमा कर्णाली प्रदेशको सबैभन्दा ठूलो नगरपालिका भनेकै यही वीरेन्द्रनगर हो ।  

विसं. २०७४ सालको स्थानीय निर्वाचनलाई फर्केर हेर्दा वीरेन्द्रनगरको मेयरमा नेपाली काँग्रेसले जितेको थियो । उपमेयरमा भने नेकपा एमालेले बाजी मारेको थियो । देशका धेरै स्थानीय तहमा जस्तै नतिजा वीरेन्द्रनगरमा पनि आएको थियो । माओवादीलाई साथमा लिन नसक्दा एमालेले मेयरमा हार व्यहोर्नुपरेको थियो । सम्भवतः स्थानीय तहको यही हारबाट पाठ सिकेर एमाले अध्यक्ष केपी ओलीले प्रदेश र संघको चुनावमा भने माओवादीसँग देशैभरि गठबन्धन बनाएका थिए ।

आगामी वैशाख ३० को चुनावमा पनि यस्तै हालत हुने देखिन्छ । गत चुनावमा काँग्रेससँग एक्लै भिड्दा प्रमुखमा हारेको एमाले फुटेर केही कमजोर बनेको अवस्था छ । माओवादीले पनि आफ्नो शक्ति यथावतै राखेको अवस्था छ । यो स्थितिमा एमालेले काँग्रेससँग एक्लै भिड्नु जोखिमपूर्ण हुने अवस्था एकातिर देखिन्छ भने सत्ता गठबन्धन बनाएका कारण काँग्रेस, माओवादी, एकीकृत समाजवादी लगायतका दलहरूको मत एकै ठाउँमा खस्ने सम्भावना देखिन्छ, जुन एमालेका लागि थप जोखिमपूर्ण स्थिति हो ।    

 

वीरेन्द्रनगर नगरपालिकामा ०७४ मा सबै दलहरू एक्लाएक्लै चुनावी मैदानमा होमिएका थिए । जसमा मेयर र उपमेयरमा १० उम्मेदवारले पाएको मत यस्तो थियो–

प्रमुखको नतिजा

१) देव कुमार सुवेदी, नेपाली काँग्रेस, १४४०५ (विजयी)

२) बालाराम शर्मा, नेकपा एमाले, १३८९९

३) रत्नबहादुर गाहा मगर, नेकपा माओवादी, ५२३७

४) गेहेन्द्रप्रसाद दहाल, स्वतन्त्र, १८९४

५) ईश्वरकुमार श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी, ५५७

६) शेरबहादुर शाही, नेपाल मजदुर किसान पार्टी, १६६

७) गोविन्दप्रसाद सुवेदी, राष्ट्रिय जनमोर्चा, १८८

८) लक्ष्मीप्रसाद ढकाल, संघीय समाजवादी फोरम, नेपाल, ७८

९) मिलन थापा मगर, स्वतन्त्र, ५८

१०) मणिराम शर्मा, समाजवादी जनता पार्टी, ४०

उपप्रमुखको नतिजा

१) मोहनमाया ढकाल (भण्डारी ) नेकपा एमाले, १६०६८ (विजयी)

२) जानकी सिंह, नेपाली काँग्रेस, १४०२६

३) हरिमाया शर्मा गौतम, नेकपा माओवादी, ४६८९

४) टीका योगी, राष्ट्रिय प्रजातन्त्र पार्टी, ७४३

५) विजु कला राना, नेपाल मजदुर किसान पार्टी, १९८

६) गीता आचार्य, राष्ट्रिय जनमोर्चा, १२५

७) लक्ष्मी कुमारी तामाङ्ग, संघीय समाजवादी फोरम नेपाल, ३३६

८) गीता कामी, समाजवादी जनता पार्टी, ३८

९) ललिता सुनार, नेपाल दलित पार्टी, १४

१०) गंगा सर्केनी, मधेसी जनअधिकार फोरम, (लोकतान्त्रिक) ८

धेरैजसो पार्टीले ०७४ को चुनावमा सहभागिता देखाए पनि यस नगरपालिकामा प्रमुख राजनीतिक शक्तिका रुपमा रहेका नेकपा एमाले, काँग्रेस र माओवादीले मात्रै जित निकालेका छन् । तेस्रो राजनीतिक शक्तिका रुपमा रहेको माओवादी भने यहाँ निकै कमजोर देखिएको थियो ।

१६ वटा वडाको नतिजा

वीरेन्द्रनगर नगरपालिकामा १६ वटा वडा छन् । प्रमुख पदमा जस्तै सबै वडाहरूमा एमाले भर्सेस काँग्रेसको अवस्था देखिएको छ । १६ मध्ये माओवादीले वडा नं १४ मा मात्रै जीत हासिल गरेको थियो । १६ वटा वडामध्ये एमालेले  ९ वटा र काँग्रेसले ६ वटा वडाध्यक्ष जितेका थिए ।

त्यसो त एमालेमा आएको विभाजनको असर यस नगरपालिकामा पनि परेको छ । एमालेका ९ वडाध्यक्षमध्ये तीनजना माधव नेपाल नेतृत्वको पार्टीमा लागेका छन् । यो स्थितिमा एमाले र काँग्रेसका वडाध्यक्षहरु ६–६ जना कायम छन् । नेकपा एकीकृतका ३ र र माओवादीका एक जना वडाध्यक्ष छन् ।  

एमालेबाट निर्वाचित नौ वडाध्यक्षमध्ये वडा नं.१२ का वडाअध्यक्ष लोकप्रसाद चालिसे, १० का अध्यक्ष रत्नबहादुर बुढा र ८ वडाका अध्यक्ष थमप्रसाद गौतम अहिले एकीकृत समाजवादीमा लागेका छन् ।

एउटा वडाध्यक्ष जितेको माओवादी ०७४ को चुनावमा कुनै पनि वडामा दोस्रो स्थानमा आउन सकेको थिएन । तर, माओवादी र काँग्रेसको मत जोड्दा एमालेको भन्दा बढी पुग्ने स्थिति केही वडामा देखिएको थियो । 

हेर्नुहोस् वडाध्यक्षको नतिजा

वडा नं–१

१) गंगाराम सुनार, नेकपा एमाले, ११२६

२) नवल गिरी, नेपाली काँग्रेस, १००७

वडा नं. २

१) बलबहादुर रोकाया, नेकपा एमाले, १५५०

२) लाल प्रसाद चौधरी, नेपाली काँग्रेस, १४१४

वडा नं.–३

१) भूपेन्द्र खत्री, नेपाली काँग्रेस, १३६५

२) धनबहादुर बुढा, नेकपा एमाले ८७२

वडा नं.– ४

१) नीलकण्ठ खनाल, नेकपा एमाले, १४५९

२) कालुराम धौलाकोटी, नेपाली काँग्रेस, १०१६

वडा नं.–५

१) राजबहादुर गुरुङ, नेपाली काँग्रेस,८१०

२) लोकबहादुर शाही, नेकपा एमाले ७४१

वडा नं.–६

१) मोती कँडेल, नेपाली काँग्रेस, ८२४  

२) नन्द भण्डारी, नेकपा एमाले ६४२

वडा नं.–७

१) ध्रुव चपाई, नेपाली काँग्रेस,१०५०

२) रोमबहादुर सोमइ, नेकपा एमाले,४६०

वडा नं.–८

१) थम्मप्रसाद गौतम, नेकपा एमाले,८९३

२) चन्द्रलाल आचार्य, नेपाली काँग्रेस ६९८

वडा नं.– ९

१) सुरेश मानन्धर, नेपाली काँग्रेस,  १२५८   

२) गणेश बहादुर वली, नेकपा एमाले, ११२८

वडा नं.–१०

१) रत्नबहादुर बूढा क्षेत्री, नेकपा एमाले,१३६४

२) रविन्द्रजंग शाही, नेपाली काँग्रेस, ११०६

वडा नं.–११

१) नन्दलाल शर्मा, नेकपा एमाले, १४५६

२) कुल बहादुर खत्री, नेपाली काँग्रेस, १३५९

वडा नं.–१२

१) लोक प्रसाद चालीसे, नेकपा एमाले,१४८४

२) बुद्धीप्रसाद सापकोटा, नेपाली काँग्रेस, ८३१

वडा नं.–१३

१) भूपेन्द्र दर्लामी, नेकपा एमाले,१०१३  

२) हिरालाल आचार्य, नेपाली काँग्रेस, ७९३

वडा नं.–१४

१) टोपबहादुर दर्लामी, नेकपा माओवादी,४८५

२) राम बहादुर गाह, नेकपा एमाले, ४०६

वडा नं.–१५

१) पुनबहादुर पुलामी , नेकपा एमाले,३९९

२) रुद्र बहादुर खत्री, नेपाली काँग्रेस,३४२

वडा नं.–१६

१) पूर्ण बहादुर ढकाल, नेपाली काँग्रेस,   ४९९

२) डण्डबहादुर विक, नेकपा एमाले, ४८८

आगामी निर्वाचनमा कसले मार्ला बाजी ?

वीरेन्द्रनगरमा यस अघिदेखि नै एमालेका नेता यामलाल कँडेल र काँग्रेसका नेता हृदयराम थानीबीच प्रतिस्पर्धा हुँदै आएको छ । तथापि, योपटक भने काँग्रेसको आन्तरिक चुनावमा थानी कमजोर देखिएका छन् । आन्तरिक चुनावमा थानी कमजोर सावित भएसँगै आगामी स्थानीय तहको निर्वाचनमा संस्थापन पक्ष अर्थात पूर्णबहादुर खड्का पक्ष अगाडि आउन सक्ने आकलन धेरैले गरेका छन् । किनकि सुर्खेतमा पूर्णबहादुर खड्काको वर्चश्व रहँदै आएको छ । खड्काको स्थानीय तह वीरेन्द्रनगर नभएर सीम्ता गाउँपालिका हो ।

सुर्खेतमा सशक्त रहेको एमाले विभाजनपछि केही कमजोर बनेको छ । जसको प्रत्यक्ष फाइदा नेपाली काँग्रेसलाई पुग्ने देखिन्छ । वीरेन्द्रनगरमा एकीकृत समाजवादी र माओवादीबीच गठबन्धन हुने सम्भावना पनि उत्तिकै रहेको नेताहरुले बताउने गरेका छन् । माओवादीलाई मेयर र समाजवादीलाई उपमेयर दिएर जाने कि भन्ने पनि नेताहरुबीच ‘लबिङ’ हुनसक्ने कतिपयको विश्लेषण छ । यसरी मिलेर गएको खण्डमा एमालेलाई थप धक्का लाग्न सक्छ । अझ माओवादी, काँग्रेस र एकीकृत समाजवादीबीचको गठबन्धन बनेको खण्डमा एमाले ‘क्लिन स्वीप’ हुन सक्ने सत्तापक्षको दाबी छ ।

तथापि एमालेका नेताहरु भने पार्टी विभाजनको असर कुनै नपरेकाले एमाले एक्लैले चुनाव जित्ने दाबी गर्छन् । अर्कोतिर काँग्रेसका नेताहरु पनि वीरेन्द्रनगरमा काँग्रेसलाई चुनाव लड्न गठबन्धन आवश्यक नपर्ने दाबी गर्छन् । यदि गठबन्धन नभएको खण्डमा काँग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

वर्तमान उपमेयर रहेकी एमाले नेतृ मोहनमाया ढकाल एमालेले एक्लै जित्ने दाबी गर्छिन् । एमालेबाट मेयरकी प्रमुख दाबेदारसमेत रहेकी ढकालले रातोपाटीसँग भनिन्, ‘वीरेन्द्रनगर नगरपालिकामा एमाले जित्छ । यसमा हामी ढुक्क छौं । हामीले ०७४ को स्थानीय तहको निर्वाचन सिङ्गल नै लडेको हो । अहिले पनि चुनाव जितिन्छ । एमाले विभाजनको असर हामीलाई पर्दैन । तीनवटा वडाअध्यक्षज्यूहरु एकीकृत समाजवादीमा लाग्नुभएको छ । तर, सदस्यहरु हामीसँगै हुनुहुन्छ । वडा कमिटीहरु सक्रिय भएर लागिरहेका छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप