बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : कमल थापाको नयाँ पार्टी, काँग्रेसको चुनावी रणनीति

माओवादीमा मिलेन पदाधिकारीमा भागबण्डा
बिहीबार, २७ माघ २०७८, २० : ५२
बिहीबार, २७ माघ २०७८

आज मिति २०७८ साल माघ २७ गते बिहीबार । आज दिनभर देशभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुती ‘रातोपाटी ब्रिफिङमा प्रस्तुत गरिएको छ–

१. बजेट समीक्षा
सरकारले अर्धवार्षिक मूल्याङ्कन क्रममा चालू आर्थिक वर्ष २०७८-७९ को बजेट सीमा ८६ अर्ब ५५ करोड रुपैयाँले घटाएको छ । प्रतिस्थापन विधेयकमार्फत १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट ल्याएको सरकारले बजेट आकार १५ अर्ब ४६ अर्ब २८ करोड रुपैयाँ हुनेगरी संशोधन गरेको हो । स्रोत व्यवस्था, खर्च अवस्था र सरकारी दायित्व लगायत पक्षलाई मध्यनजर गरी सरकारले हरेक आर्थिक वर्षमा बजेट आकार संशोधन गर्ने गर्छ । 

संशोधित बजेट आकार शुरू विनियोजनको करिब ९४.७ प्रतिशत हुने अर्थ मन्त्रालयले जानकारी दिएको छ । तर, बजेट सीमा संशोधन भएपनि स्थानीय तह निर्वाचन खर्च, कोभिड–१९ विरुद्धको खोप लगायतको खर्च, रासायनिक मल खरिद, बेमौसमी वर्षाले पीडित धान किसानलाई क्षतिपूर्ति, अनिवार्य दायित्व र पूर्व सहमति दिइएका ठूला आयोजनाको सम्भावित दायित्वलाई भने कम नगरिएको अर्थमन्त्री जनार्दन शर्माले बताए । सरकारले आज बजेको अर्धवार्षिक समीक्षा गरेको हो । 
सम्बन्धित समाचार

२. काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक
नेपाली काँग्रेस चुनावी रणनीति बनाउन जुटेको छ। काँग्रेसले स्थानीय निर्वाचनलाई नै मध्यनजर गर्दै दुईवटा समितिहरु गठन गरेको छ । पार्टी मुख्यालय सानेपामा पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले स्थानीय सम्पूर्ण पार्टी एकता र सक्रियता साथ स्थानीय निर्वाचनमा केन्द्रित हुने निर्णय गर्दै स्थानीय निर्वाचन मूल तयारी समिति तथा घोषणा पत्र तयारी समिति गठन गरेको हो ।

यसैबीच नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले एमसीसी संसदबाट बहुमतले पारित हुने दावी गरेका छन् । बिहीबार बसेको काँग्रेस पदाधिकारी बैठकपछि प्रवक्ता महतले सरकारले एमसीसी संसदमा टेबल गर्ने तयारी गरेको भन्दै टेबल भएपछि बहुमतले पारित हुने बताएका हुन् । बैठक भोलि पनि जारी हुनेछ ।

३. नयाँ पार्टी दर्ता गर्ने कमल थापाको निर्णय
कमल थापा नेतृत्वको समूहले नयाँ पार्टी दर्ता गर्ने निर्णय गरेको छ । राजधानीमा बिहीबार बसेको थापा पक्षको बैठकले नयाँ पार्टी दर्ता गर्ने निर्णय गरेको हो । पार्टी दर्ताका लागि आवश्यक तयारी गर्न बैठकले थापालाई जिम्मेवारी दिएको छ ।

उता राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपतिशमशेर जबराले हालै पार्टी परित्याग गरेका पूर्व अध्यक्ष कमल थापा पुनः पार्टीमा फर्किनेमा आशावादी रहेको बताएका छन् । बिहीवार पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय पदाधिकारी बैठकअघि सञ्चारकर्मीहरूसँग बोल्दै पूर्व अध्यक्ष शमशेरले यस्तो बताएका हुन् । 

४. माओवादीमा महाभारत
नेकपा माओवादी केन्द्रको केन्द्रीय पदाधिकारीमा सहमति जुट्न नसक्दा शुक्रबारबाट बस्ने भनिएको केन्द्रीय कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । विशेष कारणवश बैठक स्थगित गर्नुपरेको माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले बताएका छन् । यसअघि पनि केन्द्रीय कमिटी बैठक पटक पटक स्थगित हुँदै आएको थियो ।

५. प्रतिनिधिसभा बैठक सार्न एमालेको आग्रह
आउँदो फागुन २ गतेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक हेरफेर गर्नका लागि नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ । 
एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सो दिन एमालेको विराटनगरमा प्रदेश नंबर १ स्तरीय भेलाको कार्यक्रम राखिएकोले सो मिति भन्दा अगाडि वा पछाडि बैठक बोलाउन आग्रह गरेको बताए ।

६. गठबन्धनमा राजदूत नियुक्तिबारे छलफल
प्रधानमन्त्री शेरबहादुर देउवाले राजदूत नियुक्तिका सन्दर्भमा छलफल थालेका छन् । प्रधानमन्त्री देउवाले विहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेका हुन् ।

पछिल्लो २४ घण्टामा देशभर १३६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा २२३८ जना कोरोना संक्रमणमुक्त बनेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएअनुसार ११ हजार ८८० जनामा नमुना परीक्षण गर्दा १३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी बितेको २४ घण्टामा १२ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्  ।

८. सेयर बजार
आज साताको अन्तिम कारोबार दिन विहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.९६ अंकले घटेको हो । यससँगै नेप्से परिसूचक २८ सय १ अंकमा आइपुगेको छ ।

९. दूधको मूल्य बढ्यो
सरकारले दुधको उपभोक्ता मूल्य बढाएको छ । मन्त्रिपरिषद्को बैठकले दुधको किसानले पाउने मूल्य निर्धारण गरेलगत्तै उपभोक्ता मूल्य पनि निर्धारण भएको हो । अब दुधको मूल्य प्रतिलिटर ८५ रुपैयाँ पुगेको छ ।
यसअघि, दुधको मूल्य प्रतिलिटर ७६ रुपैयाँ कायम थियो ।

​१०. यो पनि...
सरकारले आठ जना सचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद् बैठकले उनीहरूको सरुवा गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्तमा रहेका मधुसूदन बुर्लाकोटीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयकी देव कुमारी गुरागाईंको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले एसईईको परीक्षा प्रदेश सरकारलाई दिनेगरी कानुन निर्माण गरिरहेको बताएका छन् । बिहीबार शिक्षा पत्रकार नेपाल (इजोन)ले काठमाडौंमा आयोजना गरेको परीक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले एसईईको परीक्षा गर्ने जिम्मा प्रदेश सरकारलाई दिनेगरी कानून निर्माण गरिरहेको बताएका हुन् ।

कर्णाली प्रदेशमा आत्महत्या गर्नेको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ । 

बागमती प्रदेश सरकारले २६ वटा अस्पतालका अध्यक्षहरूलाई हटाउने तयारी गरेको छ । बागमती प्रदेश सरकारअन्तर्गतका सबै अस्पताल व्यवस्थापन समितिका अध्यक्षहरू हटाइने तयारी अगाडि बढेको हो । गत माघ १८ गते बसेको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको बैठकले प्रदेश सरकार अन्तर्गतको २६ वटै अस्पतालका अस्पताल व्यवस्थापन समितिका अध्यक्षहरू हटाउने निर्णय गरेको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का कारण सत्तारुढ गठबन्धन दलहरुबीच दूरी बढिरहेका बेला आज शिर्ष नेताहरुबीच भेटवार्ता भएको हो ।

​थप समाचार

 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप