देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा
सारांश
- देशभर खेतीयोग्य जमिनको ६२.६८% क्षेत्रमा मात्र सिँचाइ सुविधा उपलब्ध छ ।
- यसवर्ष पर्याप्त वर्षा नहुँदा रोपाइँमा किसानले सिँचाइ अभाव झेलिरहेका छन् ।
- विभागको सिँचाइ विस्तार लक्ष्य चालु आवमा पूरा हुन सकेको छैन ।
ललितपुर । देशभर पर्याप्त वर्षा नहुँदा किसानले रोपाइँका बेला सिँचाइ अभावको समस्या झेलिरहेका बेला नेपालमा सिँचाइ विस्तारको लक्ष्य पनि अझै पूरा हुन सकेको छैन । खेतीयोग्य जमिनको ठुलो हिस्सा अझै आकाशे पानीमै निर्भर रहँदा कृषकहरू उत्पादन जोखिमसँग जुध्न बाध्य भएका छन् ।
सिँचाइ तथा जलस्रोत विभागका अनुसार हालसम्म देशको आवश्यक सिँचाइ क्षेत्रमध्ये ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा विस्तार गरिएको छ । विभागको तथ्याङ्कअनुसार नेपालमा कूल ३५ लाख ५७ हजार ७६४ हेक्टर खेतीयोग्य जमिन रहेको छ । तीमध्ये २५ लाख ३६ हजार ३१९ हेक्टर जमिनमा नियमित सिँचाइ आवश्यक पर्ने भए पनि हालसम्म १५ लाख ९० हजार ३८८ हेक्टर क्षेत्रमा मात्रै सिँचाइ सुविधा पुगेको छ ।
यस वर्ष समयमै पर्याप्त वर्षा नहुँदा धेरै जिल्लाका किसानले रोपाइँका लागि पानीको अभाव झेलिरहेका छन् । कतिपय स्थानमा रोपाइँका लागि राखिएको धानको बीउ नै सुक्न थालेको छ भने धेरै किसान आकाशे पानीको प्रतीक्षामा छन् । यस्तो अवस्थाले धान उत्पादनमा असर पर्ने चिन्ता बढेको छ ।
सिँचाइ तथा जलस्रोत विभागका सूचना अधिकारी रामप्रसाद पौडेलका अनुसार गत आव २०८१/८२ मा विभागले १६ हजार ३०८ हेक्टर जमिनमा थप सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्यसहित विभिन्न आयोजना सञ्चालन गरेको थियो । यस्तै चालु आर्थिक वर्ष २०८२र८३ मा छ हजार ७५० हेक्टर क्षेत्रमा नयाँ सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य राखिएको छ । तर चालु आवको चैत मसान्तसम्म केवल चार हजार ४८ हेक्टर जमिनमा मात्र सिँचाइ सुविधा विस्तार गर्न सफल भएको विभागले जनाएको छ । चालु आवमा निर्धारित लक्ष्यमा कमी आउनुको कारण आन्दोलन र आयोजना कटौती रहेको छ ।
कृषि उत्पादन वृद्धि, खाद्य सुरक्षा र जलवायु परिवर्तनबाट उत्पन्न चुनौती सामना गर्न दीर्घकालीन तथा भरपर्दो सिँचाइ पूर्वाधारको विकास आवश्यक रहेको सिँचाइ तथा जलस्रोत विभागको भनाइ छ । सरकारले सिँचाइ विस्तारलाई प्राथमिकतामा राख्दै विभिन्न आयोजना अघि बढाइरहे पनि लक्ष्यअनुसार काम सम्पन्न हुन नसक्दा किसान अझै वर्षाको भर पर्नुपर्ने अवस्था कायम रहेको छ ।
विशेषगरी धान उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने सरकारी लक्ष्य सफल बनाउन समयमै सिँचाइ पूर्वाधार विस्तार र प्रभावकारी कार्यान्वयन अपरिहार्य देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण