मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो

मङ्गलबार, १६ असार २०८३, ०० : ५१
मङ्गलबार, १६ असार २०८३

सारांश

  • जारी फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको खेलमा ब्राजिलले जापानमाथि २-१ को जित दर्ता गर्दै विश्वकपको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ ।
  • पहिलो हाफमा जापानका काइशु सानोले गोल गर्दै अग्रता दिलाए पनि दोस्रो हाफमा कासिमिरो र इन्जुरी समयमा मार्टिनेलीको गोलले ब्राजिललाई जित दिलायो ।
  • यस जितसँगै ब्राजिलले विश्वकपको अर्को चरणमा प्रवेश गरेको छ भने जापान प्रतियोगिताबाट बाहिरिएको छ ।

काठमाडौँ । जारी फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ अन्तर्गतको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा ब्राजिलले जापानमाथि २–१ को नाटकीय जित दर्ता गर्दै विश्वकपको अर्को चरण (अन्तिम १६) मा स्थान सुरक्षित गरेको छ ।

ह्युस्टन रंगशालामा नेपाली समय अनुसार सोमबार राति १०ः४५ बजे सुरु भएको खेलमा पहिलो हाफमा पछि परेको ब्राजिलले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै रोमाञ्चक जित हासिल गरेको हो । खेल अतिरिक्त समयतर्फ धकेलिएको अवस्थामा इन्जुरी समयको छैटौँ मिनेटमा स्ट्राइकर ग्याब्रियल मार्टिनेलीले निर्णायक गोल गर्दै ब्राजिललाई जित दिलाएका हुन् ।

यसअघि खेलको २९औँ मिनेटमा जापानका मिडफिल्डर काइशु सानोले उत्कृष्ट गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा जापान १–० ले अघि रहे पनि दोस्रो हाफमा ब्राजिल खेलमा फर्कियो । खेलको ५६औँ मिनेटमा जी. मगालहेसको पासमा ब्राजिलका अनुभवी मिडफिल्डर कासिमिरोले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । 

यसअघि समूह चरणमा ‘समूह सी’ को विजेता बन्दै अन्तिम ३२ मा प्रवेश गरेको पाँच पटकको विश्व विजेता ब्राजिलले सुरुवाती खेलमा मोरोक्कोसँग १–१ को बराबरी खेलेको थियो । त्यसपछिका खेलमा ब्राजिलले हाइटीलाई ३–० र स्कटल्याण्डलाई ३–० गोलले पराजित गर्दै ७ अंक जोडेको थियो ।

अर्कोतर्फ, समूह ‘एफ’ को उपविजेता बन्दै ५ अंकका साथ नकआउट चरणमा स्थान बनाएको जापानले पहिलो खेलमा नेदरल्यान्ड्ससँग २–२ को बराबरी खेलेको थियो । दोस्रो खेलमा ट्युनिसियालाई ४–० ले पराजित गरेको जापानले अन्तिम खेलमा स्विडेनसँग १–१ को बराबरी खेलेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप