मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

लुम्बो हिमशिखरको पहिचान

मङ्गलबार, १६ असार २०८३, ०२ : ०४
मङ्गलबार, १६ असार २०८३

सारांश

  • गोरखाको गणेश हिमाल आसपास नयाँ लुम्बो हिमशिखरको पहिचान भएको छ।
  • नेपाली र अमेरिकी टोलीले पहिलो पटक सफल आरोहण गरेको छ।
  • यो हिमशिखर छ हजार २५० मिटर अग्लो छ।

गोरखा । गोरखाको गणेश हिमाल आसपास नयाँ लुम्बो हिमशिखरको पहिचान भएको छ ।

नेपाली र अमेरिकी पर्वतारोहीको टोलीले यसअघि आरोहण नभएको नयाँ लुम्बो हिमालको आरोहण गरेसगैँ यो हिमशिखरको पहिचान भएको हो ।

जिल्लाको चुमनुब्री र धार्चे गाउँपालिकाको सीमा आसपास गणेश हिमालकै श्रृङ्खलामा पर्ने ६ हजार २५० मिटर अग्लो लुम्बो हिमालको पहिलो पटक सफल आरोहण गरिएको अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक तुलसी गुरुङले जानकारी दिए।

हिमालय समिट क्लबद्वारा आयोजित उक्त टोलीका चार पर्वतारोहीले धेरै दिनको अन्वेषण र प्राविधिक आरोहणपछि हिमालको दक्षिण–पश्चिम मोहडाबाट बाटो बनाउँदै असार ८ गते शिखरमा पुग्न सफल भएका हुन् ।

आरोहण टोलीमा अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक गोरखा लाप्राकका तुलसिंह गुरुङ, सुजल गुरुङ र आशबहादुर गुरुङ तथा अमेरिकी पर्वतारोही एरिक म्याथ्यु सु रहेका थिए ।

मनास्लु संरक्षण क्षेत्रको उत्तरी छेउ र गणेश हिमाल शृङ्खलाको दक्षिणमा पर्ने धार्चे गाउँपालिकामा अवस्थित लुम्बो हिमालको त्यो पहिलो प्रमाणित आरोहण हो ।

लुम्बो हिमाल कुनै बस्ती, चिया पसल वा स्थापित पदयात्रा मार्ग नभएको एक दुर्गम उपत्यकामा अवस्थित छ । टोलीले चार हजार १५० मिटरमा आधार शिविर र पाँच हजार ४९ मिटरमा उच्च शिविर स्थापना गर्नुअघि मनास्लु पदमार्गबाट चार दिनको पैदल बाटो हिँड्दै सो अभियानको यात्रा तय गरेको स्थानीय वीसबहादुर गुरुङले जानकारी दिए ।

पथप्रदर्शक तुलसिंह गुरुङका अनुसार टोलीले हिउँ, चट्टान र बरफको अवस्थाको मूल्याङ्कन गरेपछि दक्षिण–पश्चिम मोहडाबाट आरोहण गर्ने निर्णय गरेको थियो ।

करिब २० घण्टा लगाएर आरोहण गरेको आरोही मध्यका एक सुजल गुरुङले बताउनुभयो । आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्नुअघि छ हजार मिटर अग्लो हिमाल आरोहणको अनुभव अनिवार्य व्यवस्था गरिएको छ ।

मनास्लु आरोहण गर्नुअघि धेरैजनाले त्यो हिमाल आरोहण गर्न सक्ने सम्भावना धेरै रहेको आरोही बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप