शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावी राजनीतिमा नेपाली काँग्रेस

शुक्रबार, २८ माघ २०७८, १४ : ०६
शुक्रबार, २८ माघ २०७८

पछिल्ला दुई बर्षदेखि नेपाली राजनीतिमा चुनाव एक सम्भावना भएर लुकामारी खेल्दै आएको छ । पूर्ववर्ती संघीय सरकारले पटक–पटक संसद भंग गरेर निर्वाचनको संघारमा मुलुकलाई पुर्‍याएको थियो । त्यसलाई नेपाली काँग्रेसले वैधानिक लिकमा ल्याउन अनेकौं यत्न गर्‍यो र मुलुकमा संविधानवादको रक्षा भयो । सार्वभौम प्रतिनिधिसभा असामयिक काल कवलित हुनबाट जोगियो । तर, यतिबेला मुलुक स्वभाविकरुपमा संवैधानिक मर्यादाभित्र बहुतहको निर्वाचन उन्मुख हुँदै आएको छ । पहिलो चरणमा स्थानीय सरकारको निर्वाचन हुने प्रस्ताव गरिएको छ ।

२०४६ सालपछिको राजनीतिमा देखिएको तथ्य के हो भने नेपाली काँग्रेसको सरकारले गराएको निर्वाचनमा विश्वसनीय र प्रभावकारी भएको छ । तत्कालीन विपक्षीहरुले पनि नेपाली काँग्रेसको नेतृत्वको सरकारको अगुवाईमा गरिएको निर्वाचन स्वतन्त्र र निष्पक्ष भएको स्वीकार गरेका छन् । उसो त अन्य दलको नेतृत्वमा पनि चुनाव नभएको होइन, तर त्यो विवादरहित हुन सकेन । कुनै एउटा दल विशेषले एकलौटी लाभ लिन खोज्यो । तर, नेपाली काँग्रेस कैंयौं पटक आपूm हारेर पनि मुलुकलाई स्वतन्त्र एवं निष्पक्ष चुनाव दिएको छ । यस्ता चुनावलाई अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले पनि वैधता दिंदै सराहना गरेका छन् ।

यसपटक फेरि तीनै तहको निर्वाचन काँग्रेस नेतृत्वको सरकारबाट हुन लाग्नु भनेको लोकतन्त्रका लागि सुखद अवसर हो । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान देखिएको हाँक र हौसलालाई पक्कै आत्मसात गर्नुभएको छ भनेर विश्वास गर्न सकिन्छ ।

मुलुकमा चुनावी राजनीतिले राजनीतिक कुहिरोलाई समेत छिचोल्दै अगाडि बढ्छ । आवधिक निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न बल पुर्‍याउनेछ । नेपालको राजनीतिक एवं संबैधानिक विकासको इतिहासमा नेपाली काँग्रेसले स्थापनाकालदेखि नै आफ्नो काँधको भूमिका निर्वाह गर्दै आएको छ ।

आवधिक निर्वाचनले जन अभिलाषा र लोकतान्त्रिक रक्तसंचारलाई स्पन्दित गर्छ । निष्पक्ष र स्वतन्त्र निर्वाचन आपैंmमा लोकतन्त्रको प्राणवायु हो र यो संविधान जारी गरिँदा कतिपय कोणबाट भनियो – यो संबिधान लामो समय टिक्दैन, यो संबिधानले आफ्नो कार्यान्वयनको पूर्णता पाउँदैन । तर, बहुतहको चुनाव भयो । सबै तहका सरकारहरु संबैधानिक प्राणवायु पाए । संघीय लोकतन्त्रको जग ठडियो ।

लोकतान्त्रिक परिवर्तन, मान्यता, सिद्धान्तलाई संस्थागत गर्न र संविधान कार्यान्वयन गर्न नेपाली काँग्रेससँग स्पष्ट मार्गचित्र र दृष्टिकोण राखेको छ । स्वतन्त्र न्यायपालिका, संसदीय व्यवस्था, पहिलोपटक अस्तित्वमा आएको प्रादेशिक र स्थानीय सरकारजस्ता संविधानका आधारभूत अन्तरवस्तुहरुलाई यसले मूर्तरुप दिन्छ । अर्थात नेपाली काँग्रेसको नेतृत्व बहुतहको निर्वाचन हुनु ऐतिहासिक महत्व छ ।

नेपाली काँग्रेसले मुलुकको राजनीतिभित्र चुनावी महाभारतको कसरी व्यवस्थापन गर्ने हो ? संविधानसभा मार्फत समावेशीता, संघीयता र लोकतान्त्रिक गणतन्त्रसहितको नयाँ संबिधान जुन अस्तित्वमा आएको छ त्यसलाई च्यात्न अनेकौं कोणबाट हुँदै गरेको षडयन्त्रलाई कसरी छल्ने ? कतिपय जायज कतिपय अर्घेलो थाप्ने किसिमले हुने सडक प्रदर्शनहरुलाई कसरी निस्तेज बनाउने ? मुलुकमा क्रमबद्ध बहुतहको निर्वाचनलाई कसरी सु–सम्पन्न गराउँदै जाने ? र, प्रत्येक तहमा एउटा निर्वाचित सरकारको दह्रो उपस्थिति कसरी गराउने ? यसका बारेमा नेपाली काँग्रेस नेतृत्वको सरकार र दलले पनि सोच्नु अपरिहार्य हुँदै आएको छ ।

मुलुक राजनीतिकरुपमा सातवटा प्रदेशमा विभाजित छ । प्रत्येक प्रदेशको राजनीतिक तरलता फरक–फरक किसिमको छ । तर, आज आम मनोविज्ञान के देखिएको छ भने यसपटक मतदाताहरु कम्युनिष्टविरोधी मतदान गर्नेछन् । क्षेत्रीयता र जातिवादी राजनीतिको बर्खिलाफमा मत प्रकट गर्नेछन् ।

संबिधान निर्माणको नेतृत्व र कार्यान्वयनको नेतृत्व दुवै काँगे्रसले नै गर्नुपर्ने देखिएको छ । संबिधान कार्यान्वयनको नेतृत्व कम्युनिष्ट सरकारले गर्दा संबिधानको मर्ममाथि भएको प्रहार दुनियाँलाई थाहा छ । कतिपय अवस्थामा जनताको व्यापक विरोधले कम्युनिष्ट सरकार झुक्न बाध्य पनि भयो । यसरी अब जनतामा कुनै भ्रम छैन । केही दशकका लागि काँग्रेस नेतृत्वकै सरकार हुनुपर्छ । नेपालमा कम्युनिष्टहरुले संविधान निर्माणको कालखण्डदेखि नै जुन भ्रम छर्ने काम गरे, त्यो लामो समय टिक्न सम्भव थिएन र टिकेन पनि ।

नेपाली काँग्रेसको मुख्य प्रतिस्पर्धा कुन दलसँग हुने हो ? प्रदेशगत तहमा यसको व्यापक मन्थन हुन जरुरी छ । आफ्ना प्रतिस्पर्धी दलसँग कसरी बैचारिकरुपमा जुध्ने हो ? यसको रुपरेखा तयार गर्नुपर्छ ।

नेपाली काँग्रेसका केन्द्रीय सभापतिले भर्खरै डा. प्रकाशशरण महतलाई प्रवक्ता तोक्नुभएको छ । अब प्रदेशगत तहमै प्रचार–प्रसार समितिको गठन गरिनुपर्दछ । दोस्रो, जो जहाँ स्थानीय तहमा काँग्रेसले नेतृत्व गर्ने मौका पाएका थिए, तिनीहरुको पनि कामको स्वस्थ मूल्यांकन हुनुपर्छ ।  जसले राम्रा काम गरेका छन्, लोकप्रिय छन्, जसले अवधारणागत र संरचनागत ढंगले स्थानीय सरकारको आधारशीला खडा गरेका छन्, त्यस्ता व्यक्तिलाई पार्टीले फेरि मौका दिनुपर्छ । तर, जसले गतिलो काम गरेका छैनन्, त्यस्तो ठाउँमा नयाँ उम्मेदवार ल्याउन कुनै कसर बाँकी राख्न हुँदैन । नयाँ र योग्य मान्छे कुन गुटका हुन्, त्यसको हेक्का राख्नुभन्दा पनि त्यो नेपाली काँग्रेसप्रति प्रतिवद्ध छ कि छैन भनेर हेरिनुपर्छ ।

जब–जब नेपाली काँग्रेसको नेतृत्वको सरकारले चुनाव गराउन खोज्छ, तब कतिपय कम्युनिष्ट र दक्षिणपन्थीका टुक्रे दलहरुले अनेकौं व्यवधानहरु खडा गर्ने गरेको पाइन्छ । विगत र वर्तमानको यो समय खण्डमा यस्ता प्रवृत्तिको वस्तुगत समीक्षा गर्न नेपाली काँग्रेस तयार भएन भने उ अहिले खडा भएको प्रधान राजनैतिक जटिलताहरुलाई निफन्न सक्दैन । पार्टीभित्र यी परिस्थितिहरुका बारेमा लेखाजोखा मात्र नभई सार्वजनिकरुपमा पनि यसका बारेमा जनसंवाद हुन जरुरी छ ।

बढ्दो प्रविधिले जनसंवादका तरिकाहरु फेरिएका छन् । रेडियो, टीभी र अखबारको महत्व त आफ्नो ठाउँमा छँदैछ, त्योभन्दा डिजिटल प्लेटफर्मको भूमिका फैलिँदै गएको छ । १४ औंं महाधिवेशनबाट नवनिर्वाचित महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको विजय पुस्तान्तरणको मागको कारणले मात्र भएको होइन, न्यू मिडियाको प्रयोग गरेर कसरी गहिरो र उन्नत अन्तरसंवाद गर्न सकिन्छ भन्ने काममा प्राप्त भएको निपूर्णताको कारणले पनि सम्भव भएको हो । महामन्त्रीद्वयमार्फत नयाँ चुनावी महाभारतमा नयाँ सञ्जयहरुको छनौट गरी समयमा नै मोर्चामा खडा गरिदिनु पर्छ ।

नेपाली काँग्रेस महाधिवेशन सम्पन्न गरेपछि तृणतहदेखि टुप्पोसम्मको निर्वाचन सम्पन्न भैसकेको भनिए पनि अर्झै कैयौं जिल्ला समितिहरुको चुनाव बाँकी छ । स्थानीय तहको चुनाव हुनुपूर्व नै यी जिल्लाहरुको निर्वाचित समितिहरुको गठन भइसक्नुपर्छ । लोकतान्त्रिक प्रकृयाबाट निर्वाचित समितिहरुलाई दलका सबै तह र तप्काका कार्यकर्ताहरुले मान्यता दिनुपर्छ ।

दलको आन्तरिक निर्वाचनमा प्रतिस्पर्धा हुनु एकले अर्कालाई पछाडि पार्न खोज्नु केही हदसम्म ठीकै हौंला, तर दलको निर्वाचनको बेला देखिएको स्वस्थ, अस्वस्थ प्रतिस्पर्धाको बाछिटा बहुतहको निर्वाचनमा देखिनुहुँदैन । कतिपय तहमा कोही निर्वाचित त भएका छन् । तर, चुनावी राजनीतिका लागि योग्य र जित्न सक्ने उम्मेदवारमाथि घात गरिन्छ भने त्यो दलप्रतिको घात नै बुझिनुपर्छ । दलभित्रको चुनावमा कोही पक्ष वा विपक्ष देखिए पनि अरु दलसँगको चुनावमा यी सबै एकै हुन् भन्ने भावनाको विकास हुन जरुरी छ । हामीले हेर्‍यौं – दल कब्जा गर्न कतिपय ठाउँमा अस्वस्थ, अमर्यादित घटनाहरु पनि भए ।

तर, अब जो जहाँ दलमा जिम्मेवारी पाएका छन्, तिनले दलभित्रका विपक्षीसँग लामो समयको संवादहीनता र निषेधाज्ञा गर्‍यो भने त्यो नेपाली काँग्रेसका लागि आत्मघाती अवस्था हो । डा. शेखर कोइराला जो नेपाली काँग्रेसका छायाँ सभापति हुन् उनी  बरु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न जान्छन् । तर, आफ्नै पार्टीका सभापति शेरबहादुर देउवाले वान टु वान वार्ताको लागि बोलाएको खबर सुन्न पाइएन ।

त्यस्तो अवस्थाको अन्त्य हुनैपर्छ । छायाँ सभापतिसँग सामान्य  छलफल समेत नगरी अघि बढ्न खोज्ने प्रवृत्ति लोकतान्त्रिक होइन । जब केन्द्र मै यस्तो हविगत छ, भने यसको मुन्तिर झन् कस्तो अवस्था होला ? कल्पना गर्न सकिन्छ । चुनावी राजनीतिमा पार्टी पंक्तिलाई ऐक्यवद्ध बनाउने शेरबहादुर देउवा कृतसंकल्पित हुनैपर्छ ।

जहाँ जो पनि दलभित्रको आफ्नो प्रतिस्पर्धीलाई धपाउन, हेप्न वा समाप्त गर्न खोज्छ भने अन्ततोगत्वा नेपाली काँग्रेस बहुतहको निर्वाचनमा कमजोर र रुग्ण भएर आउन सक्छ । महाधिवेशनको बेलाको उत्तेजना रापताप वा तिक्तता बहुतहको निर्वाचनको बेलामा देखिनुहुँदैन ।

अझै जिल्ला जिल्लाको महाधिवेशनको बेलाको हयाङओभर बाँकी नै छ । फेरि पनि योग्य र समर्थ उम्मेदवारको नाम काट्ने, टिकट पाए पनि अन्तर्घात गरिदिने, विपक्षीका उम्मेदवारसँग अनैतिक साँठगाँठ गर्ने लगायतका प्रवृत्ति दोहोरिन सक्छन् । त्यसैगरी दलभित्रको चुनावमा पराजित भएपछि निर्वाचित नेतृत्वका बारेमा आप्mना कार्यकर्ताहरुलाई जाइलाग्न उक्साउने, सार्वजनिक मञ्चहरुमा विषवमन गर्ने, पार्टीलाई कमजोर बनाउन सक्छ भन्ने कुराको होस नराख्ने, दलभन्दा पनि आप्mनो व्यक्तिगत महत्वाकांक्षालाई प्राथमिकता दिने प्रवृत्तिको पनि पहिचान गर्न जरुरी छ ।

नेपाली काँग्रेसले विगतमा यस्तै प्रवृत्तिहरुका कारण सहजै जित्न सक्ने ठाउँमा समेत पराजय भोग्नुपरेको छ । काँग्रेसका कतिपय किल्लाहरुमा विपक्षीले कब्जा जमाएका छन् । यसपटकको निर्वाचन केवल नेपाली काँग्रेसको जीतहारको विषयमात्र होइएन लोकतन्त्र र संविधानवादको जय पराजयको निर्वाचन हो । झट्ट हेर्दा यो स्थानीय सरकारको निर्वाचन प्रस्तावित भएको देखिए पनि यो मुलतः संघीय लोकतान्त्रिक गणतन्त्रको स्वीकार्यको आयतनलाई फैलाउने शानितपूर्ण प्रकृयालाई संस्थागत बनाउने चुनाव हो । नेपाली काँग्रेस लोकतान्त्रिक जागरुकताको एउटा नाम हो । जय पराजय व्यहोरेर पनि राष्ट्रलाई लोकतन्त्र र राष्ट्रियताको उपहार दिने एक दल हो ।

नेपाली जनताले नेपाली काँग्रेसलाई पत्याएका छन् । तर, नेपाली काँग्रेस आफ्नै अन्तरविरोधका कारणले आफ्ना अन्तरघातीहरुबाट पराजित भएको छ । नेपाली काँग्रेसभित्रको अन्तरघाती एवं असहिष्णु प्रवृत्तिलाई समाप्त गर्न इतिहासको नायक भएर शेर बहादुर देउवा खडा हुने यो अवसर हो । उनले आफ्नो उत्तराद्र्धमा समृद्ध काँग्रेस दिन सके भने उनी लोकतन्त्रको भरोसाको एउटा नाम पनि हुनेछन् ।

(पराजुली नेपाली काँग्रेसका नेता हुन्)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. शोभाकर पराजुली
डा. शोभाकर पराजुली
लेखकबाट थप