शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश स्थापना दिवसमा को–को भए विभूषित ?

मङ्गलबार, ०३ फागुन २०७८, १७ : ०८
मङ्गलबार, ०३ फागुन २०७८

लुम्बिनी प्रदेश सरकारले स्थापना दिवसको अवसर पारेर मंगलबार स्थायी राजधानी देउखुरीमा प्रदेश पदक प्रदान गरेको छ । प्रदेश प्रमुख अमिक शेरचनले १० विधामा ५७ जनालाई विभिन्न पदकबाट विभूषित गरेका हुन् । 
प्रदेश सरकारले हरेक वर्ष घोषणा गर्ने विभूषितको नाम सरकारले गठन गरेको पदक सिफारिस समितिको सिफारिस अनुसार प्रदेश राजपत्रमा असोजमा प्रकाशित   भइसकेको थियो । 

जसअनुसार  विभूषित हुनेमा  नेपालको प्रजातान्त्रिक आन्दोलनका योगदान दिएका अर्घाखाँचीका भक्तिप्रसाद आचार्य (राजु नेपाली) समेत रहेका छन् । यस्तै प्रदेश प्रमुख जनसेवा पदक ‘ख’ बाट कपिलवस्तुका रामवरण यादव र  रुकुम पूर्वका प्रेम मल्ल तथा दिलमाया विक विभूषित भएका छन् । 

यस्तै प्रदेश प्रमुख जनसेवा पदक ‘ग’ बाट बाँकेका माताप्रसाद कुर्मी रगुल्जार खान र बर्दियाकी निर्मला योगीलाई प्रदान गरिएको छ । यस्तै सोही पदक रोल्पाकी लली रोकालाई (मरणोपरान्त) समेत प्रदान गरिएको छ । 
मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ‘क’ पदक गुल्मीका ९२ वर्षीय बामपन्थी नेता कर्णबहादुर क्षेत्री , मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ‘ग’ पदक बर्दियाका टीकाराम थारु र  रोल्पाका तेजकुमारी वलीलाई प्रदान गरिएको छ।  
प्रदेश सेवा समर्पण ‘क’ एक जनालाई, प्रदेश सेवा समर्पण ‘ख’ १५ जनालाई, प्रदेश सेवा समर्पण ‘ग’ दुई जनालाई  दिइएको छ । 

यस्तै उजिरसिंह दीप पदक ‘ख’ चार जनालाई, उजिरसिंह दीप पदक ‘ग’ दुई जनालाई, समाजसेवा श्री पदक ‘क’ एक जनालाई, ‘ख’ आठ जनालाई, ‘ग’ दुई जनालाई, प्रदेश रत्न पदक ‘ख’ एक जनालाई, ‘ग’ दुई जनालाई, पुथाश्री शिखर पदक ‘ग’ एक जनालाई, प्रदेश प्रज्ञा पदक ‘ख’ दुई जनालाई दिइएको छ ।  

प्रजापति गौतमी पदक ‘ख’ एक जनालाई, ‘ग’ दुई जनालाई, दङ्गीशरण बलिहाङ पदक ‘ख’ एक जनालाई र ‘ग’ एक जनालाई दिईएको छ । 
स्थापना दिवसमा मुख्यमन्त्री कुलप्रसाद  केसी, प्रदेशका विभिन्न मन्त्री, प्रदेश सभाका सदस्यहरुको सहभागिता रहेको प्रेस संयोजक मानसिंह विकले रातोपाटीलाई बताए । कार्यक्रम दाङको देउखुरीस्थित राप्ती प्राविधिक शिक्षालयमा भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप