एमसीसीबारे अमेरिका र चीनलाई नेपालले दियो जवाफ
नेपाललाई लिएर अमेरिका र चीनबीच वाकयुद्ध सुरु भएपछि नेपालले आइतबार दुवै देशलाई जवाफ दिएको छ । परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै कुन विकास सहायता लिने भन्ने निर्णय नेपालको सार्वभौम संसदले मात्र गर्ने जनाएको हो ।
‘हाम्रो राष्ट्रिय हित र प्राथमिकताका आधारमा नेपालले विकास सहायता स्वीकार गर्ने निर्णय गरेको हो,’ परराष्ट्र मन्त्रालयले भनेको छ, ‘नेपाल र नेपाली जनताको हितमा कुन विकास सहायता चाहिन्छ भन्ने कुरा नेपालको सार्वभौम संसदले मात्रै निर्णय गर्छ ।’
नेपाल र ५० करोड डलरको अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लाई लिएर विभिन्न धारणाहरू सार्वजनिक भएपछि परराष्ट्रले आइतबार विज्ञप्ति जारी गर्दै नेपालको लाइन स्पष्ट पारेको हो । ‘नेपालले सधैं स्वतन्त्र, सन्तुलित र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै आएको छ । यो नीतिअनुरूप सार्वभौमसत्ता सम्पन्न राष्ट्रका रूपमा नेपालले आफ्नो राष्ट्रिय आवश्यकता र प्राथमिकताअनुसार विकास सहायता स्वीकार गरी उपयोग गरेको छ,’ परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।
नेपालको विकास र पूर्वाधार निर्माणमा अन्तर्राष्ट्रिय विकास सहायताले महत्वपूर्ण भूमिका खेलेको परराष्ट्रले जनाएको छ । परम्परागत रूपमा बलियो साझेदारी र सहयोगको साथसाथै नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गर्ने संयुक्त राष्ट्र संघलगायत क्षेत्रीय र बहुपक्षीय विकास साझेदारहरूप्रति परराष्ट्रले कृतज्ञता प्रकट गरेको छ ।
‘हामी हाम्रा मित्रहरुबाट निरन्तर सद्भावको आशा गर्दछौ,’ परराष्ट्रले भनेको छ । पछिल्ला दिन नेपाल र एमसीसीलाई लिएर अमेरिका र चीनबीच भनाभन चलेको थियो ।
अमेरिकाले एमसीसी नेपालको संसदबाट अनुमोदन नभए चीनको कारण त्यस्तो भएको भन्ने बुझ्ने बताएको थियो । त्यसपछि चीनले एमसीसी अनुमोदन गर्न अमेरिकाले नेपालमाथि ‘धम्कीपूर्ण कूटनीति’ अपनाएको आरोप लगाएको थियो । अमेरिका र चीनबीच भनाभन् सुरु भएपछि नेपालले आइतबार विज्ञप्ति जारी गरी दुवै देशलाई जवाफ दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशमा ठुलो सुरक्षा चुनौती छैन : प्रधान सेनापति शर्मा
-
५ दिनभित्र दशरथ रङ्गशालाको स्तर सुधार गरिएको प्रगति विवरण पेस गर्न मन्त्री श्रेष्ठको कडा निर्देशन
-
अरविन्द केजरीवालको जमानत याचिकामा सर्वोच्च अदालतले सुनाएन फैसला
-
तपाई दाँत माझ्ने बुरुस ट्वाइलेटमा राख्नु हुन्छ ?
-
‘पाँचौँ राष्ट्रिय मह मेला २०८१’ आयोजना हुँदै
-
संसद् बैठकलाई रोकतोक बिना अगाडि लैजान महत्त्वपूर्ण आधार तयार भयो : सभामुख घिमिरे