सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय
कर्णाली प्रदेश

बजेट प्रस्तुत गर्ने वेला कर्णालीमा सरकार र प्रतिपक्षबिच विवाद, सभा अनिश्चित

आइतबार, ०१ असार २०८२, १६ : ०८
आइतबार, ०१ असार २०८२

सुर्खेत । कर्णालीमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले योजना बैंकमाथि प्रश्न उठाउँदै प्रदेश सभा बैठकमा सहभागी नहुने भनेपछि दिउँसो ३ बजे बस्ने भनिएको सभा अनिश्चित बनेको छ । माओवादी संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले एकलौटी तरिकाले आफूखुसी बजेट ल्याउन लागिएको भन्दै प्रश्न उठाएको बताए । 

‘सरकारले ‘आयोजना बैंक’ का नाममा अपारदर्शी र एकलौटी ढङ्गले बजेट निर्माण प्रक्रिया अघि बढाएको छ,’ उनले रातोपाटीसँग भने, ‘बजेटको आधार मानिएको आयोजना बैंक अहिलेसम्म सार्वजनिक गरिएको छैन । र त्यसमा के–कस्ता योजना छन् भन्नेबारे कसैलाई जानकारी छैन ।’

आयोजना बैंकभित्र के छ भनेर कुनै पत्रकारहरूले पनि नदेखेको भन्दै उनले यो सार्वजनिक हुनुपर्ने विषय भएको बताए ।  बजेट निर्माण प्रक्रियालाई ‘अवैध र चोर बाटो’ को संज्ञा दिँदै उनले सरकारले आग्रह–पूर्वाग्रहपूर्ण तरिकाले आफ्ना योजना मात्र समावेश गरेको आरोप लगाए । 

जिल्लास्तरीय समितिले सिफारिस गरेका र मन्त्रालयसम्म पुगेका योजनालाई समेत बेवास्ता गरिएको उनको भनाइ छ । सदनमा यसबारे कुरा उठ्दा समेत सरकारले प्रक्रियामा सामेल गर्ने प्रतिबद्धता जनाए पनि पछि त्यसमाथि प्रतिबन्ध लगाएको उनले बताए । 

यही विवादका कारण कार्य व्यवस्था परामर्श समितिको बैठक समेत अवरुद्ध भएको र आफूहरू बैठकबाट बाहिरिएको उनले जानकारी दिए । ‘यस्तो अपारदर्शी र विवादित पृष्ठभूमिमा तयार भएको बजेटमा हाम्रो स्वामित्व रहँदैन र यसलाई सदनमा पेस गर्न दिइने छैन,’ उनले भने।

यता बजेटको ब्रिफकेस बोकेर अर्थमन्त्री राजीवविक्रम शाह भने प्रदेश सभामा पुगिसकेका छन् । तर बैठक भने अनिश्चित बनेको छ ।

प्रदेश सभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौड्यालले पनि बैठक बस्न नसकेको बताए । ‘केही कुरा नमिलेको जस्तो छ, केही समय लाग्छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप