एमसीसीको साइडइफेक्ट : वीरेन्द्रनगरमा कर्फ्यू, गोलीसमेत हान्न सक्ने आदेश
सुर्खेत । सोमबार दिनभर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको अवस्था तनावग्रस्त बन्यो । एमसीसी सम्झौता संसद्‍बाट पारित गरेको विरोधमा आह्वान गरिएको नेपाल बन्दको क्रममा आयोजित प्रदर्शन प्रहरीसँगको झडपमा परिणत भएको थियो । सोमबार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ दलले नेपाल बन्द घोषणा गरेका थिए ।
प्रदर्शन उग्र बन्दै गएपछि वीरेन्द्रनगरका मुख्य चोकहरूमा प्रहरी परिचालन गरिएको थियो । प्रहरीले बेलुका पाँच बजेपछि आन्दोलन साम्य हुने अपेक्षा गरेको थियो । तर साँझ बन्दकर्ताहरू झन् उग्र बन्द गर्दै ढुंगामुढा बर्साउँदै बजार परिक्रमा गरेका थिए । सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले रातोपाटीसँग कुरा गर्दै भने,‘पाँच बजेपछि आन्दोलन साम्य होला भनेर हामीले सोचेका थियौँ । तर उनीहरूले त्यसपछि उग्र बन्दै नेपाली काँग्रेस र नेकपा एमालेको पार्टी कार्यालयका ढुंगामुढा बजाउनेदेखि आगो लगाउने प्रयास समेत गरे । पार्टी कार्यालयका ब्यानरहरू त जलाएर नै छाडे ।’
उनका अनुसार मंगलगढी चोक र वीरेन्द्र चोकको प्रहरी बिट पनि बन्दकर्ताले तोडफोड गरेका छन् भने सोमबार दिउँसो एक होटेल व्यवसायीलाई घाइते बनाएर मंगलबार उपचारको लागि काठमाडौँ लगिएको छ । प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार बन्दकर्ताहरूले अहिले पनि लुकिछिपी प्रहरीमाथि ढुङ्गा हान्ने क्रम जारी रहेको बताउँछन् । उनले भने,‘मंगलबार बिहान प्रहरीमाथि ढुङ्गा हान्न प्रयास गर्ने तीन जनालाई पक्राउ गरिएको छ।’
प्रहरीका अनुसार सोमबार बिहानदेखि अहिलेसम्म २० जना आन्दोलनकर्ता प्रहरीको नियन्त्रणमा रहेका छन् । जसमध्ये १७ जनालाई सोमबार नै पक्राउ गरिएको थियो । यस्तै दुई पक्षबीचको झडपमा ७ जना प्रहरी घाइते भएका छन् । सोमबार बन्दकर्ता र सुरक्षाकर्मीबीच भएको झडपमा प्रहरीले तीन दर्जन भन्दा बढी राउन्ड अश्रुग्याँस प्रहार गरेको प्रहरीले जनाएको छ ।
स्थिति नियन्त्रणभन्दा बाहिर जान नदिन सोमबार राति आठ बजेदेखि मंगलबार साँझ साढे सात बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार वीरेन्द्रनगरको पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको ५ सय मिटर क्षेत्रसम्म कर्फ्यू लाग्ने छ ।
प्रमुख जिल्ला अधिकारी रिजालले कर्फ्यू आदेशलाई उल्लङ्घन गर्नेलाई गोलीसमेत हान्न सकिने आदेश जारी गरिएको जानकारी दिए । उनले भने,‘ हामी सुरुमा सम्झाई बुझाई गर्छौँ । यदि आदेशको वास्ता नै नगरी बढ्ता भएको खण्डमा गोली समेत हान्न सकिने आदेश जारी छ ।’ मंगलबार बिहानैदेखि वीरेन्द्रनगरमा प्रहरी परिचालन गरिएको छ। प्रहरीले सडकमा ननिस्कन आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनमा सडक सुचारु राख्न विशेष कार्ययोजनाः देशैभर हेभी उपकरण तैनाथ
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
