बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

विप्लवले बढाउन थाले राजनीतिक सक्रियता, नेताहरुसँगको भेटघाट तीव्र

बुधबार, १८ फागुन २०७८, २१ : ३६
बुधबार, १८ फागुन २०७८

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले पछिल्ला दिन विभिन्न राजनीति दलका नेताहरूसँगको राजनीतिक भेटघाटलाई तिव्रता दिएका छन् । एमसीसी सम्झौताका विषयमा कतिपय राजनीतिक दलहरुभित्रै अन्तर संघर्ष चर्किरहेका बेला महासचिव चन्दले दलका नेताहरूसँगको भेटघाटलाई तिब्रता दिएका हुन् ।

बुधबार महासचिव चन्दले नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरे । ललितपुरको हात्तिवनस्थित श्रेष्ठ निवासमा भएको दुई नेता बीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ । 

एमसीसी सम्झौतालाई लिएर माओवादीभित्र अन्तरसंघर्ष चर्किरहेका बेला विप्लव हात्तिवन पुग्नुलाई चासोको साथ हेरिएको छ । एमसीसीबारे श्रेष्ठ र विप्लवको एकै लाइन रहेको छ । दुवै एमसीसीको विपक्षमा रहेका छन् ।  बुधबार नै महासचिव चन्दले नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग पनि भेटवार्ता गरेका छन् । अध्यक्ष बिजुक्छेसँगको भेटवार्तामा एमसीसी सम्झौताकै विषयमा छलफल भएको बताइएको छ । 

बिजुक्छे भेट्न विप्लव पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई लिएर भक्तपुर पुगेका थिए । भेटवार्तामा नेमकिपाका सांसद प्रेम सुवालसमेत सहभागी थिए ।  बिजुक्छे र विप्लवबीच नेपाली राजनीतिको पछिल्लो अवस्था र एमसीसी लगायतका विषयमा कुराकानी भएको विप्लव सचिवालयले जानकारी दिएको छ । 

विप्लव नेतृत्वको नेकपा र बिजुक्छे नेतृत्वको नेमकिपा दुवै एमसीसी खारेज गर्नुपर्ने पक्षमा छन् । नेमकिपाले संसदमै एमसीसीको विरोध गरेको थियो । यसअघि महासचिव चन्दले नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालसँग पनि भेटवार्ता गरेका थिए । खनालसँगको भेटवार्तामा पनि चन्दको एमसीसी सम्झौताका विषयमा छलफल भएको बताइएको छ । खनालले सुरुदेखि नै एमसीसीको विरोध गर्दै आएका थिए ।

 विप्लव नेतृत्वको नेकपा लगायत ६ वामपन्थी दल लगायतका मोर्चा र संगठनहरुले एमसीसी सम्झौताको विरोध गर्दै आएका छन् । ती दलले एमसीसी सम्झौताको विरोधमा आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरिसकेका छन् । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप