शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशमा २ अर्ब ४२ करोड रुपैयाँ सांसदको तजविजमा खर्च गरिँदै

बिहीबार, १९ फागुन २०७८, १० : १२
बिहीबार, १९ फागुन २०७८

बागमती प्रदेश सरकारले सांसदको तजविजमा बजेट खर्च गर्न सिफारिस गरेको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले संसद विकास कोष कार्यान्वयन गर्न सिफारिस गरेको हो । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८/०७९ को बजेटमा प्रदेश पूर्वाधार साझेदारी कार्यक्रमको नाममा सांसदको तजबिजमा खर्च गर्ने बजेट विनियोजन गरेको थियो । उक्त रकमलाई कार्यान्वयन गर्नका बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको हो ।

चालु आर्थिक वर्षको बजेटमा प्रदेश सरकारले सांसद् विकास कोष अन्तर्गतको प्रदेश पूर्वाधार साझेदारी कार्यक्रम मार्फत् प्रत्यक्ष निर्वाचित सांसदलाई ३ करोड र समानुपातिक सांसदलाई १ करोड रुपैयाँका दरले बजेट विनियोजन गरेको थियो ।

प्रदेश सरकारले सोही दर अनुसार चालु आर्थिक वर्षका लागि प्रदेश पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत कुल २ अर्ब ४२ करोड रुपैयाँ विनियोजन गरेको थियो । बागमती प्रदेशका तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारले चालु आर्थिक वर्षको बजेटमा उक्त कार्यक्रम समावेश गरेको हो ।

प्रदेश सरकारले प्रदेश पूर्वाधार साझेदार कार्यक्रमको सो बजेट कार्यान्वयनका लागि क्षेत्र अनुसार खर्च गर्ने प्रतिशत पनि तोकेको छ । सरकारले उक्त कार्यक्रम अन्तर्गतको बजेट भौतिक पूर्वाधारमा ५० प्रतिशत, शिक्षामा ३० प्रतिशत र स्वास्थ्य क्षेत्रमा २० प्रतिशतका दरले खर्च गर्नुपर्ने बाध्यकारी नियम बनाएको छ ।

प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णराम खनालले बुधबारको मन्त्रिपरिषद् बैठकबाट स्थानीय तहबाट कार्यान्वयन भइरहेका समपूरक योजनालाई पूर्णता दिने निर्णय भएको बताए । उक्त निर्णय अनुसार प्रदेशका २५ पालिकामा संचालित प्रदेश पूर्वाधार विकास कार्यक्रम अन्तर्गतका समपूरक योजनाको १२ करोड ४८ लाख ३७ हजार रुपैयाँ रकम भुक्तानी दिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप