बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

१४ वर्षसम्म पनि तयार भएन सडक

सोमबार, २३ फागुन २०७८, १४ : २३
सोमबार, २३ फागुन २०७८

गुल्मीमा साढे ५ किलोमिटर लामो सडक खन्न लागेको करिब डेढ दशक हुँदा पनि अझै निर्माण सम्पन्न हुन सकेको छैन । उपभोक्ता र सरकारसमेत गरी हालसम्म झण्डै सवा करोड खर्च भइसकेको सडकमा अहिलेसम्म भएको लगानी ‘बालुवामा पानी’सरह देखिएको हो । सडकको ट्रयाक खोलिए पनि निर्माण अझै अलपत्र अवस्थामै छ ।

रेसुङ्गा नगरपालिका–४ अर्खलेस्थित खोरपाटा–डाँडाखर्क–रातचौर मोटरबाटो अलपत्र परेको हो । उक्त सडकमा ठाउँठाउँमा पहिरो गएर क्षति भएको छ भने एकातिर बनाउँदै जाने, अर्कोतिर भत्किँदै जाने अवस्था छ ।

स्थानीयवासी भरत पन्थीका अनुसार आर्थिक वर्ष २०६४/०६५  सालमा साविक अर्खले गाविसबाट ९० हजार विनियोजन गरी उक्त मोटरबाटो खन्न सुरु गरिएको थियो ।

नेपाली काँग्रेसका नेता खिलध्वज पन्थी र माओवादीका नेता ठाकुर प्रसाद पाण्डेको पहलमा उक्त सडक निर्माण योजनालाई दोस्रो वर्ष रातो किताबमा पारिएको थियो । त्यसलगत्तै साविक जिल्ला विकास समिति मार्फत एक करोड खर्चिएर सडक निर्माणको काम भयो । उपभोक्ताले पटक पटक गरी १० लाख रुपैयाँ संकलन गरी मोटरबाटोमा खर्च गरे । तर झण्डै सवा करोड खर्चिदा पनि बालुवामा पानी खन्याएजस्तो भएको छ ।

पूर्ववर्ती सरकारले उक्त सडक निर्माण योजनालाई रातो किताबबाट हटाएपछि स्थानीय उपभोक्ता थप निराश भएका छन् ।

स्थानीयवासीले सो क्षेत्रका प्रदेशसभा सदस्य खड्क केसी र प्रतिनिधि सभा सदस्य गोकर्णराज बिष्ट समक्ष पनि समस्या समाधानका लागि पटक पटक गुहार मागे । तर, अहिलेसम्म सडक योजना सम्पन्न गराउने दिशामा चासो नदेखाइएको स्थानीयवासी बताउँछन् ।

रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसाल मोटर बाटो खनिए पनि नियमित गाडी सञ्चालन हुन समस्या भइरहेको बताउँछन् । यसबारे आफूले सम्बन्धित निकायसँग बुझेर समस्या समाधानका लागि पहल गर्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप