आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : विप्लवको बैठकदेखि चुनावी कार्यतालिका तयसम्म

शुक्रबार, ०४ चैत २०७८, २१ : ३८
शुक्रबार, ०४ चैत २०७८

आज मिति २०७८ साल चैत महिनाको ४ गते शुक्रबार । आज दिनभरका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको सन्ध्याकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ ।

१. चुनावी कार्यतालिका तय

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आयोगले शुक्रबार आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो । जसअनुसार वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । आयोगका अनुसार उजुरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर वैशाख १५ गने उम्मेदवारको नामावली सार्वजनिक हुने तय गरिएको छ ।

​२. मासुको भाउ बढ्यो

हाल बजारमा ब्रोइलर कुखुराको मासु प्रतिकिलो ४२० रुपैयाँसम्म पुगेको छ । कुखुरापालकबाट प्रतिकिलो ३०० रुपैयाँमा जिउँदो कुखुरा लिएर व्यवसायीहरूले ४२० रुपैयाँमा तयारी मासु बेचिरहेका छन् ।

गत फागुन मध्यसम्म उपभोक्ताहरूले खुद्रा बजारमा कुखुराको मासु प्रतिकिलो ३५० रुपैयाँसम्ममा पाउँथे । तर, केही दिनयता मासुको मूल्य प्रतिकिलोमा ७० रुपैयाँसम्म बढेको छ । यो वृद्धि साविक मूल्यमा १६.६७ प्रतिशतसम्म बढी हो ।

​३. झा बने महामूर्ख

मधेस प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा। भोगेन्द्र झालाई महामूर्ख घोषणा गरिएको छ । शुक्रबार जनकपुरधाममा मिथिला नाट्यकला परिषदले फागु महोत्सवको अवसरमा आयोजना गरेको महामूर्ख सम्मेलनबाट उपाध्यक्ष डा झालाई महामूर्ख घोषणा गरिएको हो ।

हरेक वर्षझैँ यस वर्षपनि महामूर्ख सम्मेलनमा समाजसेवी, बुद्धिजीवी, राजनीतिकर्मी, मन्त्री, प्रदेशसभा सदस्य, जनप्रतिनिधिहरु लगायत दर्जनौं विशिष्ट व्यक्तिहरुलाई समावेशी ढंगबाट अन्य विभिन्न उपाधि समेत प्रदान गरिएको छ ।

यसैबीच शुक्रबार मधेसमा होली मनाइएको छ ।

४. काँग्रेस बैठक तय

पाली काँग्रेसको केन्द्रीय समिति बैठक चैत ११ गतेका लागि तय भएको छ । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा बोलाइएको काँग्रेस बैठकलाई महत्वका साथ हेरिएको छ ।

काँग्रेस कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले चैत्र ११ गते दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्ने तय भएको जानकारी दिए ।

​५. युरेनियम पुष्टि भएन

गत फागुन पहिलो साता राजधानीको बौद्धबाट बरामद भएको धातु युरेनियम नभएको पुष्टि भएको छ।  दुई छुट्टाछुट्टै प्रयोगशालामा गरिएको परीक्षणमा सो धातु युरेनियम भएको पुष्टि नभएको काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख गंगा प्रसाद पौडेलले रातोपाटीलाई जानकारी दिए ।

​६. पल शाह प्रकरण

नाबालिगमाथि बलात्कारको अभियोग लागेका अभिनेता पल शाहलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ ।

जिल्ला अदालत तनहुँका स्रेस्तेदार मीन बहादुर कुँवरले शाहमाथि अनुसन्धानका लागि  अदालतले थप ५ दिनको समय प्रदान गरेको रातोपाटीलाई जानकारी दिए । फागुन १५ गते पक्राउ परेका शाहमाथि यसअघि नै दुई पटक म्याद थप भइसकेको छ । पछिल्लो पटक थप गरिएको म्याद शुक्रबार सकिँदै थियो ।

​७. नेकपाको बैठक

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटि बैठक एक घण्टा बसेर स्थगित भएको छ । केन्द्रीय कार्यालय कपिलवस्तुमा शुक्रबार दिउँसो २ बजेदेखि ३ बजेसम्म बैठक बसेर शनिबारसम्मका लागि स्थगित भएको हो ।

बैठकले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन उपयोग वा बहिष्कार भन्नेबारे बैठकले निर्णय गर्नेछ । शुक्रबारको बैठकमा ६९ जना केन्द्रीय सदस्य र ७ मध्ये ४ जना सल्लाहकारको उपस्थिती रहेको थियो ।

गत २६ फागुनमा सम्पन्न सो पार्टीको सचिवालय बैठकमा महासचिव विप्लवले चुनाव उपयोग गर्नुपर्ने प्रस्ताव गरेका थिए । तर उक्त प्रस्तावमा केही नेताले फरक मत राखेपछि यसबारे पार्टीमा बहस चर्किएको थियो । 

​८. नेपाल पराजित

आइसीसी विश्वकप क्रिकेट लिगअन्तर्गत संयुक्त अरब इमिरेट्समा जारी त्रिकोणात्मक शृंखलामा नेपाल घरेलु टोलीसँग ४८ रनले पराजित भएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा एक सय ६९ रनको लक्ष्य पछ्याएको नेपाल ३५.१ ओभरमा एक सय २० रनमै समेटियो ।

​९. डीआईजीमा बढुवाबारे

नेपाल प्रहरीका ३ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा सिफारिस गरेसँगै खाली हुने डीआईजीको ३ सिटमा बढुवा गर्न बाटो खुलेको छ ।  चैत १ मा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितीले धीरजप्रताप सिंह, बसन्त पन्त र रविन्द्रबहादुर धानुकलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको थियो । सो सिफारिसलाई एक सातापछि मन्त्रिपरिषद्ले सदर गर्नुपर्ने कानुनी व्यवस्था छ ।

​१०. र, यो पनि ....

शुक्रबार अमेरिकी जहाज काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । उक्त जहाज अमेरिकन राजदूतावासका कागजात लिएर काठमाडौं आएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीकाअनुसार अमेरिकन जहाज बंगलादेशको राजधानी ढाकाबाट दूतावासका कागजात लिएर काठमाडौं आएको हो ।

​काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण कामहरुको सूची सार्वजनिक गरेका छन् । शुक्रबार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी महानगर प्रमुख शाक्यले चार वर्षमा गरेका महत्वपूर्ण कामको सूची सार्वजनिक गरेका हुन् ।  

​पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ । ५९१४ जनामा गरिएको नमूना परीक्षणमा ५१ जनामा संक्रमण पुष्टि भएको हो । 

​गृहमन्त्री बालकृष्ण खाणसँग संघीय लिम्बुवान पार्टी नेपालको प्रतिनिधिमण्डलले भेट गरेको छ । गृह मन्त्रालयमा भएको भेटमा गृह मन्त्रीसँग प्रतिनिधिमण्डलले विभिन्न समयमा पक्राउ गरेका आफ्ना नेता तथा कार्यकर्ता रिहाइ तथा लागेका मुद्दा फिर्ताका लागि अनुरोध गरेका थिए ।

​ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सिँचाइमा खपत हुने विद्युत निःशुल्क बनाउने घोषणा गरेकी छन् । मन्त्री भुसालले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाई मुलुकको अर्थतन्त्रलाई टेवा पुर्याउनका लागि आफूले सिँचाइमा खपत हुने विद्युत निःशुल्क बनाउने लक्ष्य लिएको पनि स्पष्ट पारिन् ।

गत फागुन २७ मा इमेल मार्फत राजीनामा पत्र दर्ता गराएका कर्णाली प्रदेशसभा सदस्य ठम्मर विष्टले प्रदेशसभा सदस्य छाडेको सनाखत गरेका छन् । बिहीबार सभामुख राजबहादुर शाही समक्ष उनले सनाखत गरेका हुन् । 

​थप समाचार

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप