बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री कप यु–१९ महिला क्रिकेट : कर्णाली प्रदेशको विजयी सुरुवात

आइतबार, ०६ चैत २०७८, २१ : १०
आइतबार, ०६ चैत २०७८

मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता कर्णाली प्रदेशले सुदुरपश्चिम प्रदेशलाई हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।  कैलालीको धनगढीमा आइतबारबाट सुरु भएको प्रतियोगितामा कर्णालीले सुदूरपश्चिम प्रदेशलाई ३४ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९३ रन बनायो । ९४ रनको विजयी लक्ष पछ्याएको सुदूरपश्चिमको टिमले १३.४ ओभरमा आफ्ना सबै विकेट गुमाएर ५९ रन मात्रै बनाउनु सक्यो । सुदूरपश्चिमका लागि पवित्रा धामीले अविजित १० रन बनाउनु बाहेक अन्य ब्याटरको प्रदर्शन राम्रो रहन सकेन ।

सुदूरपश्चिमलाई सस्तैमा समेट्न कर्णाली प्रदेशकी एन्जीला थापाले ३ ओभर बलिङ गर्दै १३ रन खर्चेर महत्वपूर्ण ३ विकेट लिइन् । उसका श्रीमी थारु, दीक्षा पुरी र तिर्सना विश्वकर्माले समान २/२ तथा विना थापाले १ विकेट लिइन् ।

त्यसअघि कर्णाली प्रदेशका लागि किरण कुँवर र तिर्सना विश्वकर्माले ६४ रनको सुरुवाती साझेदारी गर्दै टिमलाई राम्रो स्कोरतर्फ डोर्याए । किरणले व्यक्तिगत २५ र तिर्सनाले १२ रन बनाएर आउट भइन । बलिङ तर्फ सुदूरपश्चिमका लागि सावित्री धामीले ३ र मनीषा चौधरीले १ विकेट लिइन । खेलको प्लेयर अफ दी म्याच कर्णालीकी एन्जीला थापा भइन् ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सञ्चालन भएको प्रतियोगिताको विजेता टिमले पाँच लाख र दोस्रो हुनेले तीन लाख नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा ७ प्रदेशका सात १९ वर्ष मुनिका महिला राष्ट्रिय क्रिकेट टिमका खेलाडीको सहभागिताका जनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप