आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : एमालेले यसरी छान्दैछ उम्मेदवार, आयोगले खुलायो राजीनामाको शर्त राख्नुको कारण

लेटाङ घटनाको चिरफार : के भन्छन् घाइते ?
सोमबार, ०७ चैत २०७८, २१ : १५
सोमबार, ०७ चैत २०७८

आज २०७८ चैत ७ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारमा स्थानीय तहका लागि एमालेले यसरी छान्दैछ उम्मेदवार, चिनियाँ विदेशमन्त्री चैत ११ गते आउने, लेटाङ घटनाको चिरफार : के भन्छन् घाइते ?, आठ महिनामा डेढ खर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात, जनप्रतिनिधिलाई उम्मेदवार बन्न राजीनामाको शर्त राख्नुको कारण खुलायो आयोगले, स्थानीय तहको निर्वाचन अघि नै सरकारमा जाने लोसपाको चाहना लगायत छन् ।

१. स्थानीय तहका लागि एमालेले यसरी छान्दैछ उम्मेदवार
प्रमुख प्रतिपक्ष नेकपा एमालेले स्थानीय तहको निर्वाचन केन्द्रित गतिविधि बढाउन थालेको छ । सोही क्रममा एमालेले उम्मेदवार छान्न ६ वटा मापदण्ड तयार पारेको छ भने पार्टीको घोषणापत्र वैशाख ९ गते सार्वजनिक गर्ने भएको छ ।

२. चिनियाँ विदेशमन्त्री चैत ११ गते आउने
चिनियाँ विदेशमन्त्री वाङ यी आगामी चैत ११ गते नेपाल भ्रमणमा आउने निश्चित भएको छ । परराष्ट्र मन्त्री नारायण खड्काको निमन्त्रणमा उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले सोमबार जानकारी दिएको छ । अमेरिकी सहयोग परियोजना संसदबाट अनुमोदन भएलगत्तै चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणलाई चासोका साथ हेरिएको छ ।

३. लेटाङ घटनाको चिरफार : के भन्छन् घाइते ?
एक प्रहरीको मृत्यु तथा कयौं प्रहरी घाइते हुने गरी आइतबार लेटाङमा भएको घटनामा संलग्न शंकास्पद केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । सोही घटनामा गोली लागेर अस्पतालमा उपचार गराइरहेका एक घाइतेले आफू भाइको बर्थ डेका लागि सामान किनेर फर्किरहेको अवस्थामा गोली लागेको बताएका छन् । 

४. आठ महिनामा डेढ खर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात
चालू आर्थिक वर्षको ८ महिनामा नेपालले १ खर्ब ६७ अर्ब ८२ करोड रुपैयाँको पेट्रोलियम पदार्थको आयात गरेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको साउनदेखि फागुनसम्मको तथ्याङ्कअनुसार डेढ खर्बभन्दा बढीको पेट्रोलियम पदार्थको आयात भएको हो ।

५. पल शाहमाथिको अनुसन्धान प्रतिवेदन तयार
अभिनेता पल शाह संलग्न जबरजस्ती करणी सम्बन्धी अनुसन्धान प्रहरीले पूरा गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ । 

६. जनप्रतिनिधिलाई उम्मेदवार बन्न राजीनामाको शर्त राख्नुको कारण खुलायो आयोगले
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा जनप्रतिनिधिले उम्मेदवारी दिनुअघि राजीनामा गर्ने व्यवस्था नगरिएको भए ठुलो दुर्घटना हुने बताएको छ । आयोगले सोमबार गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले यसबारे प्रस्ट्याएका हुन् ।

७. बूढानीलकण्ठ दुर्घटना प्रकरण : चालक दोषी ठहर
दुई वर्षअघि काठमाडौंको बूढानीलकण्ठमा भएको सवारी दुर्घटनाका आरोपित दोषी ठहर भएका छन् । सोमबार काठमाडौं जिल्ला अदालतले आंशिक दावी पुग्ने ठहर गर्दै दोषी ठहर गरेको हो । आइतबार न्यायाधीश सूर्यप्रसाद अधिकारीको इजलासमा परेको उक्त मुद्दाको बहस नसकिएपछि उक्त मुद्दा हेर्दाहेर्दैमा परेको थियो ।

८. स्थानीय तहको निर्वाचन अघि नै सरकारमा जाने लोसपाको चाहना
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)  नेपाल वर्तमान सरकारमा सहभागी हुन सकारात्मक भएको छ । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग पटक–पटक भएको छलफलले सो दलका नेताहरु सरकारमा सहभागी हुनका लागि सकारात्मक भएका हुन् । तर लोसपाले स्थानीय तहको चुनावअघि नै सरकारमा सहभागी गराउन प्रस्ताव गरेको छ ।  

९. सामाजिक सञ्जालको सम्पर्क कार्यालय नहुँदा अनलाइन ठगीमा अनुसन्धान गर्न कठिन
नेपालमा सामाजिक सञ्जालको सम्पर्क कार्यालय नहुँदा प्रहरीलाई अनलाइनमार्फत भएका ठगीका घटनामा अनुसन्धान गर्न कठिन भएको छ । सामाजिक सञ्जाल फेसबुक, इमो, भाइबर, ह्वाट्स एप र इन्स्टाग्राम आजभोलि ठगीको हतियार बन्ने गरेको छ । सामाजिक सञ्जालमार्फत व्यक्तिसँग चिनजान र सम्पर्क गरेर ठग्ने समूहले व्यक्तिको बैंक खाता, खल्ती एप्स, ई–सेवामा पहुँच बनाएर रकम ट्रान्सफर गर्ने गरेका छन् ।

१०. र यो पनि,
आईसीसी विश्वकप क्रिकेट लिग टुमा अन्तर्गतको खेलमा नेपाल आयोजक युएईसँग ९९ रनले पराजित भएको छ । युएईले दिएको २०३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ३५.१ ओभरमै अलआउट हुँदै १०३ रनमा समेटियो ।

सरकारले आर्थिक वर्ष २०७९/०८० को प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने राजश्व बाँडफाँटको ढाँचा, हिस्सा एवं वित्तीय समानीकरण अनुदान वितरणको अनुमानित सीमा स्वीकृत गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

अभिनेता राजेश हमालले नवलपरासी पूर्वको देवचुली नगरपालिका १७ स्थित नारायणी नदी किनारको सरसफाईमा गरेका छन् । सोमबार बिहान ७ बजेदेखि ९ बजेसम्म हमालले नदी किनारमा जम्मा भएका प्लास्टिकजन्य र दाहसंस्कार गर्दा फ्याँकिएका लुगासहितका फोहोरमैला सरसफाइ र व्यवस्थापन गरेका हुन् ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप