बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

चुनावी गठबन्धनबारे दुई धारमा विभाजित काँग्रेसले कुन बाटो रोज्ला ?

नेताहरू भन्छन्– लोकतान्त्रिक विधिबाट निर्णयमा पुग्छौँ
शुक्रबार, ११ चैत २०७८, १० : १४
शुक्रबार, ११ चैत २०७८

स्थानीय तहको निर्वाचनको तयारीमा राजनीतिक दलहरू जुटिसकेका छन् । सबैजसो स्थानीय तहमा निर्वाचन केन्द्रित गतिविधि बढ्न थालेको छ । दलहरू संगठन विस्तार, घरदैलो कार्यक्रम तथा पार्टी प्रवेश कार्यक्रमलाई प्राथमिकता दिन थालेका छन् ।

उम्मेदवारका आकाङ्क्षीहरू पनि दौडधूप तीव्र तुल्याउँदै छन् । यद्यपि चुनावमा तालमेलको विषयले भने अझै गति लिन सकेको छैन । सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल हुने हो या एक्लाएक्लै प्रतिस्पर्धा गर्छन् भन्ने प्रस्ट भइसकेको छैन । सत्तारुढ गठबन्धनका अन्य घटकहरू नेपाली काँग्रेसको औपचारिक निर्णयको प्रतीक्षामा छन् । काँग्रेसमा भने अझै चुनावी तालमेलका बारेमा औपचारिक छलफल र निर्णय भइसकेको छैन । यद्यपि नेताहरू कोही गठबन्धनको पक्षमा र कोही विपक्षमा देखिएका छन् ।

शुक्रबारबाट सुरु हुने केन्द्रीय कार्यसमितिको बैठकमा चुनावी तालमेलबारे छलफल हुने बताइएको छ । पार्टीभित्र चुनावी तालमेलका बारेमा चलिरहेको बहसमा एक पक्षले आवश्यकताका आधारमा चुनावी तालमेल गर्नुपर्ने तर्क गर्दै आएको छ भने अर्को पक्षले काँग्रेस आफ्नै बलबुतामा निर्वाचनमा जानुपर्ने तर्क गर्दै आएको छ ।

एउटै पार्टीमा चुनावी तालमेललाई लिएर किन फरक मत ? भन्ने प्रश्नमा काँग्रेसका नेताहरू यसलाई ‘लोकतान्त्रिक चरित्र’का रूपमा व्याख्या गर्दछन् । लोकतान्त्रिक पार्टीमा यस प्रकारका बहस स्वाभाविक हुने उनीहरूको भनाइ छ । यद्यपि, पार्टीले यसबारेमा लोकतान्त्रिक प्रक्रियाबाटै निर्णय गर्ने र सोही निर्णय सबैका लागि मान्य हुने उनीहरू बताउँछन् ।

नेपाली काँग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले काँग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा यस्ता विषयमा बहस तथा फरक मत प्रकट हुनु स्वाभाविक भएको बताए । ‘सबैले आफ्ना विचार राख्न पाउनु नै लोकतान्त्रिक पार्टीको चरित्र हो,’ रातोपाटीसँग उनले भने, ‘त्यस विषयमा पार्टीले औपचारिक निर्णय नगरुन्जेल आफ्ना विचार राख्न सबैले पाउँछन्, तर पार्टीले लोकतान्त्रिक प्रक्रिया अनुसार निर्णय गरिसकेपछि भने पार्टीकै निर्णय सबैका लागि मान्य हुन्छ ।’

‘नेपाली काँग्रेस पार्टीले जुन कारण यो गठबन्धन गरेको हो, पार्टीगत रूपमा त्यसबारे अर्को कुनै निर्णय गरिसकेको छैन । त्यसकारण बजारमा अहिले भइरहेको अड्कलबाजी निराधार छ,’ उनले भने, ‘२०७४ सालको चुनावमा पनि तालमेल भएकै हो । स्थानीय तहको निर्वाचनमा केही स्थानीय तहमा विभिन्न दलसँग तालमेल भएकै हो । केन्द्रीय तहमा पनि केही नेताका लागि हामीले सिट नै छोडिदिएका थियौँ ।’

चुनावी तालमेलका बारेमा चाँडै नै पार्टीले निर्णय गर्ने र त्यसपछि यस्ता अड्कलबाजी आफै सेलाएर जाने उनले बताए । उनले भने, ‘नेपाली काँग्रेसले यही निर्णय गर्छ भनेर अरूले भनिदिन्छ भने त्यो अर्कै कुरा हो, यत्रो महत्त्वपूर्ण विषयमा पार्टीले निर्णय गर्ने हो । नेपाली काँग्रेस पार्टीको बैठक बसेर त्यसबारे निर्णय हुन्छ ।’

नेपाली काँग्रेस पार्टी र अन्य दलहरूको गठबन्धनको सरकार विशेष परिस्थितिमा बनेको चर्चा गर्दै पार्टीले सो गठबन्धनका बारेमा अर्को कुनै निर्णय नगरेको उनले प्रस्ट पारे । ‘तीनै तहको निर्वाचन गराउने दायित्व यो गठबन्धनसँग छ,’ मन्सुरले भने, ‘निर्वाचनसम्म गठबन्धन जान्छ, तालमेलको कुरामा त पार्टीले लोकतान्त्रिक प्रक्रियाबाट निर्णय गर्छ । पार्टीले निर्णय नगरेसम्म कसैले यही हुनुपर्छ भनेको कुराले मान्यता राख्दैन । देश, लोकतन्त्र र पार्टीको हित हुने गरी काँग्रेसले निर्णय गर्छ ।’

काँग्रेस नेतृ डिला सङ्ग्रौला पन्त पनि चुनावी तालमेलको बारेमा पार्टीको केन्द्रीय समितिको बैठकले चाँडै निर्णय गर्ने बताउँछिन् । यद्यपि उनी अहिले स्थानीय तहको निर्वाचन हुने भएकाले तालमेलको निर्णयको अधिकार स्थानीय तहकै पार्टी समितिलाई दिनुपर्ने तर्क गर्छिन् ।

‘स्थानीय तहमा तालमेल आवश्यक छ कि छैन भन्ने कुरा केन्द्रबाट थोपर्नेभन्दा पनि स्थानीय तहलाई नै जिम्मा दिनुपर्छ भन्ने पक्षमा छु,’ उनले भनिन्, ‘उनीहरूलाई आवश्यक भए तालमेल गर्छन्, नभए गर्दैनन् । भोट दिने जनताले हो, जनतालाई परिचालन गर्ने, मत माग्ने स्थानीय तहकै कार्यकर्ता हुन् । त्यसैले तालमेलको बारेमा उनीहरूलाई नै जिम्मेवारी दिँदा राम्रो हुन्छ ।’

अहिले ७७ वटै जिल्लामा ‘घरघर जाऊँ, काँग्रेस जिताऊँ’ अभियान सञ्चालन भइरहेको भन्दै उनले अभियान अन्तर्गत प्रदेश, जिल्लाले पनि प्रतिनिधि खटाएको र टोलटोलमा प्रतिनिधि पुगेको चर्चा गरिन् । उनले भनिन्, ‘उनीहरूले अन्तरक्रिया र संवाद गरिरहेका छन् । एक्लै लड्ने कि गठबन्धन गर्ने, केन्द्रबाटै गर्ने कि जिल्ला र तल्लो तहलाई नै त्यसको जिम्मेवारी दिने भन्नेबारे रिपोर्ट संकलन गरिरहेकै छौँ ।’ त्यसकै आधारमा केन्द्रीय कार्यसमितिको बैठकले उचित निर्णय गर्ने उनको भनाइ छ ।

उम्मेदवारी चयनसम्बन्धमा अधिकारको विकेन्द्रीकरण तलसम्म भएकाले चुनावी तालमेलको निर्णय पनि तलबाटै हुनुपर्ने उनको भनाइ छ । यद्यपि यसबारे पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गर्ने र त्यही निर्णयलाई पार्टीका सबैले पालना गर्ने उनले प्रस्ट पारिन् ।

काँग्रेसका अर्का नेता जगदीश्वरनरसिंह केसी भने चुनावमा गठबन्धन गर्नै नहुने तर्क गर्दछन् । सबै दलले आ–आफ्ना नीति, कार्यक्रम तथा घोषणापत्र लिएर जनतामा जानुपर्ने र जनताले जसलाई मन पराउँछन्, उसैलाई मत दिने वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ छ ।

‘हामीले केन्द्रबाट गठबन्धन गरेर, जबरजस्ती लादेर जानु गलत हो भन्ने कुरा त पहिलाको निर्वाचनले पनि देखाइसकेको छ,’ उनले भने, ‘हामीले अघिल्लो स्थानीय तहको निर्वाचनमा काठमाडौँ, पोखरा, हेटौँडा, चितवनमा गठबन्धन गरेको होइन र ? चितवनमा नेपाली काँग्रेसले भोट हाल्यो तर पोखरा, काठमाडौँ, हेटौँडामा हामीलाई सहयोग भएन ।’

आफूले अर्कालाई मत दिने तर आफूलाई अर्काको मत प्राप्त हुन नसक्ने परिस्थितिमा काँग्रेसले कसैलाई काँधमा हालेर बोकेर हिँड्नुपर्छ भन्ने नरहेको उनले बताए । आफ्नो जनमत के हो भन्ने देखाउन पनि काँग्रेसले एक्लै चुनाव लड्नुपर्ने उनको भनाइ छ ।

चुनावी तालमेलका बारेमा अहिले पार्टीभित्र भइरहेको बहसलाई सकारात्मक संज्ञा दिँदै उनले यिनै बहसको आधारमा पार्टीले उचित निर्णय लिने विश्वास व्यक्त गरे । काँग्रेस एक्लै चुनावमा जानुपर्छ भन्ने मान्यता आफूले व्यक्तिगत रूपमा राख्दै आएको भए पनि भोलि पार्टीले गर्ने निर्णय नै अन्तिम र आधिकारिक हुने उनको भनाइ छ ।

‘भोलि पार्टीले के निर्णय गर्ला, पार्टीले गरेको निर्णयलाई तल्लो तहका कार्यकर्ताले स्वीकार्नु पर्ला, त्यो आफ्नो ठाउँमा छ,’ उनले भने, ‘तर मेरो व्यक्तिगत विचारमा काँग्रेस आफ्नै घोषणापत्र लिएर एक्लै जानुपर्छ ।’

केही स्थानीय तहमा आवश्यकता अनुसार जुनसुकै दलसँग सहकार्य गर्ने गरी विकल्प खुला राख्नुपर्ने तर त्यसको निर्णय गर्ने अधिकार स्थानीय तहकै पार्टी समितिलाई दिनुपर्ने उनले प्रस्ट पारे ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप