आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

‘सुदूरपश्चिममा लेखराजले भन्दा दोब्बर स्थानमा चुनाव जिताउँछौँ’

शुक्रबार, ११ चैत २०७८, ११ : ४७
शुक्रबार, ११ चैत २०७८

प्रदेश इन्चार्ज रहेका लेखराज भट्टले माओवादी परित्याग गरेर एमालेमा प्रवेश गरेपछि सुदूरपश्चिममा नेकपा माओवादी कमजोर भएको आँकलन गरिएको छ । तर माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले आसन्न स्थानीय तह निर्वाचनमा पार्टीले विगतको भन्दा दोब्बर नतिजा हासिल गर्ने दाबी गर्छन् । उनले सुपका ८८ वटा स्थानीय तहमध्ये २० भन्दा बढी ठाउँमा जित्ने दाबी गरे ।

लेखराज भट्टले पार्टी छाडेपछि सुदूरपश्चिममा मात्रै एक लाखले पार्टी सदस्यता नवीकरण गरेको उनको दाबी छ । माओवादी आफ्नै बलबुताबाट निर्वाचनमा जाने रणनीति अनुसार काम गरिरहेको पनि भट्टले बताए । एकीकृत समाजवादी र जसपासँग सहकार्यको सम्भावना पनि प्रबल रहेको उनको भनाइ छ  । प्रस्तुत छ, माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज भट्टसँग रातोपाटीले गरेको समसामयिक कुराकानीको सम्पादित अंशः

आसन्न स्थानीय तह निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रले के कस्तो रणनीति बनाइ राखेको छ ?

संगठनलाई व्यवस्थित गरी पार्टीको विचार र राजनीतिलाई स्थापित गर्दै आफ्नै सामर्थ्य र एजेण्डाका बलमा प्रतिस्पर्धी शक्तिका रूपमा विकास गर्ने गरी कार्ययोजना निर्माण गरेका छौँ । पार्टी विभाजनको मनोविज्ञानको हल भएको छ । संगठन जुझारु र प्रभावकारी ढंगबाट मैदानमा परिचालित भएको छ । जनताको आकर्षण दिन प्रतिदिन बढ्दै गएको छ । जसको विचार उसको नेतृत्व भन्ने नारा अन्तरगत हामी अहिले जनताको बीचमा छौँ ।

पहिले हामीसँग कति सदस्य छन् भन्ने अभिलेख थिएन । कति होल टाइमर हुन् भन्ने थाहा थिएन । चैतको पहिलो साता मात्रै सुदूरपश्चिमबाट झण्डै एक लाखले पार्टी सदस्यता नवीकरण गर्नुभयो । दोस्रो कुरा हिजो हाम्रो कमिटी फर्मेसन थिएन, अहिले हामीसँग कमिटी फर्मेसन छ । अहिले हामीले टोल कमिटीदेखि केन्द्रीय समितिसम्म महाधिवेशनबाट नेतृत्व चयन गरेका छौँ ।

माओवादीमा ०७४ र वर्तमान अवस्थामा के फरक छ ?

 ०६४ मा हामी आन्दोलनकारी शक्तिका रूपमा थियौँ । हामी राजनीतिक शक्तिको स्वरूपमा पुगिसकेका थिएनौँ । अहिले हामी एउटा प्रतिस्पर्धात्मक राजनीतिक शक्तिका रूपमा स्थापित भएका छौँ । प्रतिस्पर्धी राजनीतिको जटिलता र संवेदनशीलतालाई बुझेको एउटा परिपक्व राजनीतिक शक्तिको स्वरूप हामीले ग्रहण गरेको अवस्था छ । अहिले हाम्रो पार्टी व्यवस्थित भएको छ ।

पहिले हामीसँग कति सदस्य छन् भन्ने अभिलेख थिएन । कति होल टाइमर हुन् भन्ने थाहा थिएन । चैतको पहिलो साता मात्रै सुदूरपश्चिमबाट झण्डै एक लाखले पार्टी सदस्यता नवीकरण गर्नुभयो । दोस्रो कुरा हिजो हाम्रो कमिटी फर्मेसन थिएन, अहिले हामीसँग कमिटी फर्मेसन छ । अहिले हामीले टोल कमिटीदेखि केन्द्रीय समितिसम्म महाधिवेशनबाट नेतृत्व चयन गरेका छौँ । पार्टी मात्र पनि होइन, जनवर्गीय संगठन मोर्चा पनि त्यो ढंगले व्यवस्थित र संगठित हुन पुगेका छन् । हिजोभन्दा हामी गुणात्मक रूपमा फरक ठाउँमा छौँ । हाम्रो एकता र अखण्डता पुनर्जीवित भएको छ । हाम्रो लोकप्रियता र विश्वसनीयता पुनर्स्थापित हुँदै गएको छ । हाम्रो औचित्य र उपादेयतालाई आमजनताले स्वीकार गरेको अवस्था छ ।

०७४ निर्वाचनपछि माओवादी र एमालेको एकतादेखि विभाजनसम्मको परिघटनाले माओवादीलाई कमजोर बनायो कि बलियो ?

शान्ति सम्झौतामा आइसकेपछि हाम्रो पार्टीमा वैचारिक र राजनीतिक बहस सुरु भएको थियो । मोहन वैद्यजीको टीम हामीले लिएको बाटोप्रति असहमत थियो । उहाँ परम्परागत राजनीतिक मार्गको निरन्तरता चाहनुहुन्थ्यो भने बाबुरामजी कहाँ पुग्नु भयो र के चाहनु हुन्थ्यो भन्ने जगजाहेर छ । यस्ता दुई जना काशी जान कुतीको यात्रा गर्नेहरुलाई साथमा लिएर आफूले सोचेको विचार र राजनीतिक कार्यदिशा लागु गर्ने कुरा प्रचण्डका लागि जटिल थियो । तर अहिले विचार र राजनीतिमा हाम्रो पार्टीमा कुनै मतभिन्नता छैन । कमरेड प्रचण्डको लाइन र लिडरसीपलाई सिंगो पार्टीले सहर्ष ग्रहण गरेको छ ।

यस्तै नेकपाको विभाजनपछि जति एमालेमा क्षति भएको छ, त्यति हामीलाई भएको छैन । एमालेको त एउटा हिस्सा नै एकीकृत समाजवादीका रुपमा संगठित भएको छ । माओवादीमा दुई चार जना आउने जाने कुरा हाम्रो युद्धकालमा पनि भइरहन्थ्यो । रविन्द्र श्रेष्ठ, मणि थापाहरु माओवादी छोडेर हिजो पनि गएकै हुन् । तर उहाँहरुको पछि को लाग्यो ? अहिले सुदूरपश्चिमबाट लेखराजजी एमालेमा जानु भएको छ । तर लेखराजजी गएपछि हामीले एक लाख सदस्य संगठित गर्यौं । माओवादी कमजोर भएको छ कि बलियो भन्नका लागि यो भन्दा बढी तथ्य र तर्क त पेस गर्नु नपर्ला ।

लेखराज भट्टले आसन्न निर्वाचनमा माओवादी काँग्रेससँग सहकार्य नगरे सुदूरपश्चिममा शुन्य हुन्छ भन्ने दावी गर्नु भएको छ नि ?

माओवादीको सदाबहार नेता हुँदा र तीन चार चोटी मन्त्रीको पगरी गुथ्दा पनि उहाँ आफ्नो नगरपालिकामा कति बलियो हुनुन्थ्यो भन्ने कुराबाटै हामीले हिसाब गर्दा हुन्छ । उहाँको भाइ पनि माओवादी केन्द्रबाट चुनाव लड्नु भएको थियो । उहाँको नगरपालिकामा एक जना वडाध्यक्षबाहेक एक जना सदस्य पनि माओवादीले जित्न सकेन । निर्वाचन क्षेत्रमा उहाँ कति लोकप्रिय हो भन्ने कुरा ०७० सालमा देखिएकै हो । उहाँको त्यत्रो हाइट र वेट हुँदा पनि काँग्रेसका सामान्य उम्मेदवार दीर्घराज भाटसँग चुनाव हार्नुभयो ।

माओवादीको भविष्यवाणी २०५२ सालदेखि बेलाबखतमा हुँदै आएको छ । हाम्रो पार्टी कसैको अनुकम्पा, कसैको उदारता र कसैको संरक्षणबाट बनेको पार्टी होइन ।

त्यसैले लेखराज भट्ट गएर हाम्रो पार्टीलाई संगठनात्मक रुपमा क्षति भयो भन्ने कुरा हावा हो । संगठित रुपमा सुपमा एक लाख कार्यकर्ता भएको पार्टी कमजोर छ भन्नु उहाँको कुण्ठा मात्र हो । उहाँलाई म दगुरे सबै माओवादी मेरो पछि दगुर्छन् भन्ने लागेको थियो । तर उहाँसँग गयो को ? हामी १४ जना केन्द्रीय सदस्य थियौं । त्यसमध्ये उहाँ एक्लै जानु भएको हो ।

सुदूरपश्चिममा माओवादीका १४ जना सांसद थिए । त्यसमध्ये १३ जना माओवादीमै हुनुहुन्छ । एक जना झपट बोहोरा मात्र उहाँले लग्नुभएको हो । लेखराजजी गइसकेपछि आसन्न वैशाख ३० गते हुने निर्वाचनमा हिजोको भन्दा दोब्बर सिट बढाउँछौँ । उहाँको नेतृत्वमा हामीले १० वटा स्थानीय तह जितेका थियौं । यसपटक हामी २० भन्दामाथि सजिलै जित्छौँ । त्यसैले  म एमालेमा आएपछि माओवादी सिद्धियो भन्नुपर्ने उहाँको बाध्यता छ । तपार्इं एमालेमा आउनु भयो तर तपाईंको पछि त कसैलाई ल्याउन सक्नु भएन भन्ने आलोचना उहाँले एमालेभित्रै खप्नु परेको छ । उहाँको स्वकीय सचिव उद्धव भट्टराई हाम्रो पार्टी कार्यालयको सचिव हुनुहुन्छ । त्यसैले, माओवादी कमजोर भयो भन्नु उहाँको बाध्यता हो । एमालेमा लेखराजजीको भविष्य के हो ? उहाँलाई थाहा छैन ।

तपाईंले लेखराजको भविष्य के हो भन्नुभयो, यहाँ त माओवादीको भविष्यमाथि नै गम्भीर प्रश्न उठेको छ । गठबन्धन नगरेको अवस्थामा माओवादी सकिन्छ भन्छन् नि ?

माओवादीको भविष्यवाणी २०५२ सालदेखि बेलाबखतमा हुँदै आएको छ । हाम्रो पार्टी कसैको अनुकम्पा, कसैको उदारता र कसैको संरक्षणबाट बनेको पार्टी होइन । यो आन्दोलनको रापतापबाट जन्मिएको र परिवर्तनको प्रवाहबाट स्थापित भएको शक्ति हो । २०६४ मा तपाईंलाई सम्झना होला, तत्कालीन नेकपा एमालेले हामीलाई हेपेर काठमाडौं उपत्यकाका १५ सिटमा तालमेल हुँदैन, सोह्रौँ सिट हेरौँला भनेका थिए । तर चुनावी परिणामबाट एमालेलाई हात लाग्यो शुन्य । त्यसैले अहिले एमालेले आफ्नै बलबुतामा चुनाव जित्ने कहाँ हो ? कुन क्षेत्र हो ? त्यसमा पनि एमालेभित्रको आन्तरिक द्वन्द्व सबैलाई थाहा छ ।

काँग्रेस पनि गुट उपगुटको महासंघ बनेको छ । सुदूरपश्चिममा माओवादी मात्र विचार, राजनीति, संगठनात्मक र भावनात्मक रुपमा एकताबद्ध छ । हाम्रो बीचमा अन्तरविरोध छैन । त्यसैले सुदूरपश्चिममा हामी परिणाम देखाउँछौं ।

चुनावी गठबन्धनबारे सुपमा माओवादीले के गरिरहेको छ ? अन्तरपार्टी संवाद भइरहेको छ कि छैन ? कि केन्द्रकै निर्देशन र नीति पर्खिनु भएको छ ?

पहिला हामीले संगठनको आन्तरिक जीवनलाई व्यवस्थित गर्ने कुरा टुंग्याएका छौं । सबै कमरेडलाई फिल्डमा युद्धस्तरमा परिचालन गरेका छौं । यसले हामी आफ्नै बलबुताले धेरै ठाउँमा जित्न सक्ने अवस्थामा छौं । तर गठबन्धन निर्माणको उद्देश्य सार्थक भएको छैन भन्ने हाम्रो बुझाइ छ । प्रतिगमनकारी प्रवृत्तिलाई पराजित गरी लोकतन्त्र र संविधान रक्षाका लागि गठबन्धन अझै आवश्यक छ । त्यसैले अझै पनि गठबन्धनको औचित्य छ भन्ने हाम्रो भनाइ हो । हामी कमजोर भएर यो कुरा गरेका होइनौं । संविधान र प्रणालीको रक्षा गर्ने कुरा कुनै एउटा दल विशेष दायित्व मात्र होइन, यो हामी सबैको दायित्व हो ।

व्यवस्थामाथि खतरा छ भन्दै माओवादीले पार्टीगत स्वार्थ हेरेर गठबन्धनमा जोड दिदै छ, भनिँदैछ नि ?

सुदूरपश्चिममा हामी हिजोभन्दा धेरै बलिया छौं । कर्णाली प्रदेशमा माओवादी त्यसै बलियो छ । मधेस प्रदेशमा गत निर्वाचनमा एमालेभन्दा हाम्रो पोजिसन राम्रै छ ।

मधेसमा उपेन्द्र यादव र हाम्रो हाराहारी हैसियत हो । मधेस आन्दोलनको प्रभाव र हामी जरासम्म पुग्न सकेका थिएनौं, अहिले हामी जरास्म्म पुगेका छौं । हामी हरेक ठाउँमा लोकप्रिय छौं । माओवादी कमजोर छ भनेर हावा चलाइएको छ ।

एकीकृत समाजवादी र माओवादीबीच समानता र सहकार्य देखिन्छ । आसन्न निर्वाचनमा तालमेल हुन्छ कि आआफ्नो ढंगले चुनावमा जानुहुन्छ ?

हामी हरेक विकल्पका लागि तयार छौं । वर्तमान गठबन्धन जोगाएर संविधान र लोकतन्त्रको रक्षा गर्ने कुरा, प्रतिगमनलाई परास्त गर्ने गर्ने कुरामा हामी खुला छौं । त्यसमा एमाले इतरका वामपन्थी पार्टीसँग हाम्रो मोर्चा र तालमेल सबै कुरा केन्द्रीय तहबाटै अगाडि बढ्छ ।

सुदूरपश्चिम प्रदेशमा काँग्रेस र एमालेले आफूलाई मुख्य प्रतिस्पर्धी शक्ति ठानेको देखिन्छ । माओवादी र एकीकृत समाजवादीबीच तालमेल हुँदा चुनावी प्रतिस्पर्धा कस्तो हुने देख्नु भएको छ ?

सुदूरपश्चिममा ८८ वटा स्थानीय तह छन् । त्यसमा २०/२५ स्थानमा माओवादी एक्लैले सजिलै जित्छ भनिसकेपछि हामी प्रतिस्पर्धी हौं कि होइनौं भन्नु पर्छ र ? सुदूरपश्चिम प्रदेशमा एमालेभन्दा एकीकृत समाजवादी पार्टी ठूलो छ । हामी दुईबीच तालमेल हुँदा ६० प्रतिशत नतिजा हात पर्न सकिन्छ भन्ने मेरो दावा हो ।

माओवादी, एकीकृत समाजवादी र जसपाबीच तालमेल हुने सम्भावना प्रबल छ । जहाँसम्म एमाले र काँग्रेसको कुरा छ । हामीले कार्यकर्तालाई आफ्नै खुट्टामा टेकेर प्रतिस्पर्धा गरेर जित्ने कुरा दिमागमा राखौं ।

सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री शेरबहादुर देउवाको गृह प्रदेश हो । तपाईं आफै पटक पटक उहाँसँग चुनावी प्रतिस्पर्धा गर्दै आउनु भएको छ । कम्युनिस्टको विभाजनपछि हुन लागेको निर्वाचनलाई काँग्रेसले उत्सवका रुपमा लिएको छ । यसबारे के भन्नु हुन्छ ?

काँग्रेसमा तालमेल नगरी हुँदैन भन्ने लाइन र तालमेल कुनै हालतमा गर्नु हुँदैन, एक्लै लड्नुपर्छ भन्ने लाइनका बीचमा विवाद छ । प्रधानमन्त्रीज्यूले कहीँ कतै तालमेल विरोधी अभिव्यक्ति दिनुभएको छैन, उहाँले गठबन्धनकै कुरा गर्नु भएको छ ।  वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेता पनि गठबन्धनकै पक्षमा हुनुहुन्छ । संस्थापन इतरको क्याम्पमा उभिएका नेताहरु गठबन्धनको विपक्षमा बोलिराख्नु भएको छ । यसबारे हामीले गहिरोसँग हेरिरहेका छौं ।

त्यो एक्लै चुनाव जित्न सकिन्छ भन्ने उत्साह भन्दा आफूले जितिने ठाउँ अर्को पार्टीलाई दिएर हारिने ठाउँमा आफूलाई दिने चिन्ताले काम गरेको छ । तर स्वाभाविक रुपमा कम्युनिस्टहरु फुटेका बेलामा काँग्रेस उत्साहित हुनु सामान्य कुरा हो । तर काँग्रेस कति एकताबद्ध छ भन्ने पनि हुन्छ । काँग्रेस यस्तो जात हो, मन परेन भने आफ्नै उम्मेदवारलाई अन्तरघात गरी हराइदिन्छ ।

कैलालीमा आरजुज्यूकै लागि समग्र काँग्रेस कति केन्द्रित हुने सम्भावना छ ? डडेलधुरामा त घोषित रुपमा दुई वटा पार्टी छ । कर्णबहादुर मल्लको नेतृत्वलाई काँग्रेसबाट बाइपास गरेर एउटा टीम मात्र अगाडि बढेको छ । कर्णबहादुर मल्ललाई व्यवस्थापन गर्न सकिएन भने शेरबहादुरजीको विरुद्धमा उहाँ जहाँ पनि उम्मेदवारी दिने मुडमा हुनुहुन्छ । त्यसलै काँग्रेसलाई पनि धेरै सजिलो छैन । एमालेको प्रचार मात्र हो, अरु केही छैन । एकल प्रतिस्पर्धा एमालेका लागि लज्जास्पद परिणाम लिएर आउँछ ।

सुदूरपश्चिममा स्थानीय कमिटीले एमालेसँग तालमेलको नीति लिँदा माओवादीले स्वीकार्छ कि स्वीकार्दैन ?

हामीले छोइछिटो कसैसँग गर्दैनौं । सबै राजनीतिक शक्ति हुन्, इतिहासमा सबैको योगदान छ । केपी ओली नेतृत्वको पछिल्लो सरकारका केही प्रतिगमनकारी कदमहरूको विरुद्धमा हामी उभिएका हौं । एमालेभित्र पनि ओलीको अगाडि बोल्न सक्ने एउटा पंक्ति छ । ओलीमा यो लेबलको दम्भ नभएको भए, उहाँले समन्वयकारी भूमिका खेल्न सकेको भए पार्टी फुट्ने थिएन भन्ने साथीहरु ओलीकै टिमभित्र थुप्रै छन् । त्यसैले एमालेसँग तालमेल हुनै नसक्ने भन्ने हुँदैन । तर हाम्रो प्राथमिकता सत्ता गठबन्धन हो । हामीले गठबन्धनमा जोड दिने हो । तर गठबन्धन इतरबाट जाने सम्भावनालाई हामीले इन्कार गरेका छैनौं ।

सुदूरपश्चिममा कुन खालको चुनावी समीकरण बन्ने सम्भावना छ ?

माओवादी, एकीकृत समाजवादी र जसपाबीच तालमेल हुने सम्भावना प्रबल छ । जहाँसम्म एमाले र काँग्रेसको कुरा छ । हामीले कार्यकर्तालाई आफ्नै खुट्टामा टेकेर प्रतिस्पर्धा गरेर जित्ने कुरा दिमागमा राखौं । तालमेल भन्ने कुरालाई डिलिट गरौं भनेका छौं । हामी त्यही तयारीका साथ लागेका छौं । तर अहिलेको गठबन्धनलाई केही समय अगाडि लैजान पाए हुन्थ्यो भनेर प्रणाली रक्षाको कुरा गरेका मात्र हो ।

स्थानीय निर्वाचनअघि एकीकृत समाजवादीसँग तालमेल मात्र हुन्छ कि पार्टी एकताको पनि सम्भावना पनि छ ?

एकीकृत समाजवादी र माओवादीभित्र त्यो बहस उठेको छ । तर निष्कर्षमा पुगिसकेको  छैन । त्यसैले यति छोटो समयमा एकता भइ एउटा पार्टी बनेर एउटा चुनाव चिन्ह लिएर निर्वाचनमा जाने सम्भावना कम छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप