आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

काँग्रेस बैठकको दोस्रो दिन : चुनावी तालमेलबारे यसरी हुँदैछ सहमति

आइतबार, १३ चैत २०७८, २१ : २१
आइतबार, १३ चैत २०७८

सत्तासीन नेपाली काँग्रेसले सैद्धान्तिक सहमतिका साथ आसन्न स्थानीय निर्वाचनमा गठबन्धन संकेत दिएको छ । शुक्रबारदेखि जारी केन्द्रीय कार्य समिति बैठकमा ६० जना केन्द्रीय सदस्य, ६ जना प्रदेश सभापतिले रिपोर्टिङ सुनाएका छन् ।

 ‘घर घर जाऔं काँग्रेस जिताऔँ’ अभियानमा खटेका बाहेक १६ जना केन्द्रीय सदस्यले धारणा राखेका छन् । भोलि साढे ११ बजे फेरि बैठक बस्ने छ । तर गठबन्धनका सन्दर्भमा काँग्रेस बैठक प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाको मुडअनुसार अगाडि बढेको छ ।

देउवा तीन तहको निर्वाचनमा काँग्रेसले गठबन्धन गरेर जान्छ भन्ने आसयको निर्णय गराउन चाहेका छन् । गठबन्धनबारे केन्द्रबाट कुनै एउटा विधि बनाउने देउवाको तयारी छ । उनी केन्द्रले तय गरेको विधिअनुसार जिल्लाले गठबन्धन गर्न गरी केन्द्रीय समितिबाट निर्णय गराउन चाहन्छन् ।

सभापति देउवाको चाहनालाई समर्थन गर्दै बैठकमा अधिकांश नेताको धारणा आएको छ । त्यसको एउटा उदाहरण चितवन जिल्लाको रिपोर्ट पेस गर्दा बैठकमा प्रकट भएको थियो । चितवनको सिंगो काँग्रेस गठबन्धनको विपक्षमा उभिएका बेला केन्द्रले खटाएका प्रतिनिधि अब्दुल सत्तारले गठबन्धन नगरी पार नलाग्ने धारणा राखे । सभापति देउवाको पक्षमा उभिएका शतप्रतिशत मान्छे उनको मुड बुझेर बोलिरहेको देखिन्छ ।

केन्द्रीय समिति बैठकअघि देउवाले सार्वजनिक रुपमा गठबन्धनको पक्षमा अभिव्यक्ति दिएकाले उनीहरुले पनि गठबन्धनकै पक्षमा देखिएका छन् । तर उनीहरुले माथि बाटै विधि बनाएर गठबन्धन गर्नुपर्छ भनेर नबोलेको अवस्था छ ।

काँग्रेस बैठकको परिदृश्य हेर्दा बोल्ने नेताहरु सभापतिको आधा चाहना पुरा हुने प्रस्तुत भएको पाइएको छ । ‘अधिकांश नेताहरुले सभापतिको आधा चाहना पुरा गरिदिएका छन् । आधा चाहना पुरा गरेका छैनन्,’ एक नेताले रातोपाटीलाई बताए ।

सबैजसोले गठबन्धन आवश्यक भएपनि स्थानीय आवश्यकता अनुसार चुनावी तालमेल गर्नुपर्ने मत राखेका छन् । देउवा पक्षका  प्रभावशाली नेता एनपी साउदले गठबन्धन गरेर जान उपयुक्त हुने धारणा राखेका थिए ।

‘स्थानीय निर्वाचनलाई परिणाममुखी बनाउनुपर्छ । स्थानीय आवश्यकताअनुसार गठबन्धन गरेर काँग्रेसका लागि फाइदाजनक छ,’ उनको भनाइ छ । यस्तै शेखर कोइराला पक्षका नेताहरु प्रकाश रसाइली, प्रतिमा गौतम, सञ्चय गौतमले गठबन्धन गर्न नहुने मत राखेका थिए । तर गठबन्धनबारे देउवा पक्षका नेताहरुको राय र शेखर कोइराला पक्षको अडानका बीच काँग्रेसले मध्यमार्गी बाटो समात्ने छ ।

तल्लो तहलाई निर्णय गर्ने अधिकार दिएर सैद्धान्तिक रुपमा काँग्रेस चुनावी गठबन्धनको पक्षमा उभिने केन्द्रीय समिति बैठकले संकेत दिएको छ । शेखर पक्षीय एक नेताले भने, ‘गठबन्धनका सन्दर्भमा काँग्रेसभित्र सैद्धान्तिक सहमति हुन्छ । सभापतिले गठबन्धनको पक्षमा निर्णय गराउन चाहे सहज बहुमत छ ।’ 

गठबन्धनको विपक्षमा मत राखे पनि देउवालाई निर्णय गराउनबाट रोक्ने सामर्थ्य शेखर कोइराला समूहसँग छैन । त्यसैले उनी पनि तल्लो निकायले गठबन्धन गरेर जाने पक्षमा सहमति हुने उनी निकट एक नेताको भनाइ छ ।
‘हामीले गठबन्धन गर्नु पर्दैन मात्र भनिरहेका छैनौं । गर्ने परे तल्लो तहलाई जिम्मेवारी दिउँ भनिरहेका छौं । बैठक पनि यही बिन्दुमा पुगेर निर्णय लिन्छ,’ ती नेताले भने । 

पार्टीमा सहमतिको सन्देश दिन सैद्धान्तिक रुपमा गठबन्धनको पक्षमा उभिने शेखर पक्षको रणनीति छ । ‘हामीले चाहेको कुरा पास गराउन नम्बर छैन । संख्या नभएपछि बीचको बाटो खोज्नुपर्छ,’ ती नेताले भने, ‘बैठकमा आफ्नो राय राखेपछि पार्टीमा समझदारी निर्माण गर्न गठबन्धनको पक्षमा उभियौँ भन्ने खालको मत राख्छौँ ।’

काँग्रेस प्रतिनिधिसभा क्षेत्र संसदीय समिति, जिल्ला संसदीय समिति, प्रदेश संसदीय समिति र केन्द्रीय संसदीय समितिको समन्वयमा टिकट वितरण गर्ने गरी काँग्रेस गठबन्धनको पक्षमा उभिनेछ । त्यस्तो अवस्थामा सबै जिल्लामा गठबन्धन नहुने खतरा भने बढी छ ।

सत्ता गठबन्धनबीच गुल्मी, अर्घाखाँची लगायतका जिल्लामा चुनावी तालमेलको निर्णय भइसकेको छ । तर रुकुम–रोल्पा लगायतका जिल्लामा गठबन्धन गर्न छलफल सुरु भएपछि सहमति जुट्न कठिन हुने देखिन्छ । आफ्नो हैसियतभन्दा बढी माग गरिदिए सत्ता गठबन्धन सम्बद्ध कुनै पनि दलले व्यवस्थापन गर्न कठिन हुनेछ । त्यस्तो अवस्थामा ०७४ का जस्तो गठबन्धन हुने सम्भावना बढी छ ।

गठबन्धनबारे एक्लियो शेखर समूह
काँग्रेसमा गठबन्धनबारे शेखर कोइराला समूह एक्लिएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला गठबन्धनको पक्षमा उभिएको छ । नेता पौडेलले गठबन्धनका पक्षमा केन्द्रीय समिति बैठकले नीतिगत निर्णय  लिने बताएका छन् ।

उनले भने, ‘कुन स्थानीय तह कसले लिने भन्ने त्यसपछि निर्णय गर्ने कुरा हो । चुनावी तालमेल गरेर गठबन्धन बचाएर लानुपर्ने आवश्यकता छ ।’  धेरै केन्द्रीय सदस्यको धारणा चुनावी तालमेलको पक्षमा आएको पौडेलको भनाइ छ । ‘कहाँ–कहाँ लिने, कहाँ कहाँ छाड्ने भन्ने त पछि सल्लाह हुन्छ,’ उनी भन्छन्, ‘यो बैठकले चुनावी गठबन्धनबारे सैद्धान्तिक निर्णय गर्छ ।’ यस्तै काँग्रेस नेत्री सुजता कोइराला पनि चुनावी गठबन्धनको पक्षमा उभिएकी छन् ।

केन्द्रीय समिति बैठकमा चुनावी गठबन्धनको पक्ष÷विपक्षमा पार्टीभित्र बहस भइरहेको र आफू गठबन्धनको पक्षधर रहेको उनको भनाइ छ । गठबन्धनका कारण काँग्रेसले प्रधानमन्त्री तथा केही प्रदेशमा मुख्यमन्त्री पाएको भन्दै यसलाई छाड्न नहुनेमा कोइरालाले जोड दिइन् । काँग्रेस बलियो भएको ठाउँमा एक्लै लड्ने र कमजोर भएको ठाउँमा गठबन्धन गर्नुपर्ने उनले धारणा राखिन् ।

‘गठबन्धन गरेर जाँदा काँग्रेसलाई फाइदा हुन्छ । जुन ठाउँमा बलियो छौँ, एक्लै लड्ने,’ उनी भन्छिन्, ‘जुन ठाउँमा कमजोर छौँ, गठबन्धन गरेर जानुपर्छ । गठबन्धन कसरी गर्ने भन्ने मोडल बनाउनुपर्छ ।’ नेता प्रकाशमान सिंहले पछिल्लो समयमा गठबन्धनको पक्षमा अभिव्यक्ति दिरहेका बेला सुजाताले गठबन्धनको पक्षमा मत राखेकी छन् ।

बैठकमा सिटौला निकट केन्द्रीय सदस्य प्रदीप पौडेल र प्रदेश १ का सभापति उद्धव थापाले गठबन्धनको पक्षमा मत राखेका थिए । सिटौलाले पनि गठबन्धन गरेर जानुपर्नेमा जोड दिँदै आएका छन् । काँग्रेस प्रवक्ता प्रकाशशरण महतले आवश्यकताको सिद्धान्तअनुसार चुनावी तालमेल हुने बताएका छन् । ‘गठबन्धनमा जाने नजाने भन्ने रणनीतिक विषय हो । के गर्दा पार्टीलाई फाइदा हुन्छ भन्ने बाहेक अरु मापदण्ड हुन सक्दैन । काँग्रेस आवश्यकताअनुसार गठबन्धन गरेर जाने पक्षमा छ,’ प्रवक्ता महतले भने ।

गठबन्धन गरेर जानेबारे पार्टीमा एकमत भएपनि मोडालिटीबारे भोलिको बैठकबाट तय हुने उनले रातोपाटीलाई जानकारी दिए । ‘भोलि सबै बोलिसकेपछि कुन मोडालिटीमा जान्छ भन्ने निर्णय केन्द्रीय समितिले गर्छ । अहिले नै गठबन्धनबारे अनुमान गर्न आवश्यक छैन,’ महतले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप